ठूलो परिमाणमा सेतक चिनी अलपत्र

जयबहादुर रोकाया

हुम्ला — किसानले संकलन गरेका ठूलो परिणामको सेतक चिनी (खिरौंला) अलपत्र परेको छ । जिल्लाबाट निकासी गर्न छुटपुर्जी नपाउँदा सेतक चिनी बारीमै सड्ने अवस्थामा पुगेको हो । डिभिजन वन कार्यालयले यस वर्ष पाँच सय क्विन्टल मात्र सेतक चिनीको छुटपुर्जी दिएको छ । 

संकलन गरेअनुसारको छुटपुर्जी नपाउँदा स्थानीय समस्यामा परेका छन् । जिल्लाभर करिब १० हजार क्विन्टलभन्दा बढी खिरौंला संकलन भएको डिभिजन वनको अनुमान छ ।

Yamaha


वन डिभिजन कार्यालयका रेन्जर लोकजंग शाहीले वन मन्त्रालयबाट यो वर्षका लागि पाँच सय क्विन्टल मात्र छुटपुर्जी दिने निर्देशन आएको बताए । उनका अनुसार पाँच सयमध्ये तीन सय राष्ट्रिय वन र दुई सय क्विन्टल सामुदायिक वन उपभोक्ता समूहबाट छुटपुर्जी दिने व्यवस्था छ ।

जिल्लामा जडीबुटी निकासी गर्नका लागि दर्ता भएका १ सय ४७ फर्म छन् । राष्ट्रिय वनबाट छुटपुर्जी पाउने परिमाण भाग लगाउँदा एक फर्मले करिब ४७ किलो मात्रै पाउने भएका छन् । छुटपुर्जीका लागि सबै फर्मले १० हजार क्विन्टलभन्दा बढी माग गरेका छन् ।

सामुदायिक वन उपभोक्ता समूहमार्फत छुटपुर्जी दिन पाउने दुई सय क्विन्टल भएकाले जिल्लाका ८३ वनलाई भाग लगाउनुपर्ने अवस्था छ । ८३ समूहलाई भाग लगाउँदा एक वन समूहको भागमा दुई किलो ४० ग्राम पर्न आउँछ । संकलित खिरौंला बिक्रीका लागि सहर लैजान नपाएपछि स्थानीयको लाखौं रकम डुब्ने भएको छ । अहिले दर्तावाला संकलनकर्ताले स्थानीय किसानबाट प्रतिकिलो ४० रुपैयाँमा सेतक चिनी खरिद गरेका छन् ।

खिरौंलाको माग बढेपछि स्थानीयले आफ्नो खेतबारीमा उम्रेको खिरौंला संकलन गरेर दर्तावाला फर्मलाई बिक्री गरेका थिए ।

खाद्यान्नसँगै खेतबारीमा उम्रने खिरौंला विगतका वर्षमा खेतबारीमै कुहिएर खेर जाने गरेको थियो । केही किसानले माथिल्लो बोटलाई तरकारीका रूपमा उपभोग गर्ने गरेका थिए । सरकारले खिरौंलामा प्रतिकिलो १५ रुपैयाँ राजस्व लिने गरेको डिभिजन वनले जनाएको छ ।

प्रकाशित : मंसिर २१, २०७५ ०९:०३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

लाङटाङमा घरैपिच्छे होटल

बलराम घिमिरे

रसुवा — पुनर्निर्माणपछि अहिले लाङटाङका घरहरू एक घर, एक होटलजस्तै भएका छन् । भूकम्पपछि पुनर्निर्माण गरिएका ८५ प्रतिशतभन्दा बढी घरमा स्थानीयले होटल सञ्चालन गरेका छन् ।

भूकम्पले पूर्ण क्षति गरेको लाङटाङमा पुनर्निर्माणपछि बनेका घर । तस्बिर : बलराम/कान्तिपुर

पर्यटकीय क्षेत्र भएकाले लाङटाङका स्थानीयको मुख्य पेसा होटल व्यवसाय हो । पशुपालन गर्नेको संख्या थोरै छ । भूकम्पपछि थातथलोमा फर्केका लाङटाङबासी आफ्नै पुरानो पेसा–व्यवसायमा फर्किसकेको थाङस्यापका होटल व्यवसायी फिन्जो तामाङले बताए । ‘पुनर्निर्माणपछि बनेका ८५ प्रतिशत घरमा स्थानीयले होटल सञ्चालन गरेका छन्,’ उनले भने, ‘कृषि पेसा गर्न भने जंगली जनावरले दिएन । बारीमा लगाएको सबै खेतीपाती बँदेलले खाइदिन्छ ।’

होटल व्यवसायी गाउँ फर्केर जमेका छन् । भूकम्पपछि क्याङजिनमा ६ वटा नयाँ होटल थपिएका छन् । पशुपालन गर्ने कृषकहरू पनि अहिले नयाँ बनेका घरमा होटल व्यवसाय गर्न थालेका छन् । थाङस्यापका बाबु तामाङ पुराना चौरीपालक कृषक हुन् । भूकम्पपछि उनले चौरीपालन व्यवसाय नै छोडे । ‘भूकम्पले चौरी पनि मरे, यो पेसामा धेरै दु:ख गर्नुपर्छ,’ उनले सुनाए । उनको होटल पनि छ ।

‘दु:ख गर्ने उमेर गइसक्यो, अब होटल मात्रै चलाउँछु,’ उनले भने, ‘चौरीबाट भन्दा होटलबाट राम्रो आम्दानी हुन्छ ।’ भूकम्पपछि पहिरोमा परी लाङटाङमा २० जना कृषकको मृत्यु भयो । चार सयभन्दा बढी चौरी, याक तथा नाक मरे । भूकम्प जानुभन्दा अगाडि लाङटाङमा ३० वटा चौरी गोठ रहेकामा अहिले १८ वटा मात्र छन् । भूकम्पपछि पर्यटकीय क्षेत्र लाङटाङमा चौरी पाल्ने कृषकको संख्या घट्दै गएको गोठ समितिका अध्यक्ष तेन्जेन लामाले बताए ।

भूकम्पले लाङटाङ क्षेत्रको पर्यटन लगभग शून्यमा झारेको थियो । हिमपहिरोमा परी स्थानीय बासिन्दा, स्वदेशी तथा विदेशी पर्यटक गरी २ सय १० जनाले ज्यान गुमाएका थिए । तीमध्ये १ सय ७५ जना स्थानीय रहेका थिए । हिमपहिरोमा हराएका सयौं स्वदेशी तथा विदेशी पर्यटकको अझै अत्तोपत्तो छैन । लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका नारायण दल गणका १० जना नेपाली सेनासमेत अझै बेपत्ता छन् ।

सुन्दर पर्यटकीय क्षेत्र लाङटाङ पुनर्निर्माणसँगै करिब पुरानै अवस्थामा पुगेको छ । भूकम्पले ध्वस्त भएको पर्यटकीय क्षेत्र लाङटाङ अहिले पुनर्निर्माणसँगै मुस्कुराउन थालेको छ । ‘सुरक्षित होटल र घर धेरै बनिसके,’ गोसाइँकुण्ड गाउँपालिका ४ का अध्यक्ष सुब्बा लामाले भने, ‘लगभग पुरानै अवस्थामा लाङटाङ फर्किएको छ ।’

प्रहरी चौकी र स्वास्थ्य संस्था पनि सञ्चालनमा आएका छन् । क्यान्जिनमा १ सय १० किलोवाटको नयाँ लघु जलविद्युत् निर्माण भएको छ । स्थानीय पर्यटन विकासका लागि पुनर्निर्माणमा जुटेका हुन् । लाङटाङलाई पुरानै अवस्थामा फर्काउन स्थानीयको सक्रियता बढेको छ । सिजनको बेला दैनिक ७० देखि ८० पर्यटक लाङटाङ आउने गरेको होटल व्यवसायी ढिन्डुप तामाङले बताए ।

‘पर्यटक संख्या बढेर भूकम्प जानुअगाडिकै अवस्थामा पुगेको छ,’ उनले भने । क्याङजिन पुगेपछि बस्ती नजिकैबाट वरिपरि हिमाल हेर्न सकिन्छ । त्यही हेर्न पर्यटकको घुइँचो लाग्ने गरेको छ । आँखाअगाडि चारैतिर दर्जनभन्दा बढी हिमाल देखेपछि पर्यटक दंग पर्छन् ।

लाङटाङ काठमाडौंबाट छोटो र सजिलो पदमार्ग हो । यही कारण विदेशी पर्यटकको सहज रोजाइमा पर्छ,’ पर्यटन व्यवसायी तेम्बा लामाले सुनाए, ‘पर्यटकले थोरै दिनमा एकै पटक धेरै कुरा हेर्न र घुम्न पाउँछन् ।’

प्रकाशित : मंसिर २१, २०७५ ०९:०१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT