कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रसुवा भन्सारमा तीन अर्ब ७४ करोड राजस्व

रसुवा — रसुवा भन्सार कार्यालय टिमुरेले यो वर्षको पहिलो चौमासिकमा ३ अर्ब ७४ करोड ९३ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

भन्सारका सूचना अधिकारी भुपेन्द्र कार्कीले वार्षिक लक्ष्यको ५३ दशमलव ५१ प्रतिशत राजस्व असुली भन्सारले गरिसकेको जनाए ।


विशेष गरी भाद्र र असोजमा चाडबाडका लागि चिनियां तयारी पोसाक आयात भएकाले असोजामा सबैभन्दा धेरै राजस्व संकलन भएको हो ।


वर्षातको समयमा करिब एक महिना सडक अवरुद्ध हुंदा भन्सार असुलीमा कमी आएको थियो । अहिले नाकामा कुनै अवरोध छैन् सहज तरिकाले सामान आयात भइरहेको छ । नाकाबाट जाडो मौसमका लागि कपडाको आयात भइरहेको छ ।


रसुवागढी नाकाबाट बर्सेनि सामान आयात हुने क्रम बढ्दै गएको छ । नाकाबाट सबै भन्दा धेरै रेडिमेट आइटमका सामान आयात भइरहेको छ ।


रसुवागढी नाकाबाट तयारी पोसाकमा सर्ट, पाइन्ट, टिसर्ट, ब्रा, पेन्टी लेगेज, आउटर, ज्याकेट, कोट जुत्ता चप्पल आयात भइरहेको छ । नेपालतर्फको सडक जीर्ण भएका कारण फुट्ने सामान आयात हुन सकेको छैन । रसुवागढी नाका चीनबाट नेपालमा व्यापार हुने सबैभन्दा पुरानो नाका हो ।


भूकम्पका कारण तातोपानी नाका बन्द भएपछि चीनबाट हुने धेरैजसो आयात ०७२ मंसिरदेखि यही नाकाबाट हुंँदै आएको छ । नाकालाई ०७४ भदौ १४ गते चीनले अन्तर्राष्ट्रिय नाका घोषणा गरेपछि

सीमामा व्यापारी, व्यवसायी र सवारीको चाप बढ्दै गएको छ ।


रसुवागढी नाकाबाट दैनिक २ सय ५० भन्दा बढी कन्टेनर आवतजावत गर्ने गरेका छन् । रसुवागढी नाकाबाट तयारी कपडा, स्याउ, लेडिज सेन्डल, रबर, प्लास्टिकका जुत्ता चप्पल, हाते झोला, छालाको जुत्ता, मोटरको ब्याट्री, यूपीएस, प्लास्टिकका सामानलगायतका मुख्य वस्तुहरू पैठारी भइरहेको छ ।


नेपालबाट चीनतर्फ धातुको मूर्ति, मेहन्दी, दन्तमन्जन, शृंगारका सामान, चाउचाउ, पास्ता, जुस जाम, चकलेट, ऊनी गलैंचा कार्पेट, चुइगम, हेयर आयल, हेयर क्रिमलगायतका मुख्य वस्तुहरू निकासी भइरहेको छ ।

प्रकाशित : मंसिर ४, २०७५ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?