१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

खुलेन जडीबुटी संकलन

हुम्ला — सरकारले जडीबुटी जिल्लाबाहिर लैजान छुटपुर्जीमा हदबन्दी तोके पछि स्थानीयले जडीबुटी संकलन गर्न छोडेका छन् ।

विगत वर्षमा वनबाट संकलन गरेर ल्याएका जटामसीलगायत हजारौं क्विन्टल जडीबुटीको छुट पुर्जी नपाउँदा गोदामै थन्किाएर राख्नुपरेको स्थानीयको भनाइ छ । गोदाममा जडीबुटी थन्क्याउँदा लाखौं रकम डुबेको भन्दै स्थानीयले जडीबुटी संकलन बन्द गरेका हुन् ।


चालु आर्थिक वर्षको पहिलो चौमासिकमा एक किलो पनि निकासी भएको छैन । कार्यालयका अनुसार गत आर्थिक वर्षमा सेतक चिनी ( खिरौंला) ३० हजार क्विन्टल निकासी भएकामा चालु आर्थिक वर्षका लागि पाँच सय क्विन्टलको मात्र हदबन्दी तोकिएको छ ।


सरकारले सबै जडीबुटीको छुट पुर्जीमा हदबन्दी कायम गरेको छ । जिल्ला वन डिभिजन कार्यालयका अनुसार गत आर्थिक वर्षमा १० हजार ९ सय २० क्विन्टल विभिन्न जडीबुटी हुम्लाबाट निकासी भएको थियो ।


गत आर्थिक वर्षमा विभिन्न जडीबुटीको छुट पुर्जीबापत ८ लाख ७३ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । गत आर्थिक वर्षमा कुटकी १४ हजार ४ सय ४६, सुगन्धवाल ५ हजार ९ सय, अत्तिस १ हजार ७ सय ३० र गुच्ची च्याउ ७ सय ४९ किलो जिल्लाबाहिर गएको थियो । त्यस्तै गत वर्ष वन लसुन ५ सय ३५, विषजरा २ हजार २ सय ५०, यार्सागुम्बु ५, सतुवा ५४, भूतकेस ५० र सिलाजित एक सय ८० किलो बाहिर पठाइएको थियो ।


गत वर्ष नै संकलन भइसकेको १० हजार क्विन्टलभन्दा बढीको जटामसी जिल्लामै थन्किएकाले यो वर्ष स्थानीयले संकलन नै नगरेको स्थानीय व्यवसायीको भनाइ छ । यो वर्ष जडीबुटी संकलन गर्ने समय सकिएको छ । समय छँदा पनि जटामसी संकलनका लागि कसैले अनुमति नलिएको वन डिभिजन कार्यालयका रेन्जर लोकजंग शाहीले बताए ।


‘सरकारले ५ सय क्विन्टलभन्दा बढीको छुट पुर्जी नदिने नीति बनाएपछि गत वर्ष संकलन भएकै हजारौं क्विन्टल जटामसी थन्किएको छ,’ शाहीले भने, ‘त्यसैले पनि यो वर्ष किसानले संकलन नगरेका हुन् ।’ हुम्ला उद्योग वाणिज्य संघका अध्यक्ष नाम्ग्याल तामाङले स्थानीय किसानले जथाभावी संकलन गरेकाले वनमा जडीबुटी सकिँदै गएको बताए ।

प्रकाशित : पुस १, २०७५ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?