कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

हेटौंडा सिमेन्ट नाफा गर्दै

प्रताप विष्ट

हेटौंडा — लामो समयदेखि घाटामा सञ्चालन हुँदै आएको हेटौंडा सिमेन्ट उद्योग विगत चार वर्षदेखि मुनाफा गर्न सफल भएको छ । 

उद्योगले आव ०७४/०७५मा २३ करोड ५० लाख ५६ हजार रुपैयाँ मुनाफा गरेको छ । त्यसअघिको वर्ष करिब २२ करोड रुपैयाँँ उद्योगले नाफा गरेको थियो । ‘चालु आवमा ३५ करोड रुपैयाँभन्दा बढी नाफा गर्ने लक्ष्य लिएका थियौं,’ उद्योगका महाप्रबन्धक प्रेमशंकर सिंहले भने, ‘गत आवमा नै ३० करोडभन्दा बढीको नाफा हुने थियो । नाकाबन्दीका कारणले समस्या भोग्नुपरेको थियो । नाकाबन्दीका कारण कोइला भारतबाट आयात गर्न समस्या परेकाले उद्योग ४५ दिन बन्द भएको थियो । उद्योग डेढ महिना बन्द हुँदा पनि मुनाफा झन्डै २४ करोड रुपैयाँ गर्न सफल भयौं ।’


विगतका वर्षमा दैनिक ३ सय ५० टन मात्र क्लिंकर उत्पादन हुन्थ्यो, अहिले झन्डै साढे सात सय टनभन्दा बढी हुन्छ । उद्योगले आव ०७४/०७५ मा २१ लाख २० हजार ८ सय २५ बोरा सिमेन्ट उत्पादन गरेर बिक्री गरेको थियो । अघिल्लो आवमा २० लाख ९ हजार बोरा सिमेन्ट उत्पादन गरेको थियो ।


बुधबारदेखि हेटौंडा सिमेन्ट उद्योग ३३ वर्षमा प्रवेश गर्छ । ३३ वर्षको अवधिमा सबैभन्दा बढी मुनाफा गत आवमा भएको हो । उद्योगमा ४ सय जना कर्मचारी र कामदारहरू छन् । ‘उद्योगमा कार्यरत सबैको सक्रियताका कारणले उद्योगले मुनाफा गर्न सफल भएको छ,’ उद्योग सञ्चालक समितिका अध्यक्ष रघुरमण न्यौपानेले भने, ‘सिमेन्टको प्रतिस्पर्धाको वजारमा खरोसंग उत्रिन सफल भएका छौ ।’


हेटौंडा सिमेन्टको अहिले एक बोरा सिमेन्टको उत्पादन लागत ६ सय ८१ रुपैयाँ पर्छ । सिमेन्टका मूल्य प्रतिबोरा ८ सय ४७ रुपैयाँ रहेको छ । हेटौंडा नगरपालिका ९ लामसुरेमा रहेको उक्त उद्योगको निम्ति दैनिक एक हजार टन चुनढुंगाको आवश्यकता पर्छ । उद्योगको दैनिक १६ हजार बोरा सिमेन्ट उत्पादन गर्ने क्षमता छ । उद्योगले अहिले उत्पादन क्षमताको ५५ प्रतिशतभन्दा बढी उपयोग गर्न सकेको छैन ।


उद्योगले पुराना मेसिनहरूको स्तरोन्नति गरी क्षमता विस्तार गर्न सुरु गरेको छ । मेसिनहरूको स्तरोन्नतिका लागि उद्योगले गत आव २०७४/७५ मा ४५ करोड रुपैयाँ सञ्चित गरेर राखेको छ । ‘स्तरोन्नतिका लागि थप ५५ करोड रुपैयाँ चालु आर्थिक वर्षमा पनि जोहो गर्ने योजनामा छौं,’ सिंहले भने, ‘आगामी आर्थिक वर्षमा झन्डै १ अर्ब खर्चिएर सिमेन्ट उद्योगको क्षमता विस्तार गरी उत्पादन बढाउँछौं ।’


हाल दैनिक ७ सय ५० टन सिमेन्ट उत्पादन भइरहेको छ । क्षमता विस्तार गरी दैनिक २ हजार टनसम्म सिमेन्ट उत्पादन गर्ने उद्योगको लक्ष्य छ । धादिङस्थित जोगीमारा, मकवानपुरको आमभन्ज्याङस्थित मजुवा, भैंसे र ओखरे खानीबाट चुनढुंगा ल्याएर उद्योगले सिमेन्ट उत्पादन गरिरहेको छ । मजुवा तथा जोगीमाराको उच्चगुणस्तरको चुनढुंगा नमिसाइकन उत्पादन गरेको सिमेन्ट गुणस्तरहीन हुने गर्छ ।

प्रकाशित : मंसिर २६, २०७५ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?