पाँच महिनामा एक खर्बले घट्यो सेयरको मूल्य 

नेप्से हालसम्मको उच्च विन्दु १ हजार ८ सय ८१ विन्दुमा पुग्दाको तुलनामा सेयर बजारको आकार अहिले करिब साढे ७ खर्बले खुम्चिएको छ 
यज्ञ बञ्जाडे

काठमाडौँ — चालु आर्थिक वर्षको पाँच महिनामा सेयरधनीको सम्पत्ति करिब १ खर्ब रुपैयाँले घटेको छ । गत साउनदेखि मंसिर २० सम्म सेयर मूल्यमा आएको गिरावटका आधारमा यस्तो विश्लेषण गरिएको हो ।

पाँच महिनामा एक खर्बले घट्यो सेयरको मूल्य 

उक्त अवधिमा सेयर बजारको आकार (कुल बजार पुँजीकरण) करिब १ खर्ब रुपैयाँले घटेको छ । यसको अर्थ लगानीकर्ताको सम्पत्ति घटेको भन्ने हो ।

गत असारमा १४ खर्ब ३५ अर्ब रुपैयाँ कायम रहेको कुल बजार पुँजीकरण (स्टक एक्सचेन्जमा सूचीकृत सबै सेयरको बजार मूल्य) बिहीबार (मंसिर २० मा) सम्म आइपुग्दा १३ खर्ब ३७ अर्ब रुपैयाँमा झरेको छ ।

गत असारको तुलनामा हालको पुँजीकरण ९८ अर्ब रुपैयाँले कम हो । नेप्से परिसूचक हालसम्मकै उच्च विन्दु (१ हजार ८ सय ८१ विन्दु) र त्यतिबेलाको बजार पुँजीकरणसँग तुलनामा अहिले सेयर बजारको आकार करिब ७ खर्ब ३४ अर्ब रुपैयाँले खुम्चिएको छ । ०७२ साउन १२ गते नेप्से परिसूचक १ हजार ८ सय ८१ विन्दुमा पुग्दा कुल बजार पुँजीकरण २० खर्ब ७० अर्ब ९९ करोड रुपैयाँ पुगेको थियो ।

नेप्सेमा सूचीकृत कुल सेयरलाई ती सेयरको पछिल्लो बजार मूल्यले गुणा गरेर कुल बजार पुँजीकरण निकालिन्छ । यसकारण कुल बजार पुँजीकरणलाई सेयर बजारको आकार भनिन्छ । सेयर मूल्य बढेको अवस्थामा कुल बजार पुँजीकरण पनि बढ्छ । घटेको अवस्थामा पुँजीकरण पनि घट्छ । हाल सेयर बजार घटदो क्रममा रहेकाले कुल बजार पुँजीकरण पनि निरन्तर रूपमा घटिरहेको देखिन्छ ।

स्थानीय तह र प्रदेशको चुनाव शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि सेयर बजार पनि बढ्ने अपेक्षा गरिएको थियो । त्यसपछि स्थायी सरकार पनि बन्यो । मुलुकको प्राथमिकता आर्थिक संवृद्धि भएको घोषणा पनि भयो । सेयर बजारमा अपेक्षाकृत तरंग आउन सकेन । बजारले निरन्तर अपेक्षा विपरीत प्रवृत्ति देखाउन थाल्यो । त्यसपछिका अधिकांश दिन बजार घटिरहयो । त्यो क्रम अहिले पनि जारी छ ।

बैंकिङ क्षेत्रमा लगानीयोग्य रकमको अभाव, त्यसबाट सिर्जित ब्याजदर वृद्धि, बजारमा ठूलो संख्यामा सेयरको आपूर्ति सेयर बजार घट्नुका प्रमुख कारण बने । यसबीचमा चर्किएको मूल्य अभिवृद्धि कर (भ्याट) विवाद र पुँजीगत लाभकर विवादले पनि त्यतिबेला सेयर बजारलाई उकालो लाग्नबाट रोके ।

चालु आर्थिक वर्षको बजेट वक्तव्यबाट भ्याट विवादको समस्या सुल्झिए पनि लाभकर विवाद अझै टुंगिएको छैन । उल्लिखित कारणले चालु आर्थिक वर्षको सुरुदेखि नै सेयर बजारले उँभो लाग्न सकेन, बरु उँधो मात्र लागिरहयो ।

यतिबेला बैंक तथा वित्तीय संस्थाले फेरि निक्षेपको ब्याज बढाएका छन् । ब्याजदर वृद्धिको प्रत्यक्ष असर सेयर बजारमा पर्छ । सामान्यतया ब्याजदर वृद्धि र सेयर बजारबीच उल्टो सम्बन्ध रहन्छ । यसको अर्थ बैंक ब्याजदर बढदा नेप्से घटछ र घटदा बजार बढ्छ भन्ने हो ।

जोखिमका हिसाबले सेयर बजारको तुलनामा बैंक निक्षेप सुरक्षित मानिन्छ । यसकारण ब्याजदर बढेको अवस्थामा पैसा बैंकमा राख्दा जोखिमबिना राम्रो प्रतिफल पाइने भएकाले सेयर बजारमा नकारात्मक प्रभाव पर्ने गरेको हो ।

बजार घटदा सेयर धितोमा कर्जा लिएका लगानीकर्तालाई बैंकहरूले मार्जिन बुझाउन बोलाउने गरेका छन् । ‘यसले प्यानिक सेलिङ बढाएको छ,’ एक लगानीकर्ताले भने, ‘मान्छेले आत्तिएर सेयर बेच्दा बजार झनझन् ओरालो लागेको छ ।’

सेयर बजारको साप्ताहिका कारोबार विश्लेषण गर्दा गत साताको तुलनामा यो साता कारोबार रकम झन्डै दोब्बरले बढेको छ । गत साता करिब साढे १ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा यो साता यो सूचक बढेर २ अर्ब २२ करोड पुगेको छ ।

पाँच दिनको कारोबारमा १ सय ८४ कम्पनीका ७३ लाख ४७ हजार कित्ता सेयर किनबेच भए । उक्त अवधिमा कारोबारमा आएका सबै समूह (उपसमूह) का परिसूचक घटे ।

प्रकाशित : मंसिर २३, २०७५ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?