हवाई यात्रुको विमा १ करोड ७९ लाख पुग्यो

सुरज कुँवर

काठमाडौँ — नेपालमा दर्ता भएका वायुसेवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने यात्रुले दुर्घटनामा परी ज्यान गुमाएमा शनिबारदेखि १ लाख १३ हजार १ सय एसडीआर (१ करोड ७९ लाख रुपैयाँ) बिमाबापत क्षतिपूर्ति प्राप्त गर्ने भएका छन् ।

हवाई यात्रुको विमा १ करोड ७९ लाख पुग्यो

एसडीआर (स्पेसल ड्रइङ राइट्स) भनेको अन्तर्राष्ट्रिय मुद्रा कोषले तय गरेको मानक मुद्रा हो । एक एसडीआर बराबर १ सय ५८ रुपैयाँ हुन आउँछ । यसअघि वार्सा महासन्धिअनुसार कायम गरिएको व्यवस्था भन्दा यो क्षतिपूर्ति ८ गुणाले बढेको छ । पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेका अनुसार यसअघि वार्सा महासन्धि १९२९ र त्यसको हेग प्रोटोकल १९५५ अनुसार हवाई दुर्घटनामा मृत्यु हुने यात्रुका परिवारजनलाई २० हजार अमेरिकी डलर (२२ लाख ९८ हजार) हाराहारी प्रतियात्रु क्षतिपूर्ति दायित्व थियो ।


मन्ट्रियल महासन्धिअनुसार यो दायित्व वृद्धि भएको हो । एक दशकदेखि नेपालले महासन्धी लागू गर्न खोजेको थियो । यो महासन्धिबारे नेपालमा पहिलो पटक २०६५ सालमा औपचारिक रूपमा चर्चा सुरु भएको थियो । संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भदौमा संघीय संसदबाट ‘अन्तर्राष्ट्रिय हवाई परिवहन विषयक नियमहरू एकीकरण गर्ने सम्बन्धमा व्यवस्था भएको महासन्धि (मन्ट्रियल महासन्धि १९९९) अनुमोदन गराएको थियो ।


यो महासन्धि आफ्नो संसदबाट अनुमोदन गरेपछि मन्त्रालयले अन्तर्राष्ट्रिय उड्डयन संगठनमा असोज ३० गते दर्ता गराएको थियो । ‘आइकाओमा जानकारी गराइएको ६० दिनपछि लागू हुने भएकाले आज (शनिबार) देखि यो नियम अनिवार्य लागू हुन्छ,’ सहसचिव लामिछानेले भने । आइकाओमा दर्ता गरिएपछि उक्त संस्थाले आफ्ना १ सय ९२ वटा सदस्य मुलुकहरूलाई जानकारी गराउनुपर्ने भएकाले ६० दिन लगाउने गरेको छ । मन्ट्रियल महासन्धि अनुमोदन गरी लागू गर्ने नेपाल १ सय ३५ औं मुलुक भएको छ ।


यस महासन्धिअनुसार यात्रुले विमानमा चढदा, उत्रिँदा वा सवार रहँदा मृत्यु भएमा वा चोटपटक लागेमा वा कुनै पनि किसिमको क्षति भएको खण्डमा वायुसेवा कम्पनी (वाहक) जिम्मेवार ठहरिने छ । मन्ट्रियल महासन्धिले असीमित दायित्वको पनि प्रावधान तोकेको छ । यदि कुनै दुर्घटना वायुयान कम्पनीको लापरबाही वा आपराधिक मनस्थितिबाट भएको प्रमाणित भएमा यात्रीलाई अदालतले निर्धारण गरेबमोजिम १ करोड ७९ लाख रुपैयाँ हाराहारीभन्दा अझ धेरै तिर्नुपर्छ ।


दर्ता गरिएको कार्गो क्षति भएमा प्रतिकिलो ३ हजार रुपैयाँका दरले क्षतिपूर्ति तोकिएको छ । यदि दाबीकर्ताले वायुयान कम्पनी वा तीनका कर्मचारी वा अभिकर्ताको स्पष्ट गल्तीका कारणवाट कार्गोमा क्षति हुन पुगेको प्रमाणित गरेमा असीमित दायित्व भराउन सक्नेछन् । यात्री, ब्यागेज र कार्गो एक गन्तव्यबाट अर्को गन्तव्यमा पुग्न ढिलाइ भएको खण्डमा पनि दायित्व निर्धारण गरिएको छ । ढिलाइका कारणले यात्रुलाई कुनै क्षति पुग्न गएमा प्रतियात्रु ७ लाख ४५ हजार रुपैयाँ क्षतिपूर्ति भर्नुपर्ने व्यवस्था महासन्धिमा छ ।


नेपालबाट अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्ने नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स र बुद्ध एयरको हकमा यो महासन्धि लागू हुन्छ । यी विमान कम्पनीहरूले यात्रुको टिकटमा बिमाको दायित्व थप्दैनन् तर यिनले बिमा कम्पनीलाई तिर्नुपर्ने दायित्वमा भने थप भार पर्नेछ । यो महासन्धि लागू नगर्ने देशका कम्पनीहरूका हकमा भने यो नियम लागू हुँदैन । जस्तो बंगलादेशले यो महासन्धि लागू गरेको छैन । त्यसैले काठमाडौंमा भएको यूएस बंगलाको विमान दुर्घटनामा ज्यान गुमाउनेका आफन्तजनले वार्सा महासन्धि अनुसार प्रतियात्रु २० हजार डलर मात्रै क्षतिपूर्ति प्राप्त गर्नेछन् । वार्सा महासन्धी अनुसार पनि वायुयान कम्पनीकै लापरबाहीबाट भएको प्रमाणित भएमा यात्रीका आफन्तले अदालतले निर्धारण गरेबमोजिम असीमित क्षतिपूर्ति प्राप्त गर्न सक्छन् ।


हवाई यात्रामा हुने जोखिम कम गर्न र यात्रुको सुविधालाई संसारभर एकैखालको बनाउन क्यानडाको मन्ट्रियलमा सन् १९९९ मे २८ मा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले यो महासन्धि पारित गरेको थियो । हवाई उडानसँग सम्बन्धित वार्सा महासन्धि १९२९ र त्यसको हेग प्रोटोकल १९५५ को नेपाल सदस्य राष्ट्र भए पनि यसका व्यवस्थाहरूले यात्रीमैत्री व्यवस्था गर्न असमर्थ भएकाले मन्ट्रियल महासन्धिको पक्ष राष्ट्रका रूपमा नेपाल आएको हो । आन्तरिक उडानका यात्रुलगायतको दायित्व यो महासन्धिले समेटदैन । यसबारे छुट्टै कानुन तर्जुमा गर्न छलफल भइरहेको सहसचिव लामिछानेले बताए । हाल आन्तरिक उडानमा वायुसेवा कम्पनीहरूले वार्सा महासन्धि १९२९ र त्यसको हेग प्रोटोकल १९५५ अनुसार बिमा दायित्व भर्ने गरेका छन् ।

प्रकाशित : मंसिर २८, २०७५ १७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?