कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गाउँकै कच्चा पदार्थबाट साबुन

हरि गौतम

रुकुम पश्चिम — आठबीसकोट नगरपालिका–११, सिमबजारमा युवाहरू स्थानीय कच्चा पदार्थ प्रयोग गरी तीन महिनायता नुहाउने साबुन उत्पादन गर्दै आएका छन् ।

गाउँकै कच्चा पदार्थबाट साबुन

‘स्थानीय कच्चा पदार्थ पनि प्रशस्त पाइने भएपछि हामीले अरूभन्दा बेग्लै कामको थालनी गरेका छौं,’ ठूलीभेरी मल्टिपर्पोज कम्पनी सञ्चालक समितिका अध्यक्ष प्रेमवीर कामीले भने, ‘रोजगारीको माग गर्दै भौंतारिरहनुभन्दा आफैं लगानी गरेर आफूसहित अरूलाई पनि रोजगारीको अवसर सिर्जना

गरेका छौं ।’


प्रेमवीरसहित वीरबहादुर कामी, नवीना कामी, जयमती कामी र रत्नबहादुर कामी मिलेर साबुन उद्योग सञ्चालनमा ल्याएका हुन् । प्रेमवीर र वीरबहादुरले १०/१० लाख र तीन जनाले पाँच लाख रुपैयाँ लगानी गरेका छन् । हर्बल नुहाउने साबुन उत्पादनको मुख्य कच्चा पदार्थ स्थानीय स्तरमै पाइने भएपछि साबुन उत्पादनमा लगानी गरेको उनीहरूको भनाइ छ । उनीहरूको उद्योगमा आठबीसकोट नगरपालिकाले पनि अनुदान सहयोग गर्ने भएको छ ।


स्थानीय जंगलमा पाइने चिउरीको घ्यूमा अन्य पदार्थ मिसाएर साबुन उत्पादन भइरहेको छ । चिउरीको बोसासहित सात प्रकारका कच्चा पदार्थ मिसाएर कम्पनीले साबुन उत्पादन गरिरहेको छ । जसमा सबैभन्दा बढी चिउरीको प्रयोग हुन्छ । हातैले साबुन उत्पादन गरिरहेका उनीहरूले एक पटक ७२ वटा साबुन तयार बनाउन सक्छन् ।


७२ साबुन उत्पादनका लागि एक किलो ६ सय ७० ग्राम चिउरी घ्यू, एक किलो नरिवल तेल, तीन सय ३० ग्राम केस्ट्रायल तेल, १५ सय ग्राम कास्टिक सोडा, दुई लिटर प्रिट, एक सय ग्राम सेन्ट र आठ सय ३५ ग्राम श्रमपुस प्रयोग गरिन्छ । जंगलमा पाइने चिउरी घ्यूको उपयोगमार्फत उपभोक्तालाई प्राकृतिक साबुन दिने लक्ष्यसहित कम्पनीले उत्पादन थालेको वीरबहादुर कामीले बताए ।


कम्पनीले तीन सय रुपैयाँ प्रतिधार्नी चिउरीको घ्यू खरिद गर्ने गरेको छ । हालसम्म आठ हजार साबुन उत्पादन भइसकेका छन् ।


सुर्खेत, नेपालगन्ज र बुटवलमा साबुन बिक्री गर्नेगरी उत्पादन गरिरहेको उनले जनाए । ‘हामीले हातैले उत्पादन गर्दै आएका छौं, हातैले गर्दा ढिला भइरहेकाले बजारसम्म पुर्‍याउन सकिएको छैन,’ उनले भने, ‘थप साबुन उत्पादन भएपछि हामी बजारमा पुर्‍याउँछौं ।’ कम्पनीमा थप लगानी जुटाएर मेसिनमार्फत नै साबुन उत्पादनका लागि आवश्यक योजना पनि अघि बढाइएको कम्पनीले जनाएको छ ।


कम्पनीले उत्पादन गरेको साबुनमध्ये आधा उत्पादन बिक्री गर्ने जिम्मा आठबीसकोट नगरपालिकाले लिएको छ । कम्पनीले फुटकरमा प्रतिसाबुन ५० का दरले बिक्री वितरण गरिरहेको छ । कम्पनीमा पाँच जनाले काम गरिरहेका छन् । उनीहरूले ११ देखि १५ हजारसम्म तलब पाउँदै आएका छन् ।

प्रकाशित : पुस ३, २०७५ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?