२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

टेलिकमको नियमित आय घट्यो 

विजय तिमल्सिना

काठमाडौँ — नेपाल टेलिकमको दूरसञ्चार सेवाबाट प्राप्त हुने आम्दानी घटेको छ । कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्षको पहिलो तीन महिनाको आर्थिक विवरणमा १ अर्ब रुपैयाँभन्दा बढीले नियमित आम्दानी घटेको देखाइएको छ ।

टेलिकमको नियमित आय घट्यो 

टेलिकमले आर्थिक वर्ष २०७५/७६ को पहिलो तीन महिनामा सेवातर्फ ९ अर्ब ४९ करोड ६ लाख ९२ हजार आम्दानी गरेको छ । यो आम्दानी सेवा बिक्री गरेर नेपाल टेलिकमको पछिल्ला तीन वर्षयताकै कम हो ।


सेवातर्फ आम्दानी कम गरेको टेलिकमले पहिलो त्रैमासिकमा नाफा भने वृद्धि भएको छ । यो अवधिमा कम्पनीको कुल नाफा साढे ४ अर्ब पुगेको छ । कम्पनीले ४ अर्ब ४५ करोड कुल नाफा कमाएको सार्वजनिक गरिएको वित्तीय विवरणमा जनाइएको छ । यो अघिल्लो वर्ष यही अवधिको कुल नाफाभन्दा बढी हो ।


टेलिकमले अघिल्लो वर्ष यो अवधिमा ४ अर्ब ५ करोड मात्रै कुल नाफा कमाएको थियो । टेलिकमको चलअचल सम्पत्ति, बैंकमा दाखिला गरिएको रकमको ब्याजलगायतबाट प्राप्त आम्दानीका कारण नाफा वृद्धि भएको हो ।


नेपाल टेलिकमले आधाभूत टेलिफोन, सीडीएमए, जीएसएम मोबाइल, डाटाजस्ता सेवाबाट आम्दानी गर्दै आएको छ । आफूले प्रदान गर्ने मुख्य सेवाबाट हुने आम्दानी घट्नुले बजारमा उसको प्रतिस्पर्धा कमजोर भएको संकेत गर्ने विश्लेषकहरू बताउँछन् ।


ग्राहकमा प्रतिस्पर्धी कम्पनी एनसेलभन्दा अगाडि रहे पनि आम्दानीमा भने सरकारी स्वामित्वको नेपाल टेलिकम पछि रहँदै आएको छ । आर्थिक वर्ष २०७३/७४ मा जीएसएम मोबाइल सेवाबाट एनसेलले २९ अर्ब २३ करोड रुपैयाँ आम्दानी गर्दा नेपाल टेलिकमले करिब २४ करोड हाराहारीमा आम्दानी गरेको थियो ।


सोही वर्ष वैदेशिक कलबाट टेलिकमले ९ अर्ब आम्दानी गर्दा एनसेलले १७ अर्ब आम्दानी गरेको थियो । प्रतिस्पर्धी कम्पनीको भन्दा स्वीकृत टयारिफ (सेवा शुल्क) कम भएकाले पनि टेलिकमको आम्दानी कम हुने विश्लेषकहरू बताउँछन् ।


नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांक केलाउने हो भने पछिल्लो समय नेपालमा दूरसञ्चार सेवा प्रदायकका ग्राहक बढे पनि आम्दानीमा भने वृद्धि भएको छैन । प्राधिकरणको तथ्यांकअनुसार आर्थिक वर्ष २०७२/७३ मा नेपाली टेलिकम बजारको कुल आकार करिब ९९ अर्ब ५९ करोड थियो ।


आर्थिक वर्ष २०७३/७४ मा भने बजारको आकार घटेर ९८ अर्ब २३ मा खुम्चिएको थियो । प्राधिकरणको यो तथ्यांकमा नेपालमा सञ्चालित ६ वटा दूरसञ्चार सेवा प्रदायक समेटिएको भए पनि यसको अधिकांश हिस्सा नेपाल टेलिकम र एनसेलले ओगटेका छन् ।


फोरजी विस्तारमा भएको ढिलाइका कारण पनि टेलिकमको सेवातर्फको आम्दानी घट्नुको मुख्य कारण रहेको टेलिकमका एक अधिकारी बताउँछन् । ‘नेपाली टेलिकम बजारको शैली हेर्दा सेवातर्फको आम्दानी घटिरहेको छ,’ उनी भन्छन्, ‘यो बीचमा नयाँ प्रविधिमा जान नसकेका कारण पनि हाम्रो कमाइ घटेको हो ।’


नेपाल टेलिकमले फोरजी विस्तारका लागि आह्वान गरेको टेन्डर अहिले मूल्यांकन चरणमा अड्किएको हो । टेलिकमले देशैभर फोरजी एलटीई नेटवर्क विस्तारका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो । फोरजी एलटीई विस्तारमा केही कम्पनीले चासो दिए पनि उक्त प्रक्रिया कम्पनी छनोटको मूल्यांकन प्रक्रियामै गएर अड्किएको छ ।


नेपाल टेलिकमको फोरजी एलटीई विस्तारमा अनियमितता भएको उजुरी परेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कागजपत्र माग गरी अनुसन्धान गरेको थियो । फाइल अध्ययन थालेको करिब १० महिनामा आयोगले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र लेख्दै फोरजी विस्तारको प्रक्रिया अघि बढाउन स्वीकृति दिएको छ ।


नेपाल टेलिकमका कार्यवाहक प्रबन्ध निर्देशक सूर्यभक्त पोखरेल नयाँ प्रविधिमा नजाँदा टेलिकमको आम्दानी घट्दै गएकाले तत्काल फोरजीको प्रक्रिया सुरु गर्ने बताउँछन् । सञ्चार मन्त्रालयले नेपाल टेलिकमसँग फोरजी विस्तारको कार्ययोजना बुझाउन यसैसाता निर्देशन दिएको थियो ।

प्रकाशित : मंसिर ३, २०७५ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?