कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

सामूहिक तरकारी नर्सरी

शंकर आचार्य

पर्सा — यहाँकी दुर्गादेवी सुनारले पहिलो पटक व्यावसायिक तरकारी खेती गरेकी छन् । उनले एक कट्ठामा काउली, गोलभेंडा, बन्दा, खुर्सानीलगायतका तरकारी बाली लगाएकी छन् ।

सामूहिक तरकारी नर्सरी

‘मलाई व्यावसायिक तरकारी खेतीको अनुभव यस अघि थिएन,’ उनले भनिन्, ‘३ महिनायता यही खेतीमा रमाएकी छु ।’


मनवाका अनिरुद्ध महतोले पनि यसअघि आफ्नो खेतमा धान, गहुँ र मकै बालीबाहेक अन्य बाली लगाएका थिएनन् ।


तराईमा विशेष गरी कुशवाहा जातिले मात्रै गर्ने मान्यता रहेको तरकारी खेतीमा उनले पनि यस वर्ष हात हालेका छन् । ‘म जातले थारू परें, थारूले सामान्यतया तरकारी खेती गर्न जानेका छैनन्,’ उनले भने, ‘गरेपछि हुँदो रहेछ, अहिले मैले लगाएको काउली टिप्ने बेला भएको छ ।’

सुनार र थारूजस्ता ५० जना स्थानीयबासीले यो वर्ष तरकारी खेती गरेका छन् । यहाँ क्रियाशील एउटा गैरसरकारी संस्थाको सहयोगमा स्थानीय किसानहरूले यसरी सामूहिक तरकारी खेती थालेका हुन् । नगरपालिकामा गढीमाई तरकारी उत्पादन समूह र छतिवनटाँडी कृषि उत्पादन समूह गरी २ वटा समूह सक्रिय छन् । दुवै समूहका सदस्यले नर्सरीमा बेर्ना उत्पादन गरेर तरकारी उत्पादन गर्छन् ।


समूहमा विगतमा तरकारी खेतीको अनुभव भएका मधेसी समुदायका कुशवाहादेखि थारू, पहाडी ब्राह्मण, क्षेत्री, आदिबासी जनजाति, दलित, मुस्लिमसमेत छन् । उनीहरू नर्सरीमा सामूहिक रूपमा श्रमदान गर्छन् ।

यसरी सामूहिक रूपमा कार्य गर्दा सामाजिक एकता र सद्भाव वृद्धिसँगै आफूहरूको समयको पनि बचत भएको छतिवनटाँडी कृषक समूहकी संयोजक मेनुका तिवारीले बताइन् ।


‘समूहमा काम गर्दा २ जनाले २ दिनमा गर्ने काम हामीले १० देखि १५ मिनेटमै गरिसक्छौं,’ उनले भनिन्, ‘समयको बचत पनि भयो, सबै जाति र समुदायले सहकार्य गर्दा आपसी भाइचारा र सामाजिक सद्भाव पनि वृद्धि भई रहेको छ, हामी यसमा रमाएका छौं ।’ आफूहरूले अग्र्यानिक तरकारी उत्पादन गर्दै आएको उनले बताइन् ।

प्रकाशित : मंसिर २, २०७५ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?