१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सुन्तला लिएर किसान कोलकातामा

कोलकाता, भारत — इलाम जिर्मलेको जस्केलो होमस्टेका १५ जना सञ्चालकको टोली मंसिर २१ देखि २३ गतेसम्म भारत कोलकातामा बस्यो । रोङ गाउँपालिकाका उनीहरू सुन्तला महोत्सवमा सहभागी हुन यहाँ आएका थिए ।

सुन्तला लिएर किसान कोलकातामा

५ क्विन्टल सुन्तला लिएर गएका उनीहरू बसुन्जेल जति रमाए, फर्कने बेला भने भारी मन बनाए । महोत्सव उपलब्धिमूलक नभएर निरास भएका भने होइनन् । न त सुन्तला फर्काउनु परेर । आयोजक हिमालयन ओरेन्ज टुरिजम फेस्टिभल (सुन्तला महोत्सव) का प्रमुख राज वसुले दुई वर्षपछि पनि यही सिजनमा यसरी नै आउन जब निम्तो दिए उनीहरूको मन गह्रुँगो भयो ।


महोत्सवमा सहभागी किरण तामाङले भने, ‘सुन्तला फल्यो भने आउँछौं ।’ यो होमस्टे महोत्सव हुन थालेको साल सन् २०१४ देखि नै महोत्सवमा सहभागी हुँदै आएको छ । किरणले गत वर्ष सुन्तला बिक्रीबाट ५ लाख रुपैयाँ आम्दानी गरे । १० रोपनी जमिनमा लगाएको २ सय १२ बोट सुन्तलाले उनको वर्षदिनको घर खर्च पूरै धानेर पनि केही रकम बैंकमा जम्मा गरे ।


त्यसअघिका वर्ष पनि उनले घर खर्चका लागि ऋण खोज्न साहु गुहार्नु वा बैंक धाउनु परेन । अलैंची, होमस्टेको आम्दानी रकम घर खर्चमा लगाएनन् । मंसिर र पुसमा बिक्री गरेको सुन्तलाले वर्षदिन परिवार चल्थ्यो ।


यो वर्ष भने पीडा थपिएको छ । आफ्नो बगानका ८० प्रतिशत सुन्तला सबै मरेका छन् । गाउँका त करिब ९० प्रतिशत मरिसकेका छन् । आफ्नो घरको एक सय दाना मात्रै लिएर सामूहिकता जनाउन महोत्सवमा गएका किरणले भने, ‘मैले टुप्पामा फलेका राम्रो दाना मात्रै ल्याएँ, अरूले पनि त्यसरी नै ल्याउनुभयो र पाँच क्विन्टल पुग्यो ।’ दुई वर्षअघि यहाँबाट १० क्विन्टल लगिएको थियो ।


किरणका अनुसार १९ औं शताब्दीमा गौरी लामाले पहिलो पटक लगाएको विश्वास गरिएको सुन्तला साविक जिर्मले गाविसको १, २ र ३ नम्बर वडाको मुख्य आम्दानी थियो । जिल्ला कृषि विकास कार्यालयले सुन्तलाको पकेट क्षेत्र घाोषणा गरेको थियो ।


एउटा परिवारले वार्षिक १२ लाख रुपैयाँसम्म सुन्तलाबाट आम्दानी गर्थे । नहुनेको पनि तीन–चार लाख रुपैयाँ आम्दानी हुन्थ्यो । किरणले भने, ‘यसले हामीलाई आमाको काम गर्‍यो, यसैको आम्दानीले हुर्कायो, बढायो, पढायो तर अहिले धमाधम मरिरहेको छ, जोगाउन सकिएको छैन ।’ फलेका दाना पनि अमिलो भएको र खानका लागि योग्य नरहेको उनी सुनाउँछन् । मुलुकमा संघीयताको परिवर्तन आए पनि सुन्तला जोगाउने परिवर्तन नआएको अर्का सहभागी लाखबहादुर तामाङ बताउँछन् ।


पहिलेदेखि अहिलेसम्म सरकारका तर्फबाट प्राविधिक ज्ञान नपाएका उनीहरूलाई सुन्तला बगानमा बहुबाली लगाएकाले असर पर्‍यो कि भन्ने लागेको थियो । उनीहरूले सुन्तलाको बोटको फेदमा अलैंची, मकै, कोदोजस्ता बाली लगाएका थिए । बहुबाली नलगाएका किसानको पनि मर्न थालेपछि जलवायु परिवर्तनको असर हो कि भन्ने लागेको छ ।


महोत्सवमै सहभागी धनकुटाको छिन्ताङ, भोजपुरको दिङला र ताप्लेजुङका सहभागीले पनि यस्तै चिन्ता जनाए । दुई वर्षपछि राम्रो उत्पादन हुन्छ र सहभागी जनाउँछौं भन्ने जिम्मा कसैले पनि लिएनन् ।


महोत्सवमा सहभागी उद्योग वाणिज्य संघ ताप्लेजुङका अध्यक्ष तारानाथ घिमिरेले भने, ‘महोत्सवमा ल्याउन सकिने सुन्तला ताप्लेजुङमा अहिले पनि छैन ।’


नेपाली कृषि उपजलाइ महोत्सव स्थलसम्म पुर्‍याउने ग्रिन जेनेरेसन झापाका अध्यक्ष अर्जुन कार्की पहिलाको तुलनामा घटेको बताउँछन् । उनकै नेतृत्वमा यो वर्ष धनकुटा, भोजपुर र इलामबाट सात क्विन्टल सुन्तला महोत्सव स्थलमा लगिएको थियो । जुन अघिल्ला वर्षको तुलनामा तीन दोब्बरले कम हो । ‘पहिला महोत्सव स्थलमा भुइँमा ह्रास लाग्थ्यो, यो वर्ष टेबलमाथि ह्रास लाग्यो,’ सहभागीले भने ।


महोत्सवमै महँगो भारतीय प्रसिद्ध महाकवि रविन्द्र नाथ टैगोर सुन्तला फल्ने सिजनमा पहाडतिर लाग्थे । सुन्तला बगानमै बसेर सुन्तला खान्थे । सुन्तला खानकै लागि पहाड चढ्ने उनको स्मरणमा लगाइने हरेक महोत्सवमा नेपालीभाषी भएको ठाउँका सुन्तलालाई स्थान दिइन्छ ।


भारतको अरुणाचल, सिक्किम, दार्जिलिङलगायत स्थानका सुन्तला ल्याइन्छ । सबैले आआफ्नो स्टलमा प्रदर्शनीका लागि राख्छन् र बिक्री गर्छन् । नेपालका तर्फबाट अर्जुन कार्कीले समन्वय गरेर एउटा टोली लैजान्छन् । यसमा नेपाल सरकारको सहयोग नभएका कारण नेपाली सुन्तला महँगो हुने गरेको छ । महोत्सव स्थलमा नेपाल पर्यटन बोर्डको लोगो भए पनि किसानलाई राहत हुने सहयोग नभएको कार्कीले बताए ।


बोटदेखि भारतको सिलगुडीसम्म किसान आफैंले पुर्‍याउनुपर्छ । महोत्सवमा गएका सहभागीले खाने व्यवस्था आफैंले गर्नुपर्छ । आयोजकले जान र फर्कनका लागि बस र तीन दिन बस्दा सुत्ने व्यवस्था मात्रै मिलाइदिएका हुन्छन् । इलामका किरण सहभागीहरूको खर्चसमेत यसैबाट लिनुपर्ने भएकाले महँगो भएको बताए ।


नेपालमा बिक्री हुने नेपाली रुपैयाँ बराबरको भारतीय रुपैयाँ लिएर बिक्री गरिएको उनले बताए । १ सय रुपैयाँ भारुमा ४ देखि ६ दानासम्म सुन्तला बिक्री गरिएको थियो । अझ आफूहरूले इस्कुससमेत लगेर भेज मम बनाएर बिक्री गरेको र त्यसले खाना पुर्‍याएर सुन्तला सस्तोमा बिक्री गरेको किरण बताउँछन् ।


पूरै सुन्तलामा निर्भर हुने हो भने एक दानाको भारतीय रुपैयाँ ५० रुपैयाँसम्म पर्छ । कृषि पर्यटनका विषयमा सरकारलाई बुझाउन नसकिएका कारण समस्या भएको गुनासो अर्जुनको छ ।

प्रकाशित : मंसिर २८, २०७५ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?