२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

कारोबारले गति लिएन 

काठमाडौँ — यो साता सेयर बजार उत्साहित देखिएन । लामो प्रतिक्षापछि सुरु भएको पूर्ण स्वचालित विद्युतीय कारोबारले पनि लगानीकर्ताको मनोबल बढाउन सकेन ।

कारोबारले गति लिएन 

नयाँ कारोबार प्रणालीमा विभिन्न समस्या देखिएकाले सेयर कारोबार सहज हुन नसकेको, ब्रोकर र लगानीकर्तालाई नयाँ प्रणालीमा अभ्यस्त हुन समय लागेको लगायत कारण सेयर बजारमा उत्साह नदेखिएको हो । यही कारण साताका अधिकांश दिन सेयर कारोबार मापक नेप्से घटयो । पाँच दिनको कारोबारमा नेप्से परिसूचक तीन दिन घटयो र बाँकी दुई दिन बढयो ।


साप्ताहिक कारोबारमा नेप्से परिसूचक साढे १७ अंकले घटयो । अघिल्लो बिहीबार (तिहारअघि) १ हजार २ सय २२.५३ विन्दुमा रहेको नेप्से गत बिहीबार १ हजार २ सय ५.०२ अंकमा ओर्लियो । साताको पहिलो दिन (आइतबार) का तुलनामा यो ०.७६ अंकले मात्र ऋणात्मक देखिन्छ ।


नयाँ कारोबार प्रणालीबारे अभ्यस्त हुन र त्यसप्रति विश्वस्त हुन समय लागेकाले लगानीकर्ता अहिले पर्ख र हेरको अवस्थामा छन् । यही कारण यो साता कारोबार रकम पनि उल्लेख्य रूपमा बढ्न नसकेको ब्रोकरहरू बताउँछन् । पाँच दिनको कारोबारमा साढे ८२ करोड रुपैयाँ बराबरको मात्र सेयर किनबेच भए । अघिल्ला साताहरूको तुलनामा कारोबार रकम कम हो । सामान्यतया साप्ताहिक कारोबारमा यसअघि औसत अर्बभन्दा धेरैको सेयर किनबेच हुँदै आएका थियो ।


यो साता करिब १३ हजार कारोबारबाट ३ लाख २६ हजार ७ सय कित्ता सेयर खरिदबिक्री भयो ।

सातामा कारोबारमा आएकामध्ये बैंकिङ, होटल र विकास बैंकबाहेक सबै समूहको परिसूचक घटे । जसमध्ये जलविद्युत् समूहको परिसूचक २३.०५, वित्त कम्पनीको ४.२९, ‘अन्य’ को ५.२, जीवन बिमा १७.३९, निर्जीवन बिमा ४.९५ र लघुवित्त समूहको परिसूचक ४.८४ अंकले ऋणात्मक रहे । उक्त अवधिमा बैंकिङ समूहको परिसूचक ३.७८, होटलको १५.३३ र विकास बैंकको ५.२९ अंकले बढे ।


यो साताको कुल कारोबारमा वाणिज्य बैंक सम्मिलित बैंकिङ समूहको हिस्सा करिब ६१.१५ प्रतिशत छ । गत साता यस्तो हिस्सा साढे ५५ प्रतिशत थियो । बैंकिङ समूहको हिस्सा बढेसँगै कुल कारोबारमा बिमा समूहको हिस्सा घटेको छ । यो साता बिमा समूहको कारोबार हिस्सा करिब ११ प्रतिशत छ ।


गत साता यस्तो हिस्सा १४.७५ प्रतिशत थियो । यसैगरी विकास बैंक समूहको हिस्सा साढे ९ प्रतिशत, जलविद्युतको साढे ५ प्रतिशत र लघुवित्तको ७.०४ प्रतिशत रहेको नेप्सेले जनाएको छ ।


यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँचै दिन खुला रहयो । विगतमा जस्तै यो साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरूको कुनै पनि कारोबार भएन ।

प्रकाशित : मंसिर २, २०७५ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?