कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

खुम्बुमा पर्यटकसँग अवैध असुली

कुम्भराज राई

ओखलढुंगा — सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका क्षेत्रभित्र पर्यटकसँग कोठा भाडाबापत भन्दै अवैध रकम असुल्ने गरिएको छ । एक जना विदेशी पर्यटकबाट ५ सयको दरले अवैध रकम असुली गर्ने गरिएको हो ।

खुम्बु होटल एसोसिएसनको नाममा रसिद काट्दै अवैध असुली गर्न थालिएको महिनाभन्दा बढी भएको छ । होटलमा बसेबापतको रकमभन्दा बाटोमा ‘बुथ’ बनाएर छुट्टै शुल्क उठाउने गरिएको छ ।


आधिकारिक रूपमा दर्ता नभएको संस्था खुम्बु होटल एसोसिएसनले प्रशासन र स्थानीय तहको अनुमतिबिना रकम असुली गरे पनि उनीहरू माथि कुनै कारबाही भएको छैन ।


उनीहरूले रकम असुली गर्नका लागि नाम्चेभन्दा माथिका क्षेत्रहरूमा बाटाबाटामा बुथ बनाएर बसेका छन् । कतिपय स्थानमा सगरमाथा राष्ट्रिय निकुञ्जको जग्गामा बुथ बनाइएका छन् । फुँगीटाँगा, सोमारे, फेरिचे, लबुचे, दिङबोचे र गोरक्सेपमा बाटोमै बसेर उनीहरूले पर्यटकबाट पैसा असुल्ने गरेको एक पर्यटन कम्पनीका पथप्रदर्शकले बताए ।


‘सशस्त्र द्वन्द्वका बेला माओवादीले चन्दा उठाए झैं शुल्क उठाइरहेका छन्,’ उनले भने, ‘नदिनेलाई थर्काइन्छ । एउटै रुटमा पाँच ठाउँसम्म शुल्क बुझाउँदा एउटा विदेशी पर्यटकले २ हजार ५ सयसम्म तिर्नुपर्छ ।’


शुल्क उठाइएको रसिदमा ‘खुम्बु होटल एसोसिएसन’ लेखिए पनि खुम्बुक्षेत्रका होटलहरूको छाता संगठनका रूपमा नरहेको व्यवसायीहरू बताउँछन् । संस्थाको आधिकारिक व्यक्ति को हो भन्ने कुरालाई गोप्य राखिएको उनीहरूले बताए । केही युवाहरूलाई परिचालित गरी पैसा उठाउने गरिएको छ ।


जुन ठाउँमा पुग्यो त्यहीँका होटल एसोसिएसनको शाखाका लागि भन्दै पैसा उठाउने गरिएको हो ।

उठाइएको रकममध्येबाट त्यस क्षेत्रका होटलले ३० प्रतिशत पाउने र बाँकी एसोसिएसनले लिने भन्ने सुरुमा सहमति भए पनि कार्यान्वयनमा नआएपछि केही होटल व्यवसायी रुष्ट बनेका छन् ।


‘यसले उल्टै हामीलाई बद्नाम बनाएको छ ।’ एक होटल व्यवसायीले नाम गोप्य राख्न अनुरोध गर्दै भने, ‘पर्यटक तर्सिएर झन् नआउने अवस्था सिर्जना भइसक्यो ।’


जिल्ला प्रशासन कार्यालयले अवैध असुलीबारे सुन्ने बित्तिकै गाउँपालिकालाई त्यस्ता काम रोक्न निर्देशन दिएको छ ।


गत कात्तिक २५ मै पत्राचार गरी दोषीलाई पक्राउ गरी कारबाही गर्न निर्देशन दिइएको थियो । उक्त निर्देशन कार्यान्वयन भएको छैन । गाउँपालिका प्रमुख निमदोर्जी शेर्पासँग शनिबार टेलिफोन सम्पर्क हुन सकेन । उपप्रमुख टसील्हामु शेर्पासँग कुरा गर्दा उनले यस विषयमा एकपटक सुने पनि विस्तृत जानकारी नभएको बताइन् ।


‘एकपटक मिडियाबाटै मैले यो कुरा थाहा पाएको हुँ,’ उनले भनिन्, ‘अहिले के भइरहेको रहेछ म बुझेर जानकारी गराउँला ।’ उनले आफू काम विशेषले राजधानी आएकाले सबै जानकारी नभएको बताइन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले यस विषयमा गुनासो आएपछि प्रशासनले परिपत्र गरेको र गाउँपालिकाले सबै वडामार्फत जानकारी गराएपछि रोकिएको बताए ।

प्रकाशित : मंसिर २४, २०७५ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?