१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

मर्मत नसकिँदै विमानस्थल खुला

एलपी देवकोटा

जुम्ला — स्तरोन्नतिका लागि बन्द जुम्ला विमानस्थल मर्मत नसकिँदै खुला गरिएको छ । कात्तिक ८ बाट पूर्ण रूपमा बन्द विमानस्थल शुक्रबारबाट पुन: सञ्चालनमा आएको छ ।

मर्मत नसकिँदै विमानस्थल खुला

यहाँको चिसोमा पिच गर्न नसकिने भएकाले मंसिरभित्रै मर्मतको काम सक्ने तयारी गरिएको थियो । चिसो बढेको र मर्मतको काम नसकिएको भन्दै विमानस्थलमा उडान सुचारु गरिएको हो ।


हाल विमानस्थलको ५० प्रतिशत मात्रै काम सकिएको छ । जहाजका लागि असोजदेखि मंसिरसम्मको सिजन यहाँ उपयुक्त मानिन्छ । चिसो बढ्दै गएको र मर्मतको काम अघि बढाउने अवस्था नरहेपछि खुला गरिएको विमानस्थल प्रमुख कैलाश शर्माले बताए ।


‘चिसो बढेपछि पिच गर्न मिल्दैन,’ उनले भने, ‘अहिलेसम्म ५० प्रतिशत काम सकिएको छ । रनवेमा रहेको सेतो संकेत गर्ने काम सकिएकाले विमानस्थल खुला गरिएको हो ।’ विमानस्थल जीर्ण हुँदै गएपछि उडानमा समस्या भएको उनको भनाइ छ । मर्मतपछि विमानस्थल खतरामुक्त हुने उनले जनाए ।


कात्तिक ८ देखि एक महिनाभित्रै कालोपत्रेको काम सक्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले सूचना जारी गरेको थियो । विभिन्न समस्याका कारण झन्डै दुई महिना लगाएर पनि मर्मतको काम नसकिएको विमानस्थल कार्यालयले जनाएको छ ।


बुधबार विमानस्थल सुरक्षा समितिको बैठक बसेर उडान गर्नेबारे निर्णय भएको कार्यालयले जनायो । ०४० देखि जुम्ला विमानस्थल मर्मतको काम हुन सकेको थिएन । विमानस्थलको पिच उप्किएका कारण घाँस उम्रिएर जहाज अवतरण गर्न र उडान भर्न समस्या हुने गरेको थियो ।


जुम्लाको तापक्रम ‘माइनस’ मा झरेकाले धावन मार्गको मर्मत तत्कालका लागि रोकेर जहाज अवतरण सुचारु गरिएको हो ।

प्रकाशित : मंसिर २९, २०७५ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?