मेवा खोलामा चासो

आनन्द गौतम

ताप्लेजुङ — मेवाखोलाको विद्युत् उत्पादनमा सांसददेखि सरकारसम्मको नजर परेको छ । सांसदहरू कम्पनी खोलेर उत्पादन प्रक्रियामा लागेका छन् भने प्रदेश १ को सरकारले लगानीमा चासो देखाएको छ ।

मेवा खोलामा चासो

मुख्यमन्त्री शेरधन राईले केही महिनाअघि हेलिकप्टरमा आएर खोला र उत्पादन क्षेत्रको भ्रमण गरेका थिए । प्रदेश सरकारले १२८ मेगावाटको तमोर मेवा जलविद्युत् आयोजनामा चासो देखाएको हो ।


४९ मेगावाटको मध्य मेवा जलविद्युत् आयोजना पाँचथरका प्रतिनिधिसभा सांसद वसन्त नेम्बाङको नेतृत्वमा रहेको छ । यसमा ताप्लेजुङका प्रदेश सभा सदस्य टंक आङवोहाङ, पूर्वसांसद डम्बरध्वज तुम्बाहाम्फे बोर्ड सदस्य छन् । यो आयोजनामा कांग्रेस महासमिति सदस्य एवं पूर्व जिविस सभापति दीपेन्द्र सेन्दाङलगायतकको संलग्नता छ ।


निर्माणको अनुमति पाइनसकेको स्पार्क हाइड्रो पावरले ४९ मेगावाट उत्पादनको प्रस्ताव गरेको छ । वातावरणीय प्रभाव मूल्यांकनको काम भइरहको आयोजनामा संरचना निर्माणका लागि सडक पुर्‍याउने, जग्गा खरिद गर्ने काम भएको नेम्बाङले बताए । उनका अनुसार चार सय रोपनी जग्गा खरिद गरिएको छ ।


५० मेगावाटभन्दा तल विस्तृत अध्ययन तथा सार्वजनिक सुनुवाइ गर्नुनपर्ने भएकाले समुदायसँग छलफललगायतको काम भइरहेको आयोजनाले बताएको छ । मिक्वाखोला गाउँपालिकाअन्तर्गत ३ र ४ नम्बर वडामा पर्ने यो आयोजना सर्भेक्षण अध्ययन अनुमति ऊर्जा तथा जलस्रोत तथा सिँचाइ मन्त्रालयले ०७३ पुस ८ मा दिएको थियो ।


आयोजनाले वार्षिक २९ करोड युनिट विद्युत् उत्पादनको दाबी गरेको छ । ४ सय ६५ मिटर हेड भएको आयोजनाको ६ हजार मिटर लम्बाइ र ४.५ मिटर हेडरेस सुरुङ रहनेछ । ८७.२५ मिटर लम्बाइ र २० मिटर चौडाइको बाँध हुने आयोजना साँवाको फुङफुङे झरना नजिकैबाट सुरु भई लिबाङको नावा भन्नेस्थानमा झारिनेछ । यहाँ ६ किलोमिटरको टनेल निर्माण हुने नेम्बाङले बताए ।


९ अर्बको लागतमा बन्ने आयोजनामा साढे ६ अर्ब बैंकले लगानी गर्नेछ । बैंकको टुंगो भइसकेको तर पूर्ण सम्झौतापछि नाम सार्वजनिक गर्ने नेम्बाङले वताए । बाँकी रकम कम्पनीका प्रवद्र्धक र स्थानीयबाट जुटाउने कम्पनीका सल्लाहकार डम्बरध्वज तुम्बाहाम्फेले बताए ।


मिक्वाखोला र मेवाखोलामा गाउँपालिकाका बासिन्दाले मागेजति सेयर हाल्न पाउने व्यवस्था गरिएको उनले बताए । यिनै दुई गाउँपालिकाको बीच भएर नदी बगेको छ ।


संरचना भने सबै मिक्वाखोला क्षेत्रमा बनाइने उल्लेख छ । मेवाखोलाबाट युनियन मेवा हाइड्रोल मिक्वाखोला ५ पापुङमा २३, सूर्य होल्डिङ कम्पनीले पापुङ र साँवाबाट २८, युनाइटेड मेवाखोला हाइड्रोपावर प्रालिले खाम्लुङ, खोक्लिङ, लिङतेप, लिबाङ र थुकिम्बाबाट ५०, मेवा डेभलेपमेन्ट प्रालिले लिबाङ, साँवा, नाल्वु, पापुङ र थुकिम्बाबाट ४९ तथा स्पार्क हाइड्रो पावर कम्पनीले खोक्लिङ, पापुङ र फुङलिङबाट १ सय २८ मेगावाट विद्युत् उत्पादनका लागि सरकारसँग प्रस्ताव गरेका छन् । निर्माण अनुमति कसैले पनि पाएको छैन ।


मिक्वाखोला गाउँपालिकाका सिरान तोक्पेगालाको सोदोपोखरी क्षेत्रबाट सुरुहुने मेवाखोला फुङलिङ र खोक्लिङको छेउ तमोर नदीमा आएर मिसिन्छ ।

प्रकाशित : मंसिर ८, २०७५ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?