१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

ब्याज अन्तर घटाउन समय थप

काठमाडौँ — विकास बैंक र फाइनान्स कम्पनीको कर्जा र निक्षेपबीचको ब्याज अन्तर (स्प्रेड) सम्बन्धमा केन्द्रीय बैंक लचिलो बनेको छ ।

ब्याज अन्तर घटाउन समय थप

यसअघि एकीकृत निर्देशिकामार्फत असोज मसान्तसम्म ५ प्रतिशतभन्दा बढी स्प्रेड हुने वित्तीय संस्थालाई कारबाही गर्ने जनाएको राष्ट्र बैंकले अहिले तीन महिना समय अवधि थप गरिदिएको हो । राष्ट्र बैंकले यसअघि आफैंले दिएको समयसीमाभन्दा करिब दुई महिनापछि यस्तो निर्देशन दिएको हो ।


धेरै वर्ष पहिल्यैदेखि नै विकास बैंक र फाइनान्स कम्पनीले पनि ५ प्रतिशतभन्दा बढी स्प्रेड राख्न नपाउने व्यवस्था थियो । उक्त व्यवस्था भए पनि धेरैजसो संस्था (खासगरी क्षेत्रीयस्तरका) ले उक्त निर्देशन पालना गरेका थिएनन् ।


यसकारण निर्देशन पालनामा कडाइ गर्ने उद्देश्यले ०७५ असोज मसान्त ५ प्रतिशतभन्दा बढी स्प्रेड हुने संस्थालाई कारबाही गरिने निर्देशन जारी गरेको थियो । अहिले आफ्नै निर्देशनविरुद्ध समयसीमा थप गरेको हो ।


नयाँ व्यवस्थाअनुसार अब राष्ट्रियस्तरका विकास बैंक र फाइनान्स कम्पनीले ०७५ पुससम्म र क्षेत्रीयस्तरका यस्ता संस्थाले ०७६ असारसम्म स्प्रेड ५ प्रतिशतभित्र झार्नुपर्नेछ । ‘ख’ र ‘ग’ वर्गका राष्ट्रियस्तरका संस्थाको हकमा ०७५ पुसपश्चात् र राष्ट्रियस्तरबाहेकका संस्थाको हकमा ०७५ असार मसान्तपश्चात् स्प्रेड दर ५ प्रतिशतभन्दा बढी भएमा कानुनबमोजिम कारबाही गरिनेछ,’ राष्ट्र बैंकको परिपत्रमा उल्लेख छ ।


यस्तै ब्याज अनुदानसम्बन्धी सहुलियतपूर्ण ऋण प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाले कर्जा/निक्षेप तथा पुँजी अनुपात (सीसीडी) मा छुट पाउने व्यवस्था लागू भएको छ ।


सरकारको ब्याज अनुदानसम्बन्धी कर्जा कार्यक्रमलाई सफल बनाउन बैंक तथा वित्तीय संस्थालाई प्रोत्साहन गर्ने उद्देश्यले राष्ट्र बैंकले यस्तो सुविधा दिएको हो । गत साता चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत राष्ट्र बैंकले यस्तो घोषणा गरे पनि बिहीबारदेखि लागू गरेको हो ।


‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, ०७५ अनुसार बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने सहुलियतपूर्ण कर्जालाई कर्जा/स्रोत परिचालन अनुपात (सीसीडी) गणना गर्ने प्रयोजनका लागि कुल कर्जा सापटमा समावेश गर्नु नपर्ने नीतिगत व्यवस्था गरिनेछ,’ मौद्रिक नीतिको त्रैमासिक समीक्षामा भनिएको छ ।

प्रकाशित : मंसिर २१, २०७५ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?