कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

किसानलाई धान काट्ने चटारो

सर्लाही — चाडपर्व सकिएलगत्तै किसान धान काट्ने चटारोमा छन् । पर्साका किसानहरू धान काट्न खेतमै व्यस्त छन् । उनीहरूलाई घर फर्किन मात्र होइन खाने र सुत्ने फुर्सदसमेत छैन ।

किसानलाई धान काट्ने चटारो

किसानहरू ३ दिनदेखि खेतमै व्यस्त छन् । यहाँका किसानलाई अहिले धान काट्ने, दाइँ गर्ने, गहुँ तथा दलहन बाली लगाउनेलगायतको काममा भ्याइनभ्याई छ ।


धान काटेर बाली भित्र्याउने र गहुँ तथा दलहन बाली लगाउने सिजन भएकाले गाउँका सबै किसान खेतबारीमा व्यस्त रहेको लघुवाका किसान सुरेश रायले बताए । ‘धान काट्ने, दाइँ गर्ने ,गहुँ लगाउनेलगायतको कामले कसैसँग भेट्ने फुर्सद छैन,’ उनले भने, ‘यो आफ्नो काममा व्यस्त हुने समय हो ।’


बर्सेनि कात्तिकदेखि मंसिरसम्मको अवधिमा यहाँका किसान कृषिकर्ममै व्यस्त रहने गर्छन् । यस अवधिमा धान, मासलगायत अन्नबाली भित्र्याउने र गहुँ तथा दलहनबाली लगाउन किसान व्यस्त हुने गरेको किसान सोगारथ सहनीले बताए । उनले धान काटेर गहुँ तथा दलहनबाली लगाउन हतार भएको बताए ।


‘बाली घरमा भित्र्याउन साता लाग्छ,’ उनले भने, ‘गहुँ लगाउनलाई खेत जोतेर तयार गर्नुपर्छ, हामीलाई भ्याइनभ्याई छ ।’ किसानलाई धान काट्ने चटारो परिरहँदा कतिपय ठाउँमा धान काट्ने श्रमिक नपाएको किसानको गुनासो छ ।


श्रमिक नपाउँदा ठेक्कामा धान काट्न लगाउनुपरेको पिपरियाका किसान रामध्यान रायले बताए । ‘धान काट्ने बेला श्रमिक पाउन गाह्रो छ, ठेक्कामा धान काट्न लाउँदै छु,’ रायले भने, ‘ठेक्कामा धान काट्न लगाउँदा किसानको बढी खर्च हुन्छ ।’ ठेक्कामा धान काट्न लगाउँदा प्रतिबिघा १० देखि ११ हजार ठेकेदारलाई दिनुपरेको रायले बताए ।


मानो रोपेर मुरी फल्ने बेलामा कृषि मजदुर नपाएर सास्ती खेप्नुपरेको जगतपुरका किसान देवराज प्रसाइँले बताए । ‘धान काट्ने कृषि मजदुर नपाएपछि परिवारकै सदस्य मिलेर धान काटिरहेका छौं,’ उनले भने, ‘धान काट्ने चटारो सबैतिर एकै पटक परेकाले मजदुर पाउन हम्मे परेको हो ।’


ज्याला बढ्नुका साथै श्रमिक पाइन छोडेपछि धान काट्न परिवारकै सदस्य मिलेर लागेको उनले बताए । गाउँका अधिकांश युवा वैदेशिक रोजगारी र बाँकी सहरी क्षेत्रलाई कर्मथलो बनाएका कारण गाउँमा कृषि मजदुर पाउन समस्या छ ।

प्रकाशित : मंसिर ३, २०७५ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?