१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

आयात रोक्न सकिने वस्तु खोज्दै सरकार

‘स्वदेशी उत्पादनको संरक्षण र निरुत्साहित गर्नुपर्ने आयातित सामग्रीहरूबारे समितिले अध्ययन गरी एक हप्तामा सरकारलाई प्रतिवेदन बुझाउनेछ’
कृष्ण आचार्य

काठमाडौँ — आयात रोक्न सक्ने सम्भावित सामग्रीहरूको पहिचान र व्यापार घाटा कम गर्ने उपाय खोज्न सरकारले अध्ययन समिति बनाएको छ । राजस्व सचिव लालशंकर घिमिरेको संयोजकत्वमा गठित समितिले एक सातामा त्यस्ता सामग्रीहरूको पहिचान गरी सरकारलाई सिफारिस गर्ने जनाइएको छ ।

आयात रोक्न सकिने वस्तु खोज्दै सरकार

‘व्यापार घाटाको अध्ययन गर्न मन्त्रीस्तरीय निर्णयबाट समिति गठन भएको हो,’ अर्थमन्त्रीका सल्लाहकार रामशरण खरेलले भने, ‘स्वदेशी उत्पादनको संरक्षण र निरुत्साहित गर्नुपर्ने आयातित सामग्रीहरूबारे समितिले अध्ययन गर्नेछ ।’


केही सातायता नेपालमा विभिन्न देशहरूबाट आयात हुने सामग्री रोक्ने चर्चा चलिरहेको छ । अमेरिकी डलर महँगो, आयातमा अचाक्ली वृद्धि र निर्यात वृद्धि सुस्त भएपछि सरकारले अनावश्यक सामग्रीहरूको पहिचान गरी आयात बन्द गर्ने तयारीको चर्चा चलेको हो । मुख्य गरी स्वदेशमा उत्पादन भई माग धान्न सक्ने सामग्रीहरूको आयातमा रोक लगाउने सरकारी तयारी हो ।


यसअघि सरकारले चिनीमा परिमाणात्मक बन्देज लगाई एउटा अभ्यास गरिसकेको छ । चिनीको आयातमा बन्देज लगाउनुको कारण भने स्वदेशी चिनी उद्योगको प्रवद्र्धन गर्नुपर्ने सरकारले कारण बनाएको थियो । ‘यस्तै गरी अन्य कुनै सामग्रीको आयातमा पनि बन्देज लगाउने कि भन्ने सोच हो,’ अर्थका एक अधिकारीले भने ।


त्यसको तयारीस्वरूप निर्णयअघि अर्थमन्त्री युवराज खतिवडाले मंगलबार अध्ययन समिति गठन गरेका हुन् । समितिमा अर्थ मन्त्रालयको आर्थिक नीति विश्लेष्ण महाशाखा सहसचिव मुकुन्द पौडेल, राष्ट्र बैंक, भन्सार विभाग, उद्योग विभाग, वाणिज्य विभागलगायत सरोकारवाला निकायका अधिकारी छन् । ‘यो समितिले समग्रमा व्यापार घाटा, शोधनान्तर घाटाको विषयमा अध्ययन गर्नेछ,’ खरेलले भने ।


चालु आर्थिक वर्षको पहिलो ४ महिनामा करिब ३८ प्रतिशतले व्यापार घाटा वृद्धि भएको छ । गत वर्ष ३ खर्ब २९ अर्ब ८४ करोड रुपैयाँ व्यापार घाटा भएकामा यस वर्ष ४ खर्ब ५४ अर्ब ४७ करोड रुपैयाँको घाटा पुगिसकेको छ । यो वृद्धिदर हालसम्मकै उच्च हो । साढे २६ प्रतिशतले आयात वृद्धि हुँदा निर्यात भने साढे ११ प्रतिशतले मात्रै वृद्धि भएको छ । आर्थिक वर्षको तीन महिनामा मुलुकको शोधनान्तर घाटा ३५ अर्ब ४२ करोड छ । अघिल्लो आर्थिक वर्षमा भने ४ अर्ब ७२ करोडले बचत थियो । आर्थिक वर्षको सुरुको महिनादेखि नै मुलुक शोधानान्तर घाटामा छ ।


यी तथ्यांकहरूलाई लिएर सरकार र सत्तारूढ दल नेकपाभित्र, बाहिर सरकारको आलोचनाको विषय बनेको छ । नेपालमा हाल १ सय ८० देशहरूबाट विभिन्न सामग्रीहरू आयात भइरहेका छन् ।


‘कतिपय देशहरूबाट अनावश्यक सामग्रीहरू आयात भइरहेका छन्,’ अर्थ मन्त्रालयका अर्का एक अधिकारीले भने, ‘ती सामग्रीहरूको आयात रोक्न सकेमा पनि व्यापार घाटा निकै कम हुने अनुमान अर्थको छ ।’


चालु आर्थिक वर्षको ४ महिनाको तथ्यांकका आधारमा यस वर्ष व्यापार घाटा झन्डै १४ खर्ब पुग्ने अनुमान छ । गत वर्ष ११ खर्ब ६० अर्ब व्यापार घाटा भएको थियो । सामग्री आयातमा बन्देज लगाउनपूर्व विश्व व्यापार संगठन (डब्लूटीओ) का प्रावधानहरू अवरोध हुन सक्छन् । यस विषयमा पनि समितिलाई अध्ययन गर्ने अधिकार दिइएको छ ।


प्रकाशित : पुस ४, २०७५ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?