१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

किन फैलिन्न व्यवसाय ?

विजय तिमल्सिना

काठमाडौं — नेपालमा पाइने सामान होस् वा सेवा । विदेशी कम्पनीबाट उत्पादित वा सिको गरिएका हुन्छन् । हाम्रो दैनिक जीवनमा प्रयोग हुने थोरै मात्र त्यस्ता सामान छन् जुन नेपालमै बनेको हो । हामीले प्रयोग गर्ने मोबाइल होस् वा मोजा । सबै विदेशबाट आयात हुन्छन् । नेपालमा उत्पादन गर्ने र सेवा दिने व्यवसाय त धेरै छन् तर सीमित छन् ।

नेपालमा किन त्यस्ता व्यवसाय सुरु भएन जसले ठूलो जनसंख्यालाई लाभ पुर्‍याउन सकोस् । नेपालमै त्यस्ता आविष्कार किन भएन जसले विश्वभरको ध्यान खिच्न सकोस् ? यस्तो समस्या नेपालको मात्रै नभई नेपालजस्तै अति कम विकसित सबै मुलुकमा रहेको संयुक्त राष्ट्रसंघले प्रकाशित गरेको नयाँ प्रतिवेदनले औंल्याएको छ ।

नेपालजस्तै अति कम विकसित मुलुकको सूचीमा रहेका ४७ वटा देशकै यो साझा समस्या हो । यस्ता देशमा व्यवसाय सानो अवस्थामै खुम्चिन्छन् । झन् नयाँ सुरु भएको व्यवसाय त बजारमा टिक्न सक्ने सम्भावना आधा मात्रै हुन्छ ।

व्यापार र विकासका लागि संयुक्त राष्ट्रसंघीय सम्मेलन (यूएनसीटीएडी) ले प्रकाशित गरेको अति कम मुलुकसम्बन्धी नयाँ प्रतिवेदनअनुसार अति कम विकसित मुलुकका आधा प्रौढ जनसंख्या कुनै न कुनै खालको उद्यमशीलतामा लागेको छ । तीमध्ये २९ प्रतिशतले कम उमेरमै व्यवसाय सुरु गरेका छन् ।

धेरै जनसंख्या उद्यमशीलतामा केन्द्रित भए पनि यसलाई अर्थतन्त्रलाई बदल्ने र रोजगारीको अवसर सिर्जना गर्ने सम्भावना भने कम रहेको प्रतिवेदनमा जनाइएको छ । यस्ता देशले गरिबी अन्त्य र अर्थतन्त्रमा परिवर्तनका लागि गतिशील र रोजगारी दिन सक्ने व्यवसायलाई संरक्षण गर्न सक्नुपर्ने प्रतिवेदनको सुझाव छ ।

उद्यमशीलतालाई मुख्य केन्द्रमा राखेर तयार पारिएको प्रतिवेदनमा यस्ता मुलुकमा अर्थतन्त्रको औसत ३५ प्रतिशत कारोबार अनौपचारिक क्षेत्रमा हुने प्रतिवेदनले औंल्याएको छ । यसको अर्थ हो यी कारोबारहरू अर्थतन्त्रमा समेटिएका छैनन् ।

अति कम विकसित मुलुकमा कम उमेरमै व्यवसाय सुरु गर्नेमध्ये ६३ प्रतिशत र स्थापित उद्यम बनिसकेका ५७ प्रतिशतले पहिल्यै भइसकेका व्यवसायको सिको गर्ने गरेको प्रतिवेदनले औंल्याएको छ । जसका कारण उनीहरू बढी सिधै ग्राहकमा केन्द्रित हुन्छन् र पहिल्यै स्थापित खालको व्यवसाय भएकाले यसमा नाफाको दर पनि निकै कम हुन्छ ।

यी मुलुकमा ७० प्रतिशत उद्यमी आफैं काम गरेर उद्यम चलाउँछन् जबकि यो दर विकसित मुलुकमा १४ प्रतिशत मात्रै छ । उद्यमशीलताको यसतो शैलीले कामदारले कम ज्याला पाउने र आविष्कारको सम्भावना न्यून रहने प्रतिवेदनमा भनिएको छ । यी देशमा हुने उद्यमले अर्थतन्त्रलाई बदल्ने सम्भावना अति न्यून छ । प्रतिवेदनमा जनाइएअनुसार थोरै मात्र व्यवसायले पछिल्ला ५ वर्षमा ६ जनाभन्दा बढीलाई रोजगारी दिएका छन् ।

यस्ता देशमा नयाँ खुल्ने स्टार्टअपमध्ये ५० प्रतिशत ५ वर्षसम्म पनि टिक्न नसक्ने प्रतिवेदनमा औंल्याइएको छ । यस्ता देशमा १८ देखि २४ वर्षसम्मको उमेरमा उद्यम सुरु गर्नेहरूको संख्या २८ प्रतिशत रहेको प्रतिवेदनमा जनाइएको छ । यस्तै, २५ देखि ३४ वर्षका उद्यमीको संख्या ३५ प्रतिशत छ ।

राइड सेयरिङ सर्भिस टुटलका संस्थापक दक्षित भट्ट स्टार्टअप सुरु गर्न जति सजिलो छ त्यसलाई टिकाउन त्यो बढी गाह्रो रहेको विचार राख्छन् । ‘कुनै स्टार्टअप सुरु गर्न सजिलो छ, यसका लागि उत्साह मात्रै भए पुग्छ,’ उनी भन्छन्, ‘तर त्यसलाई टिकाउन र आर्थिक रूपमा सफल बनाउन अनुभव र व्यवस्थापनको सीप चाहिन्छ ।’

अति कम विकसित मुलुकमा मध्यम खाले व्यवसायको संख्या अति न्यून हुनुले पनि भट्टको तर्कलाई सघाउँछ । प्रतिवेदनमा औंल्याइएअनुसार अति कम मुलुकमा ५८ प्रतिशत व्यवसायमा २० जनाभन्दा कम कर्मचारी छन् भने १२ प्रतिशत व्यवसायसँग मात्रै एक सय बढी कर्मचारी छन् । अर्थात्, यी देशका व्यवसाय थोरै मात्र फस्टाउँछन्, अधिकांश साना उद्यममै सीमित छन् ।

प्रतिवेदनअनुसार अति कम मुलुकमा सहर वा बजारको नजिक रहेका उद्यमीले कृषिबाहेकका उद्यम गर्ने सम्भावना बढी हुन्छ । बजार र अन्य पूर्वाधारमा पहुँच भएकाले उनीहरूले कृषिबाहेकको अन्य व्यवसाय गर्ने गरेको प्रतिवेदनमा जनाइएको छ ।

विश्वका ७ अर्ब जनसंख्यामध्ये ३ अर्ब जनसंख्या नेपाल वरपरका देशमै रहेकाले नेपाली व्यवसायले पनि ठूला बजारमा उपस्थिति जनाउन सक्ने टुटल संस्थापक भट्ट बताउँछन् । ‘व्यवसायलाई वृद्धि गर्ने सोच राख्दैनौं,’ उनी भन्छन्, ‘हाम्रो सम्भावनायुक्त व्यवसायाई विस्तार गरे ठूलो बजारमा हाम्रो पहुँच पुग्छ ।’

नेपालका व्यवसाय पनि जीविकोपार्जनमै केन्द्रित हुने भएकाले फैलिन नसकेको भट्टको अनुभव छ ।

विद्यार्थीलाई फरक खाले शैक्षिक वातावरण दिने उद्देश्यका साथ स्थापित कारखाना एसियाका सहसंस्थापक पवित्र गौतम पनि नेपालमा फरक खाले व्यवसायको लागि वातावरण र पूर्वाधार तयार नबनेको स्विकार्छन् । ‘हाम्रो शिक्षा पद्धतिले नै हामीलाई आविष्कार गर्न सिकाउँदैन,’ उनी भन्छन्, ‘हामी संरचनागत विचारमै हिंडिरहेका छौं ।’

घर र व्यवसायबाट निस्किने फोहोरलाई पुनप्र्रयोग गर्ने गरी व्यवस्थापन गर्ने कम्पनी खालीसीसीकी संस्थापक आयूषी केसी नेपालमा चलनचल्नीका व्यवसाय गर्ने क्रम रहे पनि नयाँ खाले व्यवसाय गर्ने सोच बनिनसकेको बताउँछिन् । ‘मैले खालीसीसी नामक कम्पनी दर्ता गर्दा यसलाई कुनै सेवाअन्तर्गत दर्ता गर्ने भनेर सरकारी निकाय नै द्विविधामा पर्‍यो,’ उनी भन्छिन्, ‘यसले पनि हामीकहाँ फरक खाले व्यवसाय गर्ने सोच सुरु नभएको जनाउँछ ।’

अति कम मुलुकले विश्वव्यापी लाभ वितरणको शृंखला (भ्यालु चेन) मा सहभागी हुन स्थानीय व्यवसायको सट्टा प्रत्यक्ष वैदेशिक लगानीमा केन्द्रित हुनुपरेको प्रतिवेदनमा जनाइएको छ । यसको अर्थ हो कुनै देशमा प्रत्यक्ष वैदेशिक लगानी नआई ती देशका व्यवसाय वा कम्पनीले अन्तर्राष्ट्रिय बजारमा उपस्थित हुन गाह्रो छ ।

यस्ता देशले अपवाद बाहेक अन्य देशमा सामान उत्पादनको लागि उपयोगी हुने कच्चा पदार्थ आयात मात्रै गर्ने प्रतिवेदनमा जनाइएको छ ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्ले प्रतिवेदनले अति कम विकसित मुलुकले संरचनागत परिवर्तनशील उद्यमका लागि नीतिगत सुधार गर्नुपर्ने सुझाव दिएको बताउँछन् ।

प्रकाशित : मंसिर ५, २०७५ १२:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?