कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

फोरजीको फन्को

टेलिकमको भविष्य र आम्दानीसँग जोडिएको फोरजी विस्तारको फाइल अख्तियारद्वारा १० महिनासम्म रोकेर बल्ल प्रक्रिया अगाडि बढाउन मन्त्रालयलाई पत्राचार
विजय तिमल्सिना

काठमाडौँ — नेपालमा ठूला आयोजना समयमै पूरा किन हुँदैनन् ? भन्ने उदाहरण खोज्न कहीँ जानु पर्दैन, दुई वर्षदेखि रुमल्लिइरहेको नेपाल टेलिकमको फोरजी विस्तार योजनालाई हेर्दा पुग्छ ।

फोरजीको फन्को

२०७३ कात्तिक १६ गते फोरजी एलटीई विस्तार सञ्चालन स्वीकृति पाएको यो योजनाको फाइल अख्तियार हुँदै अहिले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा छ ।

दूरसञ्चार प्राधिकरणले फोरजी सेवा सञ्चालन गर्ने तयारी २०७३ कात्तिक १६ गतेबाट सुरु गरेको हो । त्यसको दुई महिनाभित्रै अर्थात् २०७३ पुस १७ गते उपत्यका र पोखरामा विस्तार पनि गर्‍यो । २०७४ कात्तिक २२ देशैभर विस्तारको अर्को टेन्डर आह्वान गर्‍यो ।

त्यसमा बाधक बनिदियो अख्तियार दुरुपयोग अनुसन्धान अयोग । फोरजी विस्तारको टेन्डर दर्ताको प्रक्रियामा अख्तियारले करिब १० महिना फाइल अनुसन्धानका लागि भन्दै नियन्त्रणमा राख्यो ।

अख्तियारले बल्ल गत कात्तिक ७ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पत्र लेख्दै फोरजी विस्तारको प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ । टेलिकमको भविष्य र आम्दानीसँग जोडिएको फोजी विस्तारको टेन्डरसम्बन्धी कागजात अख्तियारले कुनै निष्कर्ष ननिस्कने अनुसन्धानका लागि १० महिनासम्म किन राखिरहयो ? आयोगका पूर्वप्रमुख सूर्यनाथ उपाध्याय भन्छन्, ‘अख्तियारले यति लामो समय लगाउनु गलत भयो ।’

आयोगले महत्त्वपूर्ण आयोजनाको छानबिन गर्दा छिटो अनुसन्धान सक्नुपर्ने उनको तर्क छ । ‘अनुसन्धानमा ढिला गरे आयोजनाहरू समयमै नसकिँदा आयोगमाथि दोष लाग्छ,’ उनले भने । फोरजी विस्तारको फाइल अहिले अख्तियारबाट मन्त्रालयमा आइपुगेको छ ।

दुई साताभित्रै फोरजी विस्तारको सम्झौता हुने सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बताए । फोरजी टेन्डर आह्वान प्रक्रियामा केही कमीकमजोरी रहेको र त्यसलाई सच्याउँदै विस्तारको जिम्मेवारी दिने गत बिहीबार सरकारका निर्णयहरू सार्वजनिक गर्ने क्रममा उनले बताए ।

आफ्नो सरकार गठन हुनुअघि नै फोरजी विस्तारको प्रक्रिया सुरु भएपछि फाइल अख्तियार पुगेको भन्दै आफ्ना कारणले टेलिकमको सेवा विस्तारमा ढिलाइ नभएको उनको प्रस्टोक्ति छ । नेपाल टेलिकम नेपालमा फोजी सेवा सुरु गर्ने पहिलो दूरसञ्चार कम्पनी हो ।

यसले २०७३ मंसिरमा उपत्यका र पोखरामा एकैचोटि फोरजी सेवा सुरु गरेको थियो । नेपाली दूरसञ्चार बजारमा टेलिकमको सबैभन्दा ठूलो प्रतिस्पर्धी एनसेलले भने २०७४ जेठबाट फोजी सेवा सुरु गरेको थियो । यो आयोजनामा पनि त्यही भएको छ, जुन नेपालमा सञ्चालित सबै ठूला परियोजनामा हुन्छ । सबैले गरेका काम सही हुन्छन् । गल्ती कसैले गरेको हुन्न, काम पनि केही हुन्न ।

नेपाल टेलिकमले भन्दा ६ महिनापछि सेवा सुरु गरेको एनसेलले फोजी सेवालाई दर्जनौं सहरमा विस्तार गरिसकेको छ । उसका फोरजी सेवा लिने ग्राहक मात्रै साढे १२ लाखभन्दा बढी छन् । नेपाल टेलिकमको सेवा भने उपत्यका र पोखरामा सीमित भएकाले उसका ग्राहक ६ लाखमा सीमित छन् ।

आफ्नो आम्दानी बढाउनका लागि समेत टेलिकम फोजी सेवामा नगई हुँदैन । यसअघि नेपाली दूरसञ्चार सेवा प्रदायकको आम्दानीको ठूलो हिस्सा विदेशबाट हुने टेलिफोन कल पनि हो । एक देशबाट अर्को देशमा फोन गर्दा महँगो शुल्क लाग्ने भएकाले यसैबाट नेपालका टेलिकम कम्पनीले ठूलो आम्दानी गर्दै आएका थिए ।

इन्टरनेट र सामाजिक सञ्जालको बढोत्तरीका कारण यस्ता कलहरूको संख्या र त्यसबाट प्राप्त हुने आम्दानी घटेको छ । हिजोआज देश–विदेशमा रहेकाहरूले सोझै नम्बरमा कल गर्नुभन्दा भाइबर, ह्वाट्सएप, म्यासेन्जरबाट कुराकानी गर्न थालेका छन् ।

प्राविधिक भाषामा ओभर दि टप (ओटीटी) भनिने यस्ता सेवाका कारण नेपाल मात्रै हैन संसारभरका सेवा प्रदायकको आम्दानीमा घटदो छ । बरु दूरसञ्चार सेवा प्रदायकले आम्दानीको नयाँ बाटो पहिल्याएका छन्– डाटा ।

आफ्ना ग्राहकको मोबाइलमा इन्टरनेट सेवा पुर्‍याई प्रयोगका लागि प्रोत्साहित गरेर आम्दानी बढाउने ध्याउन्न सबैजसो टेलिकम कम्पनीहरूको हुन्छ । नेपाल टेलिकम भने यो सुविधा विस्तारका लागि अन्तर सरकारी निकायहरूबीचको अवरोध, राजनीतीकरणको चंगुलमा फसेको छ ।

गत आर्थिक वर्ष टेलिकमको कुल आम्दानी ४५ अर्बभन्दा बढी छ । सेवाबाट हुने आम्दानी मात्रै ३९ अर्ब छ । कम्पनीको आर्थिक प्रतिवेदनअनुसार गत आवमा खुद नाफा मात्रै करिब १६ अर्ब भयो । नेपालमा सबैभन्दा धेरै कर तिर्ने कम्पनीमा पनि पर्छ । १९ अर्ब रुपैयाँको फोजी परियोजना भने चर्चा र विवादमा सीमित भएको छ ।

प्रतिस्पर्धी कम्पनी एनसेलले दर्जनौं सहरमा फोजी विस्तार गरिसक्दा उसको सेवा सीमित छ । थ्रीजीभन्दा कयौं गुणा द्रुत गतिमा चल्ने भएकाले उपभोक्ता उसको प्रतिस्पर्धीको सेवातर्फ आकर्षित भइरहेका छन् ।

देशभर एकै पटक फोजी एलटीई सेवा विस्तार गर्ने योजना साथ महिनौंको अध्ययन र तयारीपछि नेपाल टेलिकमले गत आर्थिक वर्षमा सेवा विस्तारको टेन्डर आह्वान गरेको थियो ।

कम्पनीले यो टेन्डरलाई कोर नेटवर्क र आरएनएन (र्‍यान) गरी दुई भागमा विभाजन गरेको छ । दुवै टेन्डरमा चिनियाँ कम्पनीहरूको चासो बढी देखियो । सामान्य भाषामा बुझ्दा रेडियो एक्सेस नेटवर्क (र्‍यान) ले प्रयोगकर्ताको डिजाइसलाई मुख्य टावरहरूसँग जोड्ने काम गर्छ । कोर नेटवर्क भने सेवा प्रदायकको आफ्नो नेटवर्कबीच हुने संयोजन हो ।

कोर नेटवर्क विस्तारका लागि चिनियाँ कम्पनी हुवावे, जेटीई र सिंगापुरको मिभिनियरले प्रस्ताव दर्ता गराए । र्‍यानका लागि जेटीई र सीसीएसआईले प्रस्ताव हालेका थिए ।

टेलिकम स्रोतले दिएको जानकारीअनुसार कम मूल्यको प्रस्तावका कारण कोर नेटवर्क विस्तारका लागि जेटीई र र्‍यानका लागि सीसीएसआईले कामको जिम्मा पाउने सम्भावना छ । सम्झौता भएको २६ महिनामा काम सक्ने गरी टेलिकमले टेन्डर आह्वान गरेको थियो ।

मन्त्री गोकुल बाँस्कोटा भने यो काम एक वर्षमै सकाउने योजना बनाइरहेको बताउँछन् । ‘एक वर्षमा सक्ने गरी सम्झौता हुन्छ,’ उनले भने, ‘फोजी विस्तारको जिम्मा कसलाई दिने दुई साताभित्र टुंगो लागिसक्छ ।’

प्रकाशित : मंसिर २४, २०७५ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?