२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

कन्काई पुलमा पप्पुको विकल्प खोजिँदै

अर्जुन राजवंशी

दमक — कन्काई नदीमा सात वर्षमा पनि पुल निर्माण गर्न नसकेको भन्दै हुलाकी राजमार्ग आयोजनाले पप्पु कन्स्ट्रक्सनको विकल्प खोजेको छ । पप्पुले चार वर्षमा निर्माण गरिसक्नुपर्ने पुलको काम ७ वर्षमा आधा पनि पूरा गरेको छैन ।

पुल निर्माणमा चरम ढिलाइ गरेको भन्दै हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीले पप्पुको विकल्पमा प्रक्रिया अघि बढाएको छ । पटकपटकको लिखित तथा मौखिक जानकारीसमेत बेवास्ता गरेपछि योजना कार्यालयले पप्पुलाई दिएको तीन करोड पेस्की बैंकबाट तानेको छ ।


पप्पुले अहिलेसम्म सम्झौता रकमको ३५ प्रतिशत निकासा लिएको कार्यालयले जनाएको छ । पप्पुलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएपछि कनकाई नदीको पुल महादेव–खिम्ती जेभीले निर्माणको जिम्मा लिएको छ ।


कनकाइ नदीमा पुल निर्माणको ठेक्का पप्पु कन्स्ट्रक्सन र महादेव–खिम्ती जेभीले संयुक्त रूपमा लिएको हो । मुलुकको विभिन्न स्थानमा ठेक्का लिएर योजनाहरू अलपत्र पारेको भन्दै पछिल्लो समय पप्पु कन्स्ट्रक्सनको चौतर्फी विरोध भएको छ ।


‘अहिलेकै अवस्थामा कन्काई नदीमा पुल निर्माण सम्पन्न गर्न पप्पुलाई निकै कठिन देखिन्छ,’ योजना कार्यालयका प्रमुख विजयकुमार महतोले भने, ‘त्यसैले हामीले पप्पुको विकल्प खोजेका हौं ।’ कन्काई पुल निर्माणको ठेक्का लिएका जेभीलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएपछि महादेव–खिम्ती जेभीले पुल बनाउने जिम्मा लिएको महतोले बताए ।


महादेव–खिम्तीलाई पुल निर्माणको जिम्मा दिन आवश्यक प्रक्रियाहरू तत्काल अघि बढाउने महतोले बताए । उक्त पुल निर्माणको ठेक्का सम्झौता ०६८ जेठमा भएको थियो । ०७२ जेठ मसान्तमा निर्माण सम्पन्न गर्नुपर्नेमा पप्पुले अहिलेसम्म ४० प्रतिशत मात्र काम गरेको योजना कार्यालयले जनाएको छ ।


निर्माण कम्पनीको ढिलाइका कारण पुल निर्माणमा आशातीत प्रगति हुन नसकेको कार्यालयका इन्जिनियर नन्दकुमार गुप्ताले बताए । निर्धारित मितिमा काम सम्पन्न नभएपछि ०७२ मा दुई वर्ष म्याद थप भएको थियो । म्याद थप भएको मितिले ०७४ असार मसान्तमा पुल निर्माण सक्नुपर्ने थियो ।


तर, पप्पुले उक्त मितिमा पनि पुल निर्माण सम्पन्न गर्नेबारे कुनै तदारुकता देखाएन । म्याद थप गर्दा समेत काम पूरा नगरेपछि निर्देशनालयले अहिले म्याद थप गरेको छैन । ‘पुल निर्माणको जिम्मा लिन लागेको महादेव–खिम्ती जेभीको माग र फिल्डको अवस्था हेरेर अन्तिम पटक म्याद थप गर्ने तयारीमा छौं,’ महतोले भने, ‘आशा गरौं अब, कन्काई पुलको निर्माण कार्य चाँडै सकिनेछ ।’ महादेव–खिम्ती जेभीले मंसिर अन्तिमबाट पुल निर्माणको काम थाल्ने भनी प्रतिबद्धता जनाएको महतोले बताए ।


पुल हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत ३४ करोड ९ लाख ९० हजारमा ठेक्का लागेको हो । ७ सय २४ मिटर लम्बाइको उक्त पुल निर्माण सम्पन्न भए नेपालकै सबैभन्दा लामो पुल बन्नेछ । जिल्लामा हुलाकी राजमार्ग निर्माणका लागि कन्काई नदीको पुल समयमै निर्माण सम्पन्न हुन महत्त्वपूर्ण छ ।

प्रकाशित : मंसिर २५, २०७५ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?