कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

सिकलेसमा पर्यटकको चहलपहल

लालप्रसाद शर्मा

कास्की — सरकारले हालै घोषणा गरेको नयाँ पर्यटकीय गन्तव्य सिकलेस गाउँमा आन्तरिक र बाह्य पर्यटकको चहलपहल बढेको छ । पहिले पनि आन्तरिक पर्यटकको रोजाइमा रहेको यो गाउँमा सरकारी घोषणाले झनै उत्साह थपिएको स्थानीयवासी बताउँछन् । 

सिकलेसमा पर्यटकको चहलपहल

काखे बालकसहित पोखरा सभागृह चोकका व्यवसायी होमराज भट्टराई र श्रीमती हालै सिकलेस घुमेर फर्किए । उनीहरूको साथमा अन्य ११ आफन्त पनि थिए । ‘सिकलेसको गाउँ, नजिकै देखिने हिमालको तस्बिरले हामीलाई लोभ्यायो,’ भट्टराईले भने, ‘त्यही भएर आएको । हिमाल हेर्दै ट्रेकिङ गर्दा आनन्द अनुभूति भयो ।’ उनले मिलेको गाउँ, आतिथ्य र सुन्दरताले थप मोहित भएको प्रतिक्रिया दिए ।


पोखराकै युवा लक्ष्मण गुरुङको एउटा समूह पनि सिकलेस आइपुग्यो । आँखाअघि नै छ्याङ्ग हिमाल देखिएपछि उनमा खुसीको सीमै थिएन । ‘देशभित्रै घुम्नुपर्ने ठाउँ थुप्रै छन् । तर, सिकलेसको विशेषता बेग्लै रहेछ,’ उनले भने, ‘समयमै आएर राम्रो गरिएछ ।’ उनको समूहमा ९ जना युवा थिए ।


पर्यटकको चहलपहल बढेपछि गाउँमा होटल खुल्ने र होमस्टे (घरबास) सञ्चालनको लहरै चलेको छ । अहिलेसम्म १२ होटल र १५ होमस्टे सञ्चालनमा आइसकेका छन् । तर, यतिले मात्र थेग्ने अवस्था नदेखिएपछि तत्काल १० घरमा होमस्टे सञ्चालनको तयारी भएको स्थानीय गेहेन्द्र गुरुङले बताए ।


अन्नपूर्ण हिमशृंखला र लमजुङ हिमालको काखमा रहेको यो ठूलो गुरुङ गाउँ पर्यटनको हिसाबले उत्कृष्ट छ । ‘गुरुङ संस्कृति, विभिन्न नाच, शान्त र रमणीय गाउँ अनि हिमपहिराको समेत दृश्य देखिने भएकाले आन्तरिक पर्यटकहरू आउने क्रम बढेको छ,’ स्थानीय नमस्ते गेस्ट हाउसका सञ्चालक धन गुरुङले भने, ‘विदेशी पनि आउन थालेका छन् । अब गाउँलाई नमुना बनाउने अभियानमा छाैं।’


उनका अनुसार कास्की, काठमाडौं, चितवन, बुटवललगायतका स्थानबाट आन्तरिक पर्यटक आइरहेका छन् । घुम्नेमा युवापुस्ता बढी भए पनि समय परिवारसहित आउने क्रम पनि बढेको छ । पर्यटकको चहलपहलले गर्दा गाउँबाट बसाइसराइसमेत रोकिएको उनले बताए ।


‘घरजग्गा बेचेर पोखरा बसाइ सरेकाहरू यहाँ आउन खोजेका छन्,’ उनले भने, ‘तर जग्गा नपाएर फर्किन पाएका छैनन् । यो सबै पर्यटकको चहलपहलले भएको हो ।’ दुई दिनको ट्रेकिङ र भेंडीगोठको अवलोकन गर्ने अवसर यहाँ मिल्छ ।


स्थानीयवासीका अनुसार दैनिक ५ सय जति पर्यटकलाई एक रात राख्न सकिन्छ । अहिले चार सयसम्म दैनिक पर्यटक पुग्ने गरेका छन् । कतिपय विद्यालयले शैक्षिक भ्रमणसमेत यही गराउँछन् । जैविक, सांस्कृतिकलगायत हिसाबले उत्कृष्ट गाउँवासीको स्वागत, सत्कारले पनि पर्यटकलाई आउन प्रेरित गरिरहेको हुन्छ ।


‘प्राकृतिक सुन्दरता, मनमोहक हिमाल, मिलेर बसेको समाजले फेरि आउन प्रेरित गर्‍यो,’ भट्टराईले भने । घाँटु, काँचो कटहर (आमा समूहको नाच), संग्रहालय, नजिकै देखिने हिमाल, हिमपहिरो पनि देख्न सकिने शान्त र रमणीय गाउँ भएकाले पर्यटकहरू आउने स्थानीय युवा देवीजंग गुरुङले बताए ।


विशेषगरी सडक सञ्जालले जोडिएपछि आन्तरिक पर्यटकको रोजाइमा सिकलेस परेकाले संख्या ह्वात्तै बढेको हो । मादी गाउँपालिका–१ का वडाध्यक्ष सुरज गुरुङका अनुसार सरकारको नयाँ गन्तव्य घोषणा स्वागतयोग्य रहेको बताए ।


‘यसै त आन्तरिक पर्यटकको आगमन बढिरहेको थियो । त्यहीमाथि सरकारले नै गन्तव्य घोषणा गरेपछि अव झनै बढ्ने विश्वास छ,’ उनले भने, ‘यसलाई मध्यनजर राख्दै पर्यटकलाई थप सेवासुविधाका लागि योजना बनाउनेछौं ।’ गाउँबाट ७ घन्टाजति पैदल हिँडेमा सबैभन्दा कम उचाइमा रहेको कपुचे हिमताल हेर्न पाइन्छ ।


यसैगरी गुरुङहरूको पैत्रिक थलो क्होलासोथार पनि यहीबाट जान सकिन्छ । पोखराको काहुँखोलाबाट ४५ किलोमिटर उत्तरमा सिकलेस छ । बिहान ८ बजेदेखि नियमित रूपमा सवारी साधन उपलब्ध हुन्छन् ।

प्रकाशित : मंसिर ४, २०७५ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?