२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

सडकले घेरिँदै हेलम्बु 

अनिश तिवारी

शेर्माथाङ — सिन्धुपाल्चोकको हेलम्बु बिस्तारै सडक सञ्जालले घेरिँदै छ । भौतिक पूर्वाधारको पुनर्निर्माणमा कस्सिएको हेलम्बु क्षेत्रमा अहिले ३६ वटा सडक जोडिएपछि सुगम क्षेत्रको रूपमा परिणत हुँदै गएको छ ।

सडकले घेरिँदै हेलम्बु 

राजधानीबाट नजिक पर्यटकीय क्षेत्रमा आन्तरिक तथा बाहय पर्यटकको आउजाउमा सहजता भएको छ । खासगरी स्थानीय तहको निर्वाचनपछि सडक सञ्जाल बनाउने क्रम बढेको छ ।


मेलम्ची बजार कटेलगत्तै किउल, तिम्बुबाट हेलम्बुको पुराना पर्यटकीय गन्तव्य पुग्ने मुख्य आधा दर्जन सडक सहज संञ्चालनमा छन् । गुम्बैगुम्बाको सहरको रूपमा चिनिने शेर्माथाङ, तार्केघ्याङ, पुरानो गुफा रहेको मेलम्चीघ्याङलगायतका मुख्य र सहायक पर्यटकीय गन्तव्यस्थल जोड्ने ग्राभेल सडकको कारणले सहजै सवारी साधन पुग्ने गरेका छन् ।


हेलम्बु गाउँपालिकाका प्रमुख निमाग्याल्जेन शेर्पाका अनुसार कच्ची सडकमा धमाधम ग्राभेल हुँदै छ, फराकिलो र व्यवस्थित नालीसहितको सडक बनिरहेको छ । बाह्रै महिना चल्ने सडक बनाउने अभियानमा लागेको उनले जनाए । गापाले पूर्वाधार विकासमा जोड दिएको उनले दाबी गरे ।


स्थानीय तिम्बुबाट शेर्माथाङ पुग्ने १० किलोमिटर, तिम्बु–तार्केघ्याङ १२ किमि, चनौटे–इचोक–तार्तुङ घोप्टेघ्याङ हुँदै कुटुन्साङ पुगिने १५ किमि सडक तयार भइसकेको छ । ६ वडास्थित जिल्लामा प्रसिद्ध शक्तिपीठको गणनामा आउने पाल्चोकी माईसम्म पुग्ने १२ किलोमिटर पाल्चोक–बेंसी–देवीथान सडक चल्तीमा छ ।


‘होटल, रिसोर्ट पायक हुने शाखा सडक आवश्यक भइहाले, थप पर्यटकीय पदमार्गको कार्यलाई अगाडि लगिँदै छ,’ उनले भने । शेर्माथानसम्म जोड्ने २४ किलोमिटरको तिम्बु–सिङ्छे–शेर्माथान, १३ किमिको किउल–बगरे–शेर्माथान पुग्ने सडक फराकिलो बन्दै चलिरहेको छ । त्यसैगरी रातोपुल–बिर्खडा–निगाले, गणेश बगर–दुन्डिनी–बिर्खडा, रातो पुल–देवीथान–पाल्चोक–ककनी–नगीडाँडा पुग्ने सडक व्यवस्थित बनिसकेका छन् ।


पर्यटकीय पदमार्गअन्तर्गतको मुख्य बनिसकेको छ । ‘यहाँबाट पाकेडाँडा पुगेलगत्तै रसुवा र सिन्धुपाल्चोकको बीचैमा पर्ने ‘सिमिसिदाङ’ हिमालको आनन्द लिँदै गोसाइँकुण्ड पुगिन्छ,’ प्रमुख शेर्पाले भने ।


उनले यसबाहेक सुन्दरीजल, थकनी–महाकाल–हेलम्बु जोड्ने सडक रहेको जनाए । नुवाकोट र सिन्धुपाल्चोकको सीमाना हुँदै आउने यो सडक प्राकृतिक स्रोतले भरिएको उनको कथन छ । भौतिक पूर्वाधारमा मात्रै १० करोड बजेट रहेको जसअन्र्तगत मुख्य आधा दर्जन र शाखा सडकको मार्गमा खर्च भएको छ । एउटा मुख्य सडकमा झन्डै ५० र शाखामा १० लाखसम्म खर्चिएको उनले प्रस्टयाए ।


सडकलाई स्थायी रूपमा मर्मतसम्भार गर्नका लागि अनुगमन प्रक्रियालाई दह्रो बनाएर लगिएपछि कार्य राम्रो भएको स्थानीय सुनाउँछन् । ‘बर्खामा क्षतिग्रस्त भई ठप्प रहेका सडक हाल व्यवस्थित रूपमा चलिसकेका छन्,’ हेलम्बु गाउँपालिका शेर्माथाना अगुवा युवा टसी दोङबा लामा हयोल्मोले भने ।


भूकम्पअघि ध्वस्त भएर झरेका संरचनाले अवरुद्ध बनेका सडक मर्मत भएपछि चलिसकेको उनले बताए । ‘यहाँबाट तल झरे तेम्बाथानको सडक गएमा हयोल्मो संस्कृतिको एकीकृत बस्ती नियाल्न सकिनेछ,’ उनले भने ।


पर्यटकीय पदमार्ग बनाइँदै

हेलम्बु गोसाइकुण्ड हुँदै ‘सिमिसिङ’ हिमाल, गन्जलापास–लाङटाङ क्षेत्र पुग्ने दुईदिने दुई वटा पदमार्ग बन्दै छन् ।


त्यसैगरी सुन्दरीजल –कुन्टुङसाङ, घोप्टेघ्याङ–मेलम्चीघ्याङ, तिम्बु–मेलम्चीघ्याङ, पाल्चोक–ककनी, तिगाले–ककनी, शेर्मुथान–पाल्चोक भगवती, निन्देश्वरी महाकाल–आमायांग्री जस्ता दर्जन पदमार्गको काम भइरहेको छ ।


सबै पर्यटकीय पदमार्गमा खुड्किला बनाइएको छ । गाउँपालिकाले यी तीनै वटा बाटामा पदमार्गलाई भूकम्पपछि मर्मत लगभग अन्तिम चरणमा पुर्‍याएको छ ।

प्रकाशित : मंसिर ३, २०७५ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?