कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धनीका कुरा : जाे घरदैलोमा सामान बेच्छन्

दिनेश यादव

काठमाडौँ — आफ्नै परिश्रमबाट धनाढय बन्नेमध्ये ४० वर्षीय बोम किम पनि एक हुन् । उनी हावर्ड बिजनेस स्कुलमा भर्ना भई बीचैमा पढाइ छाडी व्यापारमा लागेका हुन् । घरघरमा गई सामान बिक्री गर्छन् । अनलाइन खुद्रा व्यापार उनको सम्पत्तिको स्रोत हो ।

धनीका कुरा : जाे घरदैलोमा सामान बेच्छन्

‘फोब्र्स’ अखबारका अनुसार अमेरिकी नागरिक बने पनि उनी दक्षिण कोरियाली राजधानी सोलमा बस्छन् । यो वर्ष कोरियाका ५० जना धनाढयमध्ये उनी ४७ औं स्थानमा छन् । दुई वर्षअघि ‘ग्लोबल गेम चेन्चर’ का रूपमा पनि किमले आफूलाई स्थापित गर्न सफल भए ।


‘भिन्टयाग मिडिया कम्पनी’ खोल्नुअघि किमले बोस्टन कन्सल्टिङ ग्रुपमा काम गरेका थिए । सन् २००९ मा त्यो कम्पनी बेचेर अर्को वर्ष ‘कुपाङ’ सुरु गरेका हुन् । कुपाङ दक्षिण कोरियाको सबैभन्दा ठूलो अनलाइन खुद्रा बिक्रेता हो ।


५ अर्ब अमेरिकी डलर सम्पत्ति भएको दक्षिण कोरियाली यो ‘स्टार्ट–अप’ अमेजनको सबैभन्दा ठूलो प्रतिद्वन्द्वीका रूपमा उदाउँदै छ । ‘सीएनबीसी’ का अनुसार यसको वार्षिक बिक्री ३ अर्ब अमेरिकी डलरभन्दा बढी छ । आठ वर्षअघि सञ्चालनमा आएको यो स्टार्टअप कोरियालीमा रहेको मुठ्ठीभर कम्पनीमध्ये एक हो ।


सन् २०१९ वा २०२० मा मुलुकमा स्टक मार्केट अर्थात् ‘आईपीओ’ का लागि सबैभन्दा बलियो उम्मेदवारका रूपमा देखापर्ने पक्का छ । दक्षिण कोरियाको आधा जनसंख्याले यो कम्पनीको मोबाइल एप डाउनलोड गरिसकेका छन् । यही एपको सहयोगमा मानिसले सामानको अर्डर दिन्छन् । कम समयमै ग्राहकको घर दैलोमा अर्डरबमोजिमको सामानको डेलिभरी पनि हुन्छ । किमको ‘कुपाङ’ कम्पनी ग्राहकहरूलाई सन्तुष्ट पार्ने लक्ष्यका साथ अघि बढेको छ ।


‘तपाईले अनलाइनबाट अर्डर गरेको चप्पल सानो भयो भने पनि केही छैन । तपाईले आफ्नो एपमा केही क्लिक मात्र गर्नुपर्नेछ, चप्पल घण्टाभित्रै उठाइनेछ र तपाईले तत्कालै रकम पनि फिर्ता हुनेछ,’ यो परिदृश्य अहिले दक्षिण कोरियामा देखिन थालेका छ । यो खुद्रा बिक्री भविष्यको झलक होइन, दक्षिण कोरियाकै एउटा वास्तविकता हो, जहाँ कुपाङले मुलुककै सबैभन्दा ठूलो अनलाइन खुद्रा बिक्रेताका रूपमा आफूलाई सक्रिय बनाएको छ ।


५ अर्ब अमेरिकी डलरभन्दा बढी सम्पत्तिको मूल्यांकन र १ दशमलव ४ अर्ब संयुक्त लगानी रहेको बोम किमको कुपाङ दक्षिण कोरियामा राम्रो वित्तीय पकड भएको ई–कमर्स कम्पनी बनेको छ । ई–कमर्स बजारमा यो कम्पनीको दबदबा कायम छ । बजारमा धेरै कम्पनीहरू अझै पनि घाटामा छन् तर किमको कम्पनी प्रगति र आम्दानी उन्मुख छ ।


कोरियाली प्रविधिलाई पछयाउने साइट ‘टेक फर कोरिया’ का संस्थापक सेहवान चोई भन्छन्, ‘सबैभन्दा छिटो अनलाइन अर्डर डेलिभरी गर्ने कम्पनीमा अमेजनको छाप धेरै छ तर अधिकांश कोरियाली ई–कमर्सका खेलाडीहरूले एकैदिनमा सस्तोमा सामान घरदैलोमा पुर्‍याउने अनलाइनका रूपमा यो कुपाङलाई लिने गरेका छन् ।’


कुपाङका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृतसमेत रहेका बोम किमले आफ्नो व्यापार फस्टाउनुको रहस्य खोतल्दै एउटा अन्तर्वार्तामा भनेका छन्, ‘व्यापारमा सुरुदेखि अन्त्यसम्मको सबै सेवा उपभोक्ताहरूलाई दिन सक्नुपर्छ । अर्डर आएदेखि डेलिभरी गर्नु, फिर्ता गर्नुलगायतका सबै सेवाले ग्राहकलाई सन्तुष्ट पार्न सक्नु नै व्यापारमा सफलता हासिल गर्नु हो । यसले ग्राहकको तनाव कम हुन्छ भने लगानीकर्ताको व्यापार चम्किन्छ ।’


५ करोड १० लाख जनसंख्या रहेको दक्षिण कोरियामा अधिकांश मानिस सहरमा बसोबास गर्छन् । एसियाको चौथो ठूलो अर्थतन्त्र रहेको यो मुलुकले तीव्र–गतिको प्रविधिको उपयोगमा रमाउँदै आएको छ । विश्वको ई–कमर्स बजारमा दक्षिण कोरिया सातौं स्थानमा रहेको छ । किमका अनुसार कोरियाको सहर केन्द्रित बस्तीमा ९९ दशमलव ६ प्रतिशत अनलाइन अर्डर २४ घण्टाभित्रै डेलिभरी गर्न सकिन्छ ।


कुपाङका आफ्नै ट्रकहरू छन् । डेलिभरी गर्न ४ हजार व्यक्तिसहित १० हजार कर्मचारी उनको कम्पनीमा छन् । उनको कम्पनीले प्रविधिलाई प्राथमिकतामा राखेको भए पनि अन्य व्यक्तिगत सेवाहरूसमेत दिने गरेको छ । उनी आफ्नो व्यापारबारे भन्छन्, ‘यदि तपाईको काखमा बच्चा छ, डोरबेलले शिशुलाई डिस्टर्ब नहोस् भन्ने चाहनुहुन्छ भने त्यसमा हाम्रा डेलिभरीम्यानले सहयोग गर्छन्, ढोका मात्रै ढक्ढक्याउँछन् । यदि तपाई घरमा हुनुहुन्न भने तपाईले अर्डर गरेको समान कुनै विशेष स्थानमा छाड्न भन्नुहुन्छ भने त्यो पनि हामी गर्छौं, तपाईलाई जहाँ सुविधा हुन्छ, त्यही पुर्‍याउँछौं ।’


आफ्नो सक्रियताकै कारण किमको कम्पनी घरेलु खाद्य, प्रांगारिक उत्पादन, स्वास्थ्यकर वस्तुहरूको वितरण गर्ने कोरियाकै नेतृत्वदायी कम्पनी बनेको छ । उनी आफ्नो कम्पनीलाई ‘अमेजोन अफ कोरिया’ बनाउन नचाहेको बताउँछन् ।


उनी भन्छन्, ‘मेरो कम्पनीले त्योभन्दा पनि दुरुस्त सेवा दिन तत्पर छ ।’ हावर्ड बिजनेस स्कुलका ‘ड्रप आउट’ विद्यार्थी किम सुरुमा एउटा डेली–डिल बिजनेस (दिनहुँ–सहमतिमा व्यापार) मा केन्द्रित भए । खासगरी ‘समूहगत’ रूपमा बिक्री गर्नका लागि आफ्नो व्यापारलाई प्राथमिकतामा राखे । ‘ग्रुपन’ जस्तो यो उनको पहिलो व्यापार थियो । पछि उनी ई–बेको जस्तो बिक्री प्लेटफर्म बनाएर अघि बढेका थिए ।


यो प्लेटफर्म सञ्चालन गर्ने क्रममा धेरै उपभोक्ताहरूले डेलिभरी दुरुस्त नभएको गुनासो गरेका थिए । यसबाट उनलाई अलि फरक तरिकाले काम गर्ने सुझाव प्राप्त भयो । उनी भन्छन्, ‘व्यापारमा लागेकाहरू ग्राहकका समस्या र गुनासाहरू पनि बेलाबेलामा सुन्न सक्ने धैर्य राख्नैपर्छ ।’


कोरियामा ८० प्रतिशत अर्डर मोइबाइल एपबाटै हुने गरेको छ, साताको अन्तिम दिन ९० प्रतिशत यस्ता अर्डरहरू आउने गरेका छन् । यो नै विश्वव्यापी ट्रेन्ड हो । यसले पनि बोम किमलाई फाइदा पुगेकै छ । उनले बजारको अध्ययन गरेर नै व्यापार थालेका हुन् । यसै महिना किमको सम्पत्तिमा वृद्धि भएको छ ।


कुपाङले नोभेम्बर २० मा सफ्ट बैंक भिजन फन्डबाट २ अर्ब अमेरिकी डलरको ठूलो हिस्सा उठाएको जनाएको छ । यसले कम्पनीको सम्पत्तिको मूल्यांकन ९ अर्ब अमेरिकी डलरसम्म पुगेको ‘फोब्र्स’ उल्लेख गरेको छ । यो सम्पत्तिसँगै कम्पनी मुलुककै सबैभन्दा मूल्यवान् र एसियाको शीर्ष दस स्टार्टअप बनेको छ । यो मूल्यांकनले उनलाई दक्षिण कोरियाको नव धनाढय र ४० वर्षमुनिको युवा अर्बपतिमध्ये दोस्रो बनाएको छ ।


(एजेन्सीहरूको सहयोगमा)

प्रकाशित : मंसिर ८, २०७५ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?