२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

पहिलोपटक १० लाख पर्यटक

सुरज कुँवर

काठमाडौँ — विदेशी मुद्राको सबैभन्दा ठूलो स्रोत मानिने पर्यटन उद्योगमा एउटा खुसीको खबर आएको छ । चालु अंग्रेजी वर्षको पहिलो ११ महिना नेपाल घुम्न आउने विदेशी पर्यटकको संख्या १० लाख नाघेको छ ।

पहिलोपटक १० लाख पर्यटक

हालसम्म सबैभन्दा धेरै पर्यटक गत वर्ष आएका थिए । सन् २०१७ मा ९ लाख ४० हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए । गत वर्षको पहिलो ११ महिनाको दाँजोमा यस वर्षको पर्यटक वृद्धिदर १६ दशमलव ९ प्रतिशत रहेको छ ।

अध्यागमन विभाग तथा पर्यटन बोर्डले जारी गरेको तथ्यांकअनुसार सन् २०१८ को जनवरीदेखि नोभेम्बरसम्म १० लाख १ हजार ९ सय ३० जना विदेशीले नेपाल भ्रमण गरेका छन् । बोर्डका अनुसार पहिलो ११ महिनामा आउने कम्तीमा ३१ वटा मुलुकमध्ये सर्वाधिक ५ मुलुकहरूमा क्रमश: भारत, चीन, अमेरिका, बेलायत र जर्मनी छन् ।


यो समयमा नेपाल आएका कुल १० लाख पर्यटकमध्ये सबैभन्दा धेरै भारतबाट १ लाख ७८ हजार, चीनबाट १ लाख ३४ हजार, अमेरिकाबाट ८२ हजार, बेलायतबाट ५७ हजार, जर्मनीबाट ३४ हजार थिए । ‘नेपालकै इतिहासमा पहिलो पटक १० लाख पर्यटक आगमन भएको छ,’ नेपाललाई अन्तर्राष्ट्रिय जगतमा प्रचार गर्ने जिम्मा पाएको पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले कान्तिपुरसँग भने, ‘त्यो पनि ११ महिनामा हो । डिसेम्बरसम्मको कुल पर्यटक आगमन १२ लाख हाराहारी पुग्ने प्रक्षेपण गरेका छौं ।’


जोशीका अनुसार यो तथ्यांकमा दक्षिणी सीमावर्ती बजारबाट सडकमार्ग हुँदै आउने भारतीयहरूको तथ्यांक समेटिएको छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आउने भारतीय पर्यटकको संख्या भने यसमा समेटिएको छ । अन्य विदेशीको हकमा काठमाडौं विमानस्थलबाहेक काँकडभिट्टा, वीरगन्ज, बेलिया (भैरहवा), केरुङ र गड्डाचौकी नाकाबाट स्थलमार्ग हुँदै भित्रिने पर्यटकहरूको संख्या पनि यो तथ्यांकमा समेटिएको छ ।


नेपालमा औसत पर्यटकको बसाइ १४ दिन रहेको छ । एक जना पर्यटकले प्रतिदिन ५४ डलर खर्च गर्ने अनुमान गरिन्छ । यस वर्ष डलरको भाउ १ सय १८ सम्म पुगेकाले नेपाली पर्यटन उद्योगको आम्दानी पनि बढेको सीईओ जोशीले बताए । ‘पोखरामा व्यवसायीहरूले यसपटकको जस्तो आम्दानी कहिल्यै नभएको भनिरहेका छन्,’ केही दिनअघि पोखराबाट फर्केका सीईओले भने, ‘यसपटक प्रतिदिनको खर्च ५८ सम्म पुग्ने अनुमान गरेका छौं ।’


नेपाल घुम्न आउने विदेशीहरूले ‘अन–अराइभल भिसा’ प्राप्त गर्छन् । अध्यागमन विभागले प्रतिमहिनाको ३० डलर शुल्क लिन्छ । भारतीय र चिनियाँ पर्यटकहरूलाई भिसालगायत आगमन शुल्क तिर्नु पर्दैन । पछिल्लो पटक चिनियाँ र भारतीय विमानसहित पर्यटकहरूको आगमनमा पनि प्रतिस्पर्धा देखिन्छ । ‘२० वर्षअघि भारतीय पर्यटकका लागि नेपाल हनिमुन र सपिङ गन्तव्यका रूपमा प्रख्यात थियो,’ जोशीले भने, ‘बीचमा भारतीयहरू सिंगापुर, बैंककतिर मोडिए । फेरि एक–दुई वर्षयता उनीहरूको रोजाइमा नेपाल पर्न थालेको छ ।’


बोर्डका अनुसार नेपाल आउने पर्यटकमध्ये अधिकांश साहसिक गतिविधि गर्न आउँछन् । त्यसपछि पशुपति, लुम्बिनी, मुक्तिनाथलगायतमा तीर्थयात्रा गर्न आउनेहरू छन् । यी दुई बाहेक सिटी टुर, जंगल सफारी र कर्पाेरेट मिटिङकै लागि आउनेहरूको संख्या बढेको छ । सन् २०१८ मा पर्यटक बस वा निजी गाडी चढेर आउने भारतीयहरूको संख्या मात्रै १५ लाख नाघ्ने प्रक्षेपण गरिएको छ । ‘गत वर्ष बोर्डरबाट छिर्ने भारतीय पर्यटकहरूको संख्या १२ लाख पुगेको थियो, यस वर्ष यो श्रेणीका भारतीयहरूको संख्या १५ लाख पुग्ने अनुमान गरिएको छ,’ जोशीले भने ।


संयुक्त राष्ट्रसंघ मातहतको विश्व पर्यटन संगठनका अनुसार कुनै एक स्थानको मानिस अर्को स्थानमा पुगेर कम्तीमा एक रात बिताएपछि पर्यटक मानिन्छ । नेपाल सरकारले सन् २०२० लाई भ्रमण वर्ष मनाउने घोषणा गर्दै १५ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । पर्यटन मन्त्रालयले सन् २०१९ मा भैरहवा विमानस्थल सञ्चालनमा ल्याई लक्ष्य हासिल गर्ने दाबी गरेको छ ।

प्रकाशित : मंसिर २७, २०७५ २०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?