कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुदूरपश्चिममा जलविद्युत् धमाधम 

बझाङ/दार्चुला — सुदूरपश्चिमका पहाडी जिल्लामा जलविद्युत् आयोजना निर्माणमा निजी क्षेत्रको आकर्षण बढ्दो छ । केही महिनाअघि दार्चुलाको नौगाडमा अपी हाइड्रो पावर कम्पनीले साढे आठ मेगावाट क्षमताको विद्युत् आयोजना सम्पन्न गरेको छ ।

बझाङमा ६ आयोजनाहरू निर्माणाधीन छन् । यी आयोजनामा निजी क्षेत्रको १६ अर्बभन्दा बढी लगानी हुँदै छ । दार्चुलाको नौगाडमा डेढ अर्ब लगानीमा निर्माण सम्पन्न भइसकेको छ भने त्यहीँको अर्को आयोजनामा २ अर्ब लगानी हुँदै छ ।


विद्युत् अभावको मार खेप्दै आएका बझाङबासीलाई राहतको सास फेर्ने एउटै मात्र बाटो भनेको केही महिनाभित्रै बन्ने भनिएको जेउडेगाड लद्यु जलविद्युत् आयोजना पनि हो । सन् २०१६ मा सुरु एक मेगावाट क्षमताको यो आयोजनाको काम अन्तिम चरणमा छ । आयोजनाको निर्माणकर्ता कालंगा हाइड्रो प्रालिका सञ्चालक वीरेन्द्र मल्ल भन्छन्, ‘जेउडेगाड सञ्चालनमा आएपछि बझाङमा विद्युत्को समस्या सधैका लागि समाधान हुनेछ ।’


काम सुरु भइसकेका र सम्भाव्यता अध्ययन भइरहेका आयोजनाहरूको निर्माण कार्य समयमै सम्पन्न भए बझाङ यो प्रदेशकै सबैभन्दा बढी विद्युत् उत्पादन गर्ने जिल्ला बन्नेछ । नेपालकै सबैभन्दा ठूलो जलाशययुक्त आयोजना पश्चिम सेतीको केही हिस्सा बझाङमै पर्छ ।


निर्माणाधीन अर्को आयोजना कालंगा गाड हो । सन् २०२० सम्म विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको यो आयोजनाको काम ५० प्रतिशतभन्दा बढी सकिएको छ । सुरुवाती अनुमान ६५ मेगावाट रहेको यस आयोजनाबाट ८० मेगावाट विद्युत् उत्पादन गर्ने निर्माणकर्ताको दाबी छ । निजी क्षेत्रको लगानीमा निर्माण थालिएको यो आयोजना मुलुककै पहिलो ठूलो आयोजना हो ।


तीन वटा अलगअलग खोलामा विद्युत् उत्पादन पछि एकै ठाउँबाट वितरण गर्ने गरी निर्माण थालिएको यस आयोजनाको कालंगा गाडको काम आधाभन्दा बढी सकिन लागेको छ । कुल ३ किमिको सुरुङ मार्ग निर्माण गर्नुपर्ने कालंगामा एक किमिभन्दा बढी सुरुङको काम सकिएको छ । डयाम साइट र बक्स कल्भर्टको काम पनि आधा सकिएको साइट इन्चार्ज सन्तोष मल्लले बताए ।


यस्तै ३८.४६ मेगावाट विद्युत् उत्पादन हुने सानीगाडको काम पनि ४० प्रतिशतको हाराहारीमा सम्पन्न भएको उनले बताए । उता १० मेगावाट विद्युत् उत्पादन हुने अपर कालंगाको काम पनि २० प्रतिशत जति सम्पन्न भएको र तीन वटै ठाउँमा तीव्र गतिमा काम भइरहेको उनले जनाए ।


०६५ देखि सम्भाव्यता अध्ययन सुरु भएको यस जलविद्युत् आयोजनाको निर्माणका लागि ३ वटा बैकंहरूसँग ऋण लगानी सम्झौता भएपछि अघिल्लो वर्ष निर्माण कार्य सुरु गरिएको थियो । ०७७ असोज ३ सम्म विद्युत् उत्पादन गर्ने लक्ष्य आयोजनाले लिएको छ । आयोजनाले निमार्ण गर्न आवश्यक पर्ने २ सय रोपनी जग्गा गत वर्ष खरिद गरेको थियो ।


१३ अर्बको लागत अनुमान गरिएको उक्त आयोजनामा ५६ प्रतिशत बैंकहरूको लगानी र २५ प्रतिशत विभिन्न क्षेत्रका निजी व्यवसायीको लगानी रहेको छ । आयोजनाको १० प्रतिशत सेयर स्थानीयबासीलाई वितरण गर्ने बताइएको छ । हाल यहाँ सुरुङ खन्ने काम तीव्र रूपमा भइरहेको छ ।


तीन वटा आयोजनामध्ये कालंगा हाइड्रोमा ३.८ किमि, अपर कालंगामा ८.२ किमि र सानीगाडमा २ दशमलव १ किमि गरी करिब १५ किमि सुरुङ निमार्ण गरिने आयोजनाका संस्थापक वीरेन्द्र मल्लले बताए ।


बझाङकै सुनीगाड खोलाबाट ०८० सम्म पूरा गर्ने गरी २५ मेगावाटको अर्काे योजना पनि निर्माणाधीन छ । तल्लो सुनिगाडबाट १७ मेगावाट र उपल्लो सुनिगाडबाट ८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित यस आयोजनाको काम गत वर्षदेखि सुरु भएको हो ।


निजी क्षेत्रको कम्पनी ओमेगा इनर्जी डेभलपरले निर्माण गर्न लागेको यस आयोजनाको स्थलसम्म पहुँच सडक निर्माण गर्ने काम आधाभन्दा बढी सम्पन्न भइसकेको छ । करिब ३ अर्बको लागतमा निर्माण हुने यस आयोजनाका लागि जग्गा अधिग्रहणलगायत काम सुरु भइसकेको ओमेगा इनर्जीका लोकजङ कुँवरले बताए ।


यस्तै सेती नदीमै बन्ने भनिएको १६५ मेगावाट क्षमताको सेती खोला जलविद्युत् आयोजनाको निर्माणको तयारीमा निजी क्षेत्रको कम्पनी चिलिमे हाइड्रो पावर रहेको छ । यो आयोजना पनि यसै वर्ष सुरु हुने ऊर्जा क्षेत्रका जानकारहरूको भनाइ छ ।


बझाङकै साइपाल गाउँपालिकामा निर्माण हुने अपर सेती १४० मेगावाटको आयोजनाको लाइसेन्सका लागि निजी क्षेत्रकै समृद्धि हाइड्रो पावर कम्पनीले प्रक्रिया अघि बढाएको छ । यी सबै आयोजनाको काम १० वर्षभित्र सम्पन्न भइसक्ने सम्बन्धित निर्माण कम्पनीहरूको दाबी छ । ‘अबको १० वर्षमा नेपालको ऊर्जा क्षेत्रमा बझाङले ठूलो योगदान गर्नेछ,’ कालंगा हाइड्रोका संस्थापक वीरेन्द्र मल्ल भन्छन्, ‘ठूला आयोजना निर्माण भएपछि यहाँ औद्योगिक क्षेत्रमा पनि नसोचेकै परिर्वतन हुनेछ ।’


नेपाल विद्युत् प्राधिकरणले अहिले राष्ट्रिय प्रसारण लाइन बझाङ पुर्‍याउन ३३ केभीको प्रसारण लाइन निर्माण गरिरहेको छ । सब स्टेसन निमार्णको समेत ठेक्का भई काम सुरु भइसकेको यसको लाइन

विस्तार गर्ने काम अन्तिम चरणमा पुगेको छ ।


जिल्लामा नयाँ बन्दै गरेका ठूला क्षमताका आयोजनाहरू छिट्टै सञ्चालनमा आउने भएकाले ३३ केभी प्रसारण लाइन अपुग हुने निर्माण कम्पनीहरूले बताएका छन् । सरकारले जिल्लामा उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनसम्म लैजान आवश्यक १३२ केभी क्षमताको प्रसारण लाइन समयमै निर्माण गर्न नसके जिल्लामा उत्पादित विद्युत् त्यसै खेर जाने सम्भावना रहेको उनीहरूको भनाइ छ ।

प्रकाशित : मंसिर १५, २०७५ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?