१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

सुन्तला टिप्न भ्याइनभ्याई

मनकामनामा मात्र ९२ हेक्टर क्षेत्रलफलमा सुन्तला खेती हुँदै आएको छ
हरिराम उप्रेती

गोरखा — सुन्तला टिपेर ग्रेडिङ गर्दै बजार पुर्‍याउन यहाँका किसान व्यस्त छन् । सहिद लखन गाउँपालिका २ को मनकामना ढाँडबारीका अधिकांश किसानको दिन हिजोआज सुन्तला बारीमै बित्ने गरेको छ । मनकामनाको सुन्तला सामान्यतया पुस पहिलो साताबाट माघ १५ सम्म टिप्ने गरिन्छ । 

सुन्तला टिप्न भ्याइनभ्याई

गत वर्ष ७० हजारको सुन्तला बिक्री गरेकी ढाँडबारीकी राजकुमारी आले यसपटक दोब्बर आम्दानी हुने बताउँछिन् ।


‘फूल फुल्ने बेला राम्रो पानी पर्‍यो । यो वर्ष सुन्तलाको दाना राम्रो छ,’ उनले भनिन्, ‘भाउ राम्रो आउला भनेर बेच्न हतारिएकी छैन । यो वर्ष १ लाख ४० हजारको बिक्री हुने अनुमान गरेकी छु ।’ सिजन सुरु भएसँगै यहाँका स्थानीयबासीलाई सुन्तला टिप्ने, बोक्ने र ग्रेडिङ गर्ने कामको चाप छ । ‘एक दिन सुन्तला टिपेको आठ सय ज्याला आउँछ,’ स्थानीय टेकबहादुर थापाले भने, ‘हामी केटाहरूलाई अहिले सुन्तला टिप्न भ्याइनभ्याई छ ।’ सुन्तला टिप्न युवाहरू र डोकोमा बोकेर सडक किनारसम्म पुर्‍याउन महिलाहरू खटिएका छन् ।


जति ढिलो टिप्यो त्यति भाउ राम्रो पाइने भएकाले अझै केही किसानले सुन्तला टिप्न नथालेको ढाँडबारीकै लीलाम्बर थापा बताउँछन् । ‘रङ पनि बल्ल देखिन थालेको छ । ढिलो टिपेर बजार लाँदा पैसा पनि राम्रो आउँछ,’ उनले भने । सुन्तला टिपेरै उक्त क्षेत्रका स्थानीयबासीले सिजनमा कम्तीमा १ लाखदेखि ३० लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् । यहाँका केही किसानले काठमाडौंको कालीमाटीमा सिधै आफैं सुन्तला पुर्‍याउँछन् । केहीले ठेकेदारमार्फत बिक्री गर्ने गरेका छन् ।


‘मनकामना मन्दिर छेउछाउ बेच्दा एक केजीको सयदेखि डेढ सयसम्म भाउ पाइन्छ । काठमाडौंमा अहिले केजीको ७०–८० मा बेच्नुपर्छ,’ थापाले भने, ‘सबै सुन्तला मन्दिरमा लगेर बेच्न पनि सकिँदैन । अनुमान गरेर ठेक्का हान्न पनि सुरु भएको छ ।’ ठेक्कामा दिँदा र ढुवानी भाडाको कारण अपेक्षित पैसा हात नपर्ने केही किसानको दु:खेसो छ ।


सुहाउँदो हावापानीका कारण मनकामनाको सुन्तला देशभर प्रख्यात छ । मनकामना क्षेत्रमा पारिलो घाम, सूर्यको प्रकाश पर्याप्त पाउने तथा पातलो बोक्रा, रसिलो दाना र स्वादिलो भएकै कारण ग्राहकको रोजाइमा मनकामनाको सुन्तला पर्ने गरेको किसानहरू बताउँछन् । मनकामनामा मात्र ९२ हेक्टर क्षेत्रलफलमा सुन्तला खेती हँुदै आएको छ ।


सिँचाइ सुविधाको अभावमा बगैंचा मासिन लागेको चिन्ता यहाँका केही किसानहरूलाई छ । ‘पानी नपुगेर बगैंचा मासिन थालेको छ,’ स्थानीय ऋषि आलेले भने, ‘मनकामनाकै तल्लो बेल्टमा करिब १५ हजार बिरुवा मरिसके । हामी किसान आफैंले पनि सुन्तलाको स्याहार गर्न सकेनौं ।’


मलजल, सिँचाइको असुविधा, गोडमेल र किसानले पर्याप्त जाँगर नलगाउँदा बगैंचा नासिने खतरा बढेको उनले बताए । ‘मनकामनाको सुन्तला देशभर प्रख्यात छ । अब यसलाइ बचाउन सक्ने कि नसक्ने किसानकै हातमा छ,’ उनले भने ।


सुन्तलाको बिरुवा लगाएदेखि नै बगैंचा सुधारमा किसानले जाँगर चलाउनुपर्ने स्थानीय बालकुमारी थापा बताउँछिन् । ‘मलजल र गोडमेल हामी धनीले नै गर्ने हो,’ उनले भनिन्, ‘ठूला समस्या परे प्राविधिकलाई भनेर समाधानतर्फ लागे सुन्तला खेतीमा आम्दानी राम्रो छ ।’

प्रकाशित : पुस ४, २०७५ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?