३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

पुनर्निर्माण कार्य स्थानीय तहलाई हस्तान्तरण गरिने

भूकम्प प्रभावित क्षेत्रका सबै स्थानीयसँग समझदारी गरेर पुनर्निर्माण कार्यको जिम्मेवारी हस्तान्तरण गर्ने प्राधिकरणको निर्णय

काठमाडौँ — राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित क्षेत्रका सबै स्थानीयहरूसँग समझदारी गरेर पुनर्निर्माण कार्यको जिम्मेवारी हस्तान्तरण गर्ने भएको छ । 

बुधबार बसेको प्राधिकरणको कार्यकारी समितिको बैठकले सम्बन्धित स्थानीय तहसँग छुट्टाछुट्टै समझदारी गर्ने निर्णय गरेको हो । भूकम्प प्रभावित ३२ जिल्लाका २ सय ७२ स्थानीय तहमा पुनर्निर्माणका काम भइरहेका छन् ।


‘यसअघि, प्राधिकरणले काभ्रे जिल्लाका सबै स्थानीय तहसँग छुट्टाछुट्टै समझदारी गरेको थियो,’ प्राधिकरणको विज्ञप्तिमा भनिएको छ, ‘बैठकले पुनर्निर्माणको समीक्षा गर्न र स्थानीय तहहरूसँग समझदारी गर्न प्राधिकरणले मंसिर २१ गतदेखि भूकम्प प्रभावित क्षेत्रहरूमा समीक्षा कार्यक्रम र जिल्ला समन्वय समितिको बैठक आयोजना गर्ने निर्णय पनि गरेको छ ।’


तयार पारिएको समझदारीपत्रमा नगरपालिका गाउँपालिकामा इन्जिनियर, सब–इन्जिनियर, असिस्टेन्ट सबइन्जिनियर र डकर्मी, प्राधिकरणबाट खटिएका सबै जनशक्तिलाई पुनर्निर्माणको काममा खटाउने, हाजिरी राख्ने लगायतका प्रशासनिक क्रियाकलापको जिम्मेवारी नगरपालिका र गाउँपालिकाको हुने जनाइएको छ । हस्तान्तरण भएपछि नगरपालिका र गाउँपालिकाले प्राधिकरणबाट खटिएका जनशक्तिहरूलाई पुनर्निर्माणको काममा मात्रै लगाउनुपर्नेछ ।


स्थानीयस्तरबाट कार्यान्वयन हुने आयोजनाहरू (गुम्बा, एकीकृत बस्ती, स्थानीय पूर्वाधारका आयोजना) का लागि तोकिएबमोजिमको बजेट प्राधिकरणले सर्तसहित नगरपालिका र गाउँपालिकामा निकासा उपलब्ध गराउने व्यवस्था मिलाउने उल्लेख छ ।


‘नगरपालिका र गाउँपालिकाले प्राधिकरणको सहयोग र समन्वयमा स्थानीय पुनर्निर्माण कार्य योजना तयार पारी कार्यान्वयन गर्ने, यसमा प्राधिकरणले आवश्यक सहयोग गर्ने उल्लेख हुनेछ,’ विज्ञप्तिमा भनिएको छ ।


समझदारीपत्रमा पुनर्निर्माणको कार्यान्वयनमा जटिलता आइपरे प्राधिकरण तथा नगरपालिका र गाउँपालिकाले आपसी समझदारी कायम गरी अगाडि बढाइने लगायतका ११ बुँदा समेटिएका छन् ।

प्रकाशित : मंसिर २०, २०७५ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?