कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

सिन्धुबाट राजधानीमा दुई करोडको दूध

अनिश तिवारी

सिन्धुपाल्चोक — भूकम्प गएको ४४ महिनापछि बल्ल मेलम्ची क्षेत्रको दुग्ध व्यवसायले गति लिन थालेको छ । भूकम्पले गर्दा हवात्तै घटेका नगरको गाउँ, बजार क्षेत्रमा पशुपालक कृषक बिस्तारै फर्किएपछि दुग्ध व्यवसाय पनि उठ्न थालेको हो ।

भूकम्पबाट विस्थापित पशुपालक धमाधम पुन: जुट्न थालेपछि अत्यधिक दूध संकलन हुन थालेको २७ वर्षदेखि दूध संकलन गरिरहेका इन्द्रमणि दाहालले बताए । ‘पहिलेभन्दा दुग्ध व्यवसायले क्रमश: फडको मार्दै गइरहेको छ, दूध उत्पादक फर्किंदै छन्,’ इन्द्र दुग्ध डेरी उद्योगका प्रोप्राइटर दाहालले भने ।


भूकम्पलगत्तै ६० कृषक मात्रै रहेकामा अहिले आफ्नो डेरीमा दूध ल्याउने कृषक १ सय २० पुगेको उनले सुनाए ।


इन्द्र दुग्ध डेरीबाट मात्रै १ हजार ४ सय लिटर दूध दैनिक काठमाडौं पुग्छ । ‘मेलम्ची नगरबाट मात्रै मासिक रूपमा झन्डै २ करोड बराबरको दूध राजधानी पुग्ने गरेको छ,’ दाहालले भने । मेलम्ची क्षेत्रको सबै स्थानीय बजारमा खपत भएर १ हजार ८ सय लिटर दूध राजधानी पुग्ने गरेको सिन्धु मेलम्ची दूध संकलन केन्द्रका संकलक शरण चालिसे सुनाउँछन् । दुग्ध व्यवसाय कृषक र संकलकको पहलमा फस्टाए पनि स्थानीय तहले अपेक्षाअनुसारको खास योजना नल्याएको उनको गुनासो छ ।


२०४८ सालबाट साबिकको शिखरपुर ४ दुग्ध संकलन केन्द्र स्थापना हुँदा चालिसे उत्साहित देखिए । ‘त्यसबेला कृषकले ज्यामिरे र शिखरपुरको दूध संकलन गरिन्थ्यो,’ उनले भने । केही कृषकको प्रयासमा ०५४ सालबाट मेलम्ची बजारमा दुग्ध सहकारी दर्ता गरेर करिब ६ गाविसको दूध संकलन गर्ने गरिएको थियो ।


‘कृषकलाई प्रोत्साहन गर्नका लागि कुनै कार्यक्रम गरेको देखिँदैन्, कुनै नयाँ अवधारणायुक्त कार्ययोजना ल्याएको छैन,’ चालिसेले भने । मेलम्ची नगरको मेलम्ची बजारमा दर्जनौं निजी दुग्ध फर्म र सहकारी सञ्चालनमा छन् । बाहुनेपाटीमा २ हजार, भोटेचौर २ हजार ५ सय, सिपाघाट १ हजार ५ सय लिटर दूध उत्पादन हुने गरेको छ ।


हेलम्बु ४ स्थित ग्याल्थुमा रहेका निजी चिलिङ सेन्टरबाट दैनिक १ हजार २ सय लिटर दूध आउने गरेको छ । मेलम्ची बजारको इन्द्रावती दूध संकलन केन्द्र दुई हजार लिटर दूध जम्मा हुने गर्छ । पाँच वर्षदेखि व्यावसायिक रूपमा दुग्ध व्यवसायमा लागेका मेलम्ची नगरपालिका शिखरपुर गोविन्द बस्नेतले दुग्ध संकलक र कृषकले विभिन्न आर्थिक समस्या व्यहोर्नु परेको जनाए ।


‘दूध पठाउन सवारी खर्च, कामदार खर्चदेखि चेकजाँच रासायनिक परीक्षणका लागि ठूलो रकम खर्चनुपर्छ,’ उनले भने ।


आधुनिक प्रविधि र पशु बिमा, औषधिलागयतका भ्याक्सिन व्यवस्थाजस्ता कार्यक्रम ल्याउने तरखरमा रहेको मेलम्ची नगरपालिकाले जनाएको छ । ‘दूध संकलक र आम कृषकलाई सुविधा पुग्ने कार्यक्रम बनाइरहेका छौं,’ उनले भने । पशु सुत्केरी भत्ता, गोठ सुधार कार्यक्रम ल्याउन जरुरी भएकाले यसबारे अध्ययन थालिएको उनको कथन छ ।

प्रकाशित : मंसिर २७, २०७५ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?