कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

निजी लगानीमा आधुनिक पुल निर्माण 

निर्माणमा व्यक्तिगत १ करोड ५ लाख ५ हजार ५५ लगानी 
नारायण शर्मा

नवलपरासी — यहाँका एक व्यक्तिले एक करोड बढी निजी लगानीमा गाँउमा अाधुनिक सुविधाकाे पुल निर्माण गरेका छन् । चोरमाराका जग्गा व्यापारी लक्ष्मी ज्ञावालीले व्यक्तिगत लगानीमा चोरमाराको उल्टी खोलामा तीन तले आर्कषक पुल बनाएका हुन ।  

निजी लगानीमा आधुनिक पुल निर्माण 

चोरमारा पूर्वको मध्यबिन्दु नगरपालिका–दुई सेहरी र ६ भडरा जोड्ने उल्टी खोलामा आधुनिक डिजाइनको तीन तले पुल निर्माण गरिएको हो ।

'अमृत एल्लो ब्रिज' नाम दिइएको यो पुल निर्माणमा ज्ञवालीले १ करोड ५ लाख ५ हजार ५५ रुपैया खर्च भएको बताएका छन् । पुलको ८२ प्रतिशत निर्माण सकिएको छ ।

तीन तले पुलको पहिलो तलामा ठूला सवारी, दोस्रोमा साइकल, मोटरसाइकल, रिक्सा र पैदलयात्री हिड्न मिल्ने गरि निर्माण गरिएको छ । तेस्रो तलामा आपतकालीन अवस्थामा बस्न मिल्ने र अवलोकन गर्न मिल्ने गरेर बनाइएको छ । ज्ञवालीले मध्यबिन्दु नगरपालिकाका अन्य स्थानमा पनि निजी खर्चमा बाटो निमार्ण गरेका छन् ।

पुलको दुवै छेउबाट अपाङ्गता भएकालाई वारपार गर्न मिल्ने संरचना बनाइएको छ । पुलको माथिल्लो तलामा टिनको छानो समेत लगाइएको छ । ज्ञवालीका अनुसार माथिल्लो तलामा शौचालय, स्नानगृह निर्माण गरिने र खानेपानीको पनि व्यवस्था हुनेछ । आपतकालीन अवस्थामा पुलको माथिल्लो तलमा बस्न मिल्ने छ भने बटुवा, पैदल यात्रु र गोठालाहरुका लागि थकाई मेट्न, पानी पिउन र शौचालय प्रयोग गर्न सकिने व्यवस्था गरिने छ ।

९० फिट लम्बाई र २८ फिट उचाईको पुल निर्माण १५ दिनभित्र सम्पन्न हुने निर्माणकर्ता ज्ञवालीले बताए ।


यो क्षेत्रमा बर्खामा वर्षेनी खोलाले बगाएर जनधनको क्षति हुँदै आएकोले त्यसलाई रोक्ने उदेश्यले आफूले पुल निर्माण गरेको ज्ञवालीले बताए । पुलको डिजाइन समेत आफैले गरेको ज्ञवालीको दाबी छ ।

‘समाजमा केहि नयाँ काम गर्नुपर्छ भन्ने मान्यता भएकाले नयाँ डिजाइनको पुल निर्माण गरेको हुँ,’ उनले भने, ‘इन्जिनियर नभए पनि मेरो रुचिको विषय भएकाले डिजाइन पनि आफैंले गरेको हुँ ।’

मुलुकमै नयाँ मोडेलको यो पुल हेर्न भीड लाग्न थालेको छ । महेन्द्र राजमार्गमा आउजाउ गर्ने र टाढाका गाउँबाट समेत पुल हेर्न आउने गरेका छन् ।

२ वर्ष अघिसम्म सामान्य आर्थिक अवस्थाका ज्ञवालीले करोड बढीको निजी लगानीमा पुल बनाएपछि उनको चर्चा एकाएक बढेको स्थानीय बताउँछन् ।

प्रकाशित : मंसिर ३, २०७५ १२:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?