२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

हुम्लामा खाद्यान्न ढुवानी गर्न हेलिकप्टर सञ्चालकले मानेनन्

व्यावसायिक उडान गर्दा व्यवसायी नै मर्ने देखियो : हेलिकप्टर सञ्चालक
लगाम नहुँदा ढुवानीमा समस्या भयो : खाद्य संस्थान
राजु चौधरी

काठमाडौँ — सडकले नछोएको हुम्लामा खाद्यान्न ढुवानी गर्न हेलिकप्टर सञ्चालकले मानेका छैनन् । खाद्य संस्थानले ढुवानीका लागि आहवान गरेको टेन्डरमा कुनै पनि कम्पनीले भाग लिएनन् । हुम्लाको सिमकोट सदरमुकामसम्म खाद्यान्न ढुवानी गर्न खाद्य संस्थानले तीन पटक टेन्डरका लागि सूचना प्रकाशित गरे पनि उनीहरूले इच्छा नदेखाएका हुन् ।

हुम्लामा खाद्यान्न ढुवानी गर्न हेलिकप्टर सञ्चालकले मानेनन्

संस्थानका प्रवक्ता शंकर सापकोटाका अनुसार पहिलो टेन्डरको क्रममा दुई कम्पनीले आवेदन दिएका थिए । ती कम्पनीहरूले ढुवानी खर्च अस्वाभाविक राखेका थिए । अस्वाभाविक मूल्यकै कारण आवेदन रद्द भएको थियो । ‘त्यसपश्चात् पुन: दुई पटक सूचना प्रकाशित गरियो,’ प्रवक्ता सापकोटाले भने, ‘कम्पनीहरूले इच्छा देखाएनन् । ढुवानीका लागि आवेदन नै दर्ता गराएनन् ।’


सापकोटाका अनुसार संस्थानले गत वर्षकै ढुवानी दर सुर्खेतबाट हुम्लासम्म प्रतिकिलो १ सय ५ रुपैयाँ र नेपालगन्जबाट १ सय १४ रुपैयाँ राखेर पहिलो सूचना असार २६ गते प्रकाशित गरेको थियो । ३० दिनको अवधि तोकिएको उक्त सूचनामा तारा र समिट एयरले आवेदन दिएका थिए । ती एयरलाइन्सहरूले सुर्खेतबाट हुम्लासम्म १ सय १३ रुपैयाँ र नेपालगन्जबाट १ सय २३ रुपैयाँ प्रस्ताव गरेका थिए । ढुवानी खर्च अस्वाभाविक भएको जनाउँदै संस्थानले पुन: १५ दिनको अवधि दिएर भदौ १८ गते टेन्डर आहवान गरेको थियो । दोस्रोमा कुनै पनि एयरलाइन्सले आवेदन दिएनन् । त्यसपश्चात् संस्थानले पुन: कात्तिक ९ गते ७ दिनको अवधि दिएर तेस्रो पटक सूचना प्रकाशित गरेको थियो । कम्पनीहरूले तेस्रो पटक सूचना प्रकाशित गर्दा पनि ढुवानी गर्न इच्छा देखाएनन् ।


वायु सेवा सञ्चालक संघका प्रवक्ता घनश्याम आचार्यले ढुवानी खर्च थोरै भएर आवेदन नदिएको बताए । संस्थानले पुन: टेन्डर आहवान गर्ने प्रक्रियामा रहेकाले त्यसपश्चात् आवेदन दिने बताए । संस्थानले घाटा नहुने गरी ढुवानी गर्ने वातावरण बनाए एयरलाइन्सहरू तयार रहेको उनले बताए । ‘एयरलाइन्सको कमर्सियल बिजनेस हो । बिजनेसमा खर्च उठ्ने गरी टेन्डर हाल्नुपर्‍यो । व्यावसायिक उडान गर्दा व्यवसायी नै मर्ने देखियो । खर्च नै नउठ्ने गरी समाज सेवा गर्न सकिँदैन,’ गीता एयरलाइन्सका महाप्रबन्धकसमेत रहेका आर्चायले भने, ‘छलफलका क्रममा संस्थानले खर्च उठ्ने गरी टेन्डर आहवान गर्ने कुरा भएको छ । अब एयरलाइन्सहरू समावेश हुन्छन् ।’


संस्थानका अनुसार टेन्डर प्रक्रियामा जाँदा टेन्डरका लागि सुरुमै धितो धरौटी राख्नुपर्छ । टेन्डर स्वीकृत भएपछि धरौटीको रकम दोब्बर राख्नुपर्छ । समयमै काम नगरे धेरैटी रकम जफत हुन्छ । त्यसैले टेन्डरमा इच्छा नदेखाएको हुन सक्ने संस्थानका अधिकारीहरू बताउँछन् । नेपालगन्जदेखि हुम्लासम्म ढुवानीका लागि धरौटी रकम ९ लाख ७४ हजार रुपैयाँ छ । सुर्खेतदेखि हुम्लासम्म २१ लाख ७५ हजार रुपैयाँ धरौटी छ । आवेदन स्वीकृत भएको अवस्थामा कम्पनीहरूले दोब्बर राख्नुपर्छ ।


अहिले आन्तरिक पर्यटकको चाप रहेकाले पनि एयरलाइन्सहरू त्यतातर्फ आकर्षित भएका हुन् । चैत–वैशाखमा पर्यटकको सिजन । ‘सम्झैता र धरौटी हुँदा जिम्मेवार हुन्छन्,’ संस्थानका महाप्रबन्धक योगेन्द्र गौचनले भने, ‘मनलाग्दी गरिरहेका छन् । काम नगर्दा पनि कारबाही गर्न पाएका छैनौं ।’


दसैं–तिहार संकटको अवस्थामा सरकारबाट कडा निर्देशनपश्चात् एक हजार क्विन्टल ढुवानी गरेका थिए । सरकारको इन्धनमा कटौती गर्ने चेतावनीपश्चात् ढुवानी गरेका थिए । अहिले पुन: आलटाल गर्दै आएका संस्थानको दाबी छ । संस्थानका अनुसार असार मसान्तसम्म १४ हजार क्विन्टल ढुवानी गर्नुपर्छ । हाल सिमिकोटमा १ हजार ९ सय क्विन्टल ढुवानी भएको छ । ‘चौथो पटकका लागि पुन: टेन्डर गर्ने वा नगर्नेमा संस्थान अन्योलमा छ,’ प्रवक्ता सापकोटाले भने, ‘सञ्चालक समितिमा राख्छौं । समितिले जुन निकास दिन्छ, त्यहीअनुसार प्रक्रिया अगाडि बढाउँछौं ।’ हुम्लाबाहेक अन्य क्षेत्रका लागि स्थलमार्गबाट ढुवानी भइरहेको छ । सबैभन्दा बढी समस्या हुम्लामा हो । सम्झौता नहुँदा फाटफुट मात्रै ढुवानी भएको छ । ‘जति चाहिने हो, त्यो भएको छैन,’ महाप्रबन्धक गौचनले भने, ‘हिमपात भएपछि झन् समस्या हुन्छ ।’


मूल्य परिमार्जनको तयारी

एयरलाइन्सले ढुवानी गर्न इच्छा नदेखाएपछि संस्थानले ढुवानी भाडा परिमार्जन गर्ने तयारी गरेको छ । ‘ढुवानी भाडादर परिमार्जन गर्नुपर्छ भन्ने माग हो,’ महाप्रबन्धक गौचनले भने, ‘अत्यावश्यक वस्तु भएकाले ढुवानी अनिवार्य गर्नुपर्छ । त्यसैले पुन: ढुवानी दर माग गरेका छौं ।’ उनका अनुसार खरिद ऐनअनुसार मूल्य पुनरावलोकन गर्न सकिन्छ ।


संस्थानका अनुसार समिट एयरले सुर्खेतबाट हुम्लासम्म ढुवानी गर्न प्रतिकिलो १ सय १६ रुपैयाँ, नेपालगन्जबाट हुम्लासम्म १ सय २५ रुपैयाँ चाहिने माग गरेको छ । ताराले सुर्खेतबाट १ सय १५ र नेपालगन्जबाट १ सय २६ रुपैयाँ माग गरेको छ । सीताले सुर्खेतबाट १ सय २० र नेपालगन्जबाट १ सय ३० रुपैयाँ माग गरेको जनाएको छ । मकालु कार्गोले सुर्खेतबाट हुम्लासम्म १ सय २५ देखि १ सय ३० रुपैयाँ चाहिने विवरण पेस गरेका छन् ।

प्रकाशित : मंसिर १५, २०७५ २१:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?