कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

पत्रिका बिक्रेताको अर्बपति यात्रा

धनीका कुरा
तपाई एउटा दृष्टि बनाउनुस्, त्यसलाई पहिचान गरी अगाडि बढ्नुस्, सफलता अवश्य पाउनुहुनेछ
दिनेश यादव

काठमाडौँ — ‘म तपाईहरूलाई एउटा रहस्य बताउँदै छु तर त्यसको अनुसरण गर्ने व्यक्ति कमै हुन सक्छन् । मेरो विचारले तपाई केही फरक गर्नुस्, कसैले नगरेको काम गर्नुस्, आफ्नो वर्तमान अवस्थामा परिवर्तन ल्याउनुस्, तपाईको सफलता निश्चित छ ।’

पत्रिका बिक्रेताको अर्बपति यात्रा

यो भनाइ ८५ वर्षीय अमेरिकी व्यापारी सेल्डोन एडेल्सोनको हो । एक जना टयाक्सी चालकको घरमा उनी जन्मेका हुन् । परिवारको आफ्नै घरसम्म थिएन, भाडाका घरको भुइँमा उनी हुर्के । न्यून आर्थिक अवस्थाका कारण सानै उमेरमा उनले काम गर्नुपर्‍यो । उच्च शिक्षा हासिल गर्ने धोकोलाई बीचैमा उनी विराम दिन बाध्य भए, व्यापारमा लागे । आज अर्बौं अमेरिकी डलरका मालिक उनी विश्वकै अर्बपतिमा दरिएका छन् ।

एडेल्सोन अमेरिकी ठूला उद्यमी, लगानीकर्ता र समाजसेवी हुन् । उनी ‘लस भेगास स्यान्ड कर्पोरेसन्स’ का संस्थापक, अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत पनि हुन् । सिंगापरमा समेत उनको ‘म्यारिना बे स्यान्ड’ सञ्चालनमा छ । उनको आफ्नै इजरायली दैनिक अखबार ‘इजराइल हेओम’ र अमेरिकी दैनिक पत्रिका ‘लस भेगास रिभ्यु (जर्नल)’ छ ।

जुन सम्पत्तिका मालिक उनी हुन्, त्यो पारिवारिक विरासतमा भने पाएका होइनन् । क्याब चालकका छोरा उनले बोस्टनको एउटा भाडाको सानो घरमा बाल्यकाल बिताए, भुइँमा लुडीबुडी खेल्दै हुर्के ।

दयनीय आर्थिक अवस्थाका कारण उनी कजेलको पढाइ बीचैमा छाडेको धेरै पटक आफ्नो अन्तर्वातामा भनेका छन् । चाहनाचाहिँ उनको मरेन । पटकपटक प्रयास पनि गरे, सफल हुन सकेनन् । ‘ब्लुमबर्ग बिजनेस विक’ का अनुसार एडेल्सोनले १२ वर्षको उमेरमा अखबार बेच्ने काम गरेका थिए । यो उनको पहिलो व्यापार भएको उनको प्रोफाइलहरूमा पढ्न पाइन्छ ।

अर्बपतिहरूको ‘फोब्र्स प्रोफाइल’ मा उनी केही वर्षपछि न्युयोर्कस्थित सिटी कलेजको पढाइ बीचैमा छाडेर व्यापारमा लागेको उल्लेख छ ।

एडेल्सोनले भेन्डिङ मेसिनहरू, अखबारमा विज्ञापन बिक्री, साना व्यापारहरू सञ्चालन र व्यापारसम्बन्धी कार्यक्रमहरू सञ्चालन गरी सम्पत्ति आर्जेका हुन् । उनको सम्पत्तिको प्रमुख स्रोत क्यासिनो व्यापार नै हो । ५५ वर्ष पुगेपछि बल्ल उनी यो व्यापारमा लागेका हुन् । एडेल्सोनले विश्वव्यापी ठूलो मन्दीका क्रममा लगभग आफ्नो सबै रकम गुमाएका थिए । उनले हरेस चाहिँ खाएनन् । अर्को वर्ष त्योभन्दा बढी कमाउन उनी सफल भए ।

‘फोब्र्स’ का अनुसार अहिले उनी विश्वकै सबैभन्दा ‘ठूलो’ क्यासिनो कम्पनी ‘लस भेगास स्यान्ड’ चलाउँछन् । यति मात्रै हैन, अमेरिकाका सबैभन्दा ठूलो राजनीतिक चन्दा दातासमेत बनेका छन् । ‘बिजनेस इन्साइडर’ का अनुसार हाल उनको कुल सम्पत्ति ३८ दशमलव १ अर्ब अमेरिकी डलर छ ।

‘फोब्र्स’ को आजको मितिमा उनको कुल सम्पत्ति ३३ दशमलव ३ अर्ब अमेरिकी डलर रहेको उल्लेख छ ।

व्यापारमा प्राप्त हुने उपलब्धिहरूलाई उद्यमीको प्रेरणाका रूपमा लिने उनी किशोरावस्था नटेक्दै व्यापारमा हात हालेर सफलता प्राप्त गरे । उनको यो कदम धेरै किशोरका लागि उदाहरणीय हुन सक्छ । आफूसँग ठूलो रकम नभए पनि उनले जुन आँट देखाए, धेरैका लागि प्रेरणा बन्न सक्छ ।

व्यापारमा उनको काकाको ठूलो हात छ । काकाबाट दुई सय डलर सापटी लिएर व्यापारमा लागेका थिए । यो सापटी उनले बोस्टनमा समाचारपत्रहरू बेच्ने लाइसेन्स खरिदका लागि लिएका थिए । पछि उनले १६ वर्ष उमेरमा पनि क्यान्डी (भेन्डिङ मेसिनको व्यापार थाल्नका लागि फेरि काकालाई सापटीका लागि गुहारे । त्यसताका उनीले १० हजार डलर सापटी पाए । आफ्नो व्यापार जारी राखेकै बेला उनले न्युयोर्कको सिटी कलेजमा नाम लेखाएका थिए । पढाइ भने पूरा गर्न सकेनन् । उनी ट्रेड स्कुलमा पनि पढ्न गएका थिए ।

त्यहाँ असफल भएपछि उनी एक जना कोर्ट रिपोर्टर बन्न पुगे । पछि सेनाको जागिरे पनि भए । उक्त जागिरबाट अवकाश पाएपछि उनले टवायलेटरी किट बेच्ने व्यवसाय स्थापना गरेका थिए । पछि ‘डी–आइस–इट’ नामक अर्को व्यवसाय पनि सुरु गरे, जसले जमेको विन्डसिल्डलाई सफा गर्नका लागि एउटा रासायनिक स्पे बेच्ने गर्थ्याे ।

सन् १९६० ताका दशकमा उनले एउटा चार्टर टुर्स व्यापार पनि थालेका थिए । यो व्यापारले उनलाई एक जना करोडपति व्यक्तिको सूचीमा उभ्याइदियो । ३० वर्ष उमेर ताका उनले दुई पटक सम्पत्तिमा वृद्धि र घाटा दुवै बेहोरेका थिए । जे होस् श्रम, मिहिनेत र लगनशीलताले उनी धनाढय बन्न सफल भएका छन् । एडेल्सोनले आफ्नो जीवनमा ५० वटा जति आफ्नै बिजनेस सञ्चालनमा ल्याए । यो कारणले उनी एक जना शृंखलाबद्ध व्यापार गर्ने उद्यमीका रूपमा पनि स्थापित भए ।

सन् १९७० ताका उनी एक जान आफ्ना सहयोगीसँग मिलेर कम्प्युटर ट्रेड सो ‘कमडेक्स’ को विकास गरेका थिए । खासगरी कम्प्युटर उद्योगलाई बढावा दिनका लागि उक्त सोको विकास गर्न थालेको झन्डै नौ वर्षपछि बल्ल पहिलो पटक त्यो देखाइएको थियो । उक्त प्रिमियर कम्प्युटर ट्रेड सोले उनलाई थप सफलता प्राप्त भयो ।

सन् १९९५ मा ‘कमडेक्स’ सोज जापानको सफ्ट बैंक कर्पोरेसनलाई ८ सय ६२ मिलियन अमेरिकी डलरमा बेचेका थिए । उनले त्यसबाट पाँच सय मिलियन डलर हात पारेका थिए ।

त्यसअघि सन् १९८८ मा एडेल्सोन र उनका साथीले लस भेगासमा स्यान्ड्स होटल र क्यासिनो खरिद गरेका थिए । त्यही होटलमा सञ्चालित क्यासिनोले उनको अर्बपति बन्ने मार्ग प्रसस्त गरेको थियो । उनी व्यापारमा लाग्नेहरूलाई सुझाव दिन्छन्, ‘तपाई एउटा दृष्टि बनाउनुस्, त्यसलाई पहिचान गरी अगाडि बढ्नुस्, सफलता अवश्य पाउनुहुनेछ ।’

एडेल्सोन यहुदी संगठनलाई सबैभन्दा धेरै दान गर्नेमध्येका एक हुन् । युवा यहुदीहरूलाई इजराइलको भ्रमण गराउँदै आएको ‘बर्थराइट’ लाई उनले ४ सय १० मिलियन अमेरिकी डलर दिइसकेका छन् । उनी यो वर्ष ‘फोब्र्स’ को ४ सय जना सर्वाधिक धनाढयहरूको सूचीमा १५ औं र अर्बपतिमा २१ औं स्थानमा छन् । २०१६ मा विश्वका शक्तिशाली व्यक्तिहरूमा उनी ७२ औं स्थानमा थिए ।

(एजेन्सीहरू)

प्रकाशित : मंसिर २२, २०७५ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?