कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

१६ जलविद्युत्‌ कम्पनीका सेयर आउँदै

काठमाडौँ — निकट भविष्यमा डेढ दर्जन जलविद्युत् कम्पनीको प्राथमिक सेयर (आईपीओ) बजारमा आउने भएको छ । ती कम्पनीले सेयर निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा अनुमति दिइसकेका छन् ।

बोर्डबाट अनुमति पाएपछि ती सेयर बजारमा आउनेछन् । बोर्डबाट अनुमति पाएको दुई महिनाभित्र सेयर निष्कासन गरिसक्नुपर्छ कानुनी व्यवस्था छ ।


हाल विभिन्न क्षेत्रका २१ कम्पनीको प्राथमिक तथा थप निष्कासन (आईपीओ/एफपीओ) बजारमा आउँदै छ । तीमध्ये १६ वटा जलविद्युत् कम्पनी, ४ वटा लघुवित्त र एक अन्य क्षेत्रका कम्पनी छन् । हाल सेयर निष्कासन अनुमति प्रक्रियामा रहेका कम्पनीमध्ये अधिकांशले स्थानीयबासीका र बाँकीले सर्वसाधारणका लागि सेयर निष्कासन गर्न लागेका हुन् ।


बोर्डको तथ्यांकअनुसार विभिन्न क्षेत्रका २१ कम्पनीले कुल ३ अर्ब २७ करोड ३४ लाख ३८ हजार रुपैयाँ बराबरको ३ करोड २७ लाख ३४ हजार कित्ता सेयर निष्कासन गर्दै छन् ।


हाल सेयर बजारमा २१ वटा जलविद्युत् कम्पनी सूचीकृत छन् । यो वर्ष यस्तो संख्या बढेर ४० भन्दा बढी पुग्ने देखिन्छ । सेयर निष्कासन गरिसके पनि सूचीकृत नभएका, निष्कासन तयारीमा रहेका र निष्कासन अनुमतिका लागि आवेदन दिएका कम्पनी संख्या हेर्दा चालु वर्षभित्रै सेयर बजारमा सूचीकृत कम्पनी तीन दर्जन बढी पुग्ने देखिएको हो ।


नेपालमा निर्माणको चरणमा धेरै जलविद्युत् कम्पनी रहेकाले पनि पछिल्ला दिनमा सेयर जारी गर्नेमध्ये धेरै जलविद्युत् कम्पनी देखिएका छन् । हाल सेयर बजारको कुल कारोबारमा जलविद्युत् समूहको हिस्सा औसत ३ देखि ४ प्रतिशत मात्र छ ।


सूचीकृत कम्पनी संख्या बढेपछि एकातिर कुल कारोबारमा जलविद्युत् समूहको हिस्सा थपिनेछ भने अर्कातिर लगानीकर्ताले लगानी विविधीकरण (पोर्टफोलियो म्यानेजमेन्ट) सुविधा पाउनेछन् ।


जलविद्युत् कम्पनीले कम्तीमा १० प्रतिशत सेयर आयोजना प्रभावित स्थानीयबासीलाई दिनुपर्ने कानुनी व्यवस्था छ । स्थानीयबासीलाई सेयर बाँडफाँटपछि सर्वसाधारणका लागि सेयर निष्कासन गर्नुपर्छ । नयाँ व्यवस्थाअनुसार जलविद्युत्लगायत उत्पादनमूलक क्षेत्रका कम्पनीले आयोजना प्रभावितलाई बाहेक थप कम्तीमा १० प्रतिशत सेयर सर्वसाधारणलाई निष्कासन गर्नुपर्छ ।


विगत लामो समयदेखि सेयर बजारमा वित्तीय क्षेत्रको प्रभुत्व रहँदै आएको छ । कुल सूचीकृत कम्पनीमध्ये ८० देखि ८५ प्रतिशत हिस्सा बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरूको छ । यसकारण राष्ट्र बैंक र बिमा समितिका ससाना निर्देशनले पनि सेयर बजार नराम्ररी प्रभावित हुँदै आएको छ ।


पछिल्ला वर्षमा सेयर बजारमा अपेक्षित रूपमा उत्पादनमूलक (वास्तविक) क्षेत्रका कम्पनी भित्र्याउन नसकेको आरोप सरकार र नियामक निकायलाई लाग्दै आएको छ । जलविद्युत् कम्पनीको संख्या बढेसँगै सेयर बजारमा वित्तीय क्षेत्रका कम्पनीको प्रभुत्व घट्ने जानकारहरू बताउँछन् ।


निष्कासनको तयारीमा रहेकामध्ये सीईडीबी हाइड्रो फन्ड, शुभम् पावर लिमिटेड, माउन्टेन हाइड्रो नेपाल, युनियन हाइड्रो पावर र मौलुङ खोला जलविद्युत् कम्पनीले सर्वसाधारणका लागि सेयर जारी गर्न लागेका छन् ।


यसैगरी रुरु जलविद्युत् परियोजना, सयपत्री हाइड्रो पावर, शिवश्री हाइड्रो पावर, ग्रिन लाइफ हाइड्रो पावर, गर्जङ उपत्यका हाइड्रो पावर, लफिङ बुद्ध पावर नेपाल र युनिक हाइडेल कम्पनीले आयोजना प्रभावित स्थानीय निकायका लागि सेयर निष्कासन गर्दै छन् ।


पाँचथर पावर कम्पनी, घलेम्दी हाइड्रो, भैरवकुण्ड हाइड्रो पावर र युनिभर्सल पावर कम्पनीले सर्वसाधारण र स्थानीयवासी दुवैलाई सेयर जारी गर्न लागेका छन् ।

प्रकाशित : मंसिर २, २०७५ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?