कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उपसमितिले सबै जहाजको विवरण माग्यो

काठमाडौँ — संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नेपाल वायु सेवा निगमले पछिल्लो सयम खरिद कागजात मागेको छ । समितिले सांसद दीपकप्रकाश भट्टको संयोजकत्वमा गठन गरेको उपसमितिले निगमसँग जहाज खरिदसम्बन्धी सबै कागजात मागेको समितिका सदस्य सांसद दिव्यमणि राजभण्डारीले बताए ।

उपसमितिले सबै जहाजको विवरण माग्यो

‘वाइड बडी मात्रै नभई हामीले निगमका समग्र पक्ष अध्ययन गर्न खोजिरहेका छौं,’ सांसद राजभण्डारीले भने, ‘निगमको जहाज खरिद गर्ने प्रक्रिया, अवलम्बन गर्ने नीति, ऋण सम्झौतालगायतका विषयमा अध्ययन गर्दै छौं ।’


निगमले २७ वर्षको अन्तरालपछि २०७१ माघमा पहिलो एयरबस ए३२०–२०० र यही प्रकारको दोस्रो एयरबस ०७२ वैशाखमा ल्याएको थियो । यी विमान ७ अर्ब ४० करोडमा खरिद गरिएका थिए । त्यस्तै आन्तरिक उडानका लागि ०७१ वैशाखमा ५६ सिट भएको चिनियाँ विमान एमए ६०, त्यही वर्षको कात्तिकमा पहिलो वाई१२ई विमान ल्याएको थियो ।


यी विमानअघि २०४४ सालमा अमेरिकी बोइङ कम्पनीका दुइटा बोइङ ७५७ विमान ल्याइएका थिए । २४ अर्ब ऋण लिई खरिद गरिएका दुइटा वाइड बडी विमानमध्ये पहिलो असारमा र दोस्रो साउनमा ल्याइएको थियो । उपसमितिले जम्मा १० वटा विमानको खरिद प्रक्रिया अध्ययन गर्ने जनाएको छ । यसमा दुइटा वाइड बडी, दुइटा न्यारो बडी, चारवटा चिनियाँ विमान वाई१२ई र दुइटा एमए ६० छन् ।


दुर्गम भेगका लागि ल्याइएका साना विमानले व्यावसायिक प्रतिस्पर्धा गर्न सकिरहेका छैनन् । यी विमानबारे अध्ययन गरिएका तथा सरकारलाई ल्याउन सुझाव दिइएका प्रतिवेदनहरूको पनि अध्ययन गरिने सांसदहरूले जनाएका छन् । चिनियाँ विमान ल्याइएको चार वर्षपछि परीक्षण उडान गरिएको थियो ।


प्रकाशित : पुस ४, २०७५ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?