१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

‘ब्याजदरमा लडाइँ नगर’

‘अरूले बढाएकाले मैले पनि बढाएँ, उनीहरूले घटाए म पनि घटाउँछु भन्नु गैरजिम्मेवार अभिव्यक्ति’
यज्ञ बञ्जाडे

काठमाडौँ — बैंक तथा वित्तीय संस्थालाई ब्याजदरको अस्वस्थ प्रतिस्पर्धामा नलाग्न केन्द्रीय बैंकले निर्देशन दिएको छ । मंगलबार आकस्मिक रूपमा बैंकहरूलाई बालुवाटार डाकेर राष्ट्र बैंकले ब्याजदर बढाबढको लडाइँ नगर्न निर्देशन दिएको हो । 

‘ब्याजदरमा लडाइँ नगर’

केही दिनअघि २/३ वटा बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर १३ प्रतिशत प्रकाशित गर्दै गरेको थिए । अहिले निजी वाणिज्य बैंकहरूमध्ये ठूला मानिएका नबिल र हिमालयन बैंकले पनि ब्याजदर १३ प्रतिशत पुर्‍याएपछि राष्ट्र बैंकले नैतिक दबाबमार्फत यस्तो निर्देशन दिएको हो ।

मंगलबार हालै ब्याजदर वृद्धि गर्ने बैंकका प्रमुख कार्यकारी, बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स संघ र वित्त कम्पनी संघका अध्यक्ष उपस्थित रहेको बैठकमा ब्याज बढाबढको प्रतिस्पर्धामा नउत्रिन आग्रह गरिएको राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले बताए ।

‘ऋण प्रवाह गर्ने क्षमता हेरेर मात्र लगानी गर्न, ब्याजदर वृद्धिमा अस्वस्थ प्रतिस्पर्धा नगर्न, संयमित भएर व्यवसाय गर्ने विषयमा छलफल भएको हो,’ उनले भने । ब्याजदर वृद्धिमा राष्ट्र बैंकको चासो छ, संयमित हुनुपर्छ भन्ने सन्देश दिन पनि बैंकहरूलाई डाकिएको उनले बताए । ‘एक सय रुपैयाँ निक्षेप संकलन गरेर १ सय ८० रुपैयाँ ऋण दिन भएन, बैंकहरूलाई दिएको सीमा ८० प्रतिशतभित्रै रहनुपर्‍यो,’ उनले थपे ।

कुनै विशेष कारणभन्दा पनि अरूले ब्याज बढाएकाले आफूले पनि बढाउनुपरेको भनाइ बैंकहरूबाट आएको उनले बताए । ‘बैंकहरू जिम्मेवार देखिएनन्,’ उनले भने, ‘अरूले बढाएकाले मैले पनि बढाएँ, उनीहरूले घटाए म पनि घटाउँछु भन्ने जस्ता गैरजिम्मेवार अभिव्यक्ति सुनिए ।’ हाल वित्तीय क्षेत्रमा देखिएको ब्याजदर वृद्धिको लडाइँले कसैलाई पनि फाइदा नगर्ने भएकाले संयमित बन्न उनीहरूलाई अनौपचारिक रूपमा निर्देशन दिइएको पौडेलले बताए ।

‘ब्याजदर वाञ्छित सीमामा राख्नका लागि आआफ्नो स्थानबाट सबैको सहयोग आवश्यक रहेको र ब्याजदरको प्रतिस्पर्धाले कहीँ पनि पुग्न नसकिने भएकाले आक्रामक नबन आग्रह गरेका छौं ।’

समग्र वित्तीय बजारको अध्ययन गरी वास्तविक वस्तुस्थिति बाहिर ल्याउन सरकारले समिति गठन गरेको र समितिको अध्ययन अन्तिम चरणमा रहेकाले केही समय पर्खिन बैंकहरूलाई आग्रह गरिएको पौडेलले बताए । ‘बैंठकको प्रमुख उद्देश्य ब्याजदरको लडाइँ नगर, संयमित बन भन्नु नै हो,’ उनले थपे ।

केही बैंकहरूले यसअघि नै ब्याजदर बढाएर १३ प्रतिशत पुर्‍याएकाले निक्षेप जोगाउनका लागि पनि ब्याजदर बढाउनुपरेको बैंकर्स संघका पूर्वअध्यक्ष एवं नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले बताए । ‘ब्याजदरकै कारणले बैंकको निक्षेप नबाहिरियोस् भन्ने हाम्रो उद्देश्य हो,’ उनले भने, ‘हामीले सिस्टम बिगार्न नभई आफ्नो निक्षेप जोगाउन खोजेका हौं ।’

पुरानो निक्षेपको सुरक्षा र पुस मसान्तमा करबापत ठूलो रकम सरकारी ढुकुटीमा जाँदा तरलतामा पर्ने सक्ने सम्भावित जोखिम न्यूनीकरणका लागि व्यक्तिगत निक्षेपको ब्याजदर १३ प्रतिशत पुर्‍याइएको उनले प्रस्टयाए । ‘हामीले निकै कम समयका लागि यो स्किम ल्याएका हौं,’ उनले थपे, ‘ब्याजदरको प्रतिस्पर्धामा उत्रिनु हाम्रो उद्देश्य होइन ।’ अरू बैंकहरूले ब्याज घटाए आफू पनि तत्काल घटाउन तयार रहेको उनले बताए ।

केही बैंकहरूले आक्रामक रूपमा कर्जा विस्तारमा लागेकाले वित्तीय प्रणालीमा समस्या आएको प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बताए । ‘२/४ वटा बैंकले भनेको नमान्दा बजारमा ब्याजदरको लडाइँ देखियो,’ उनले भने, ‘ती बैंकलाई संयमित हुन संघमार्फत पटकपटक आग्रह गरिएको हो ।’ निक्षेप संकलनका नयाँ स्रोत पहिचान गर्नुको साटो बैंकहरू निक्षेप खोसाखोसको प्रतिस्पर्धामा उत्रिँदा समस्या भएको उनको ठहर छ । ‘ठूला बैंकहरूले पनि ब्याजदर बढाइसकेका छन्,’ उनले भने, ‘अब ब्याजदर वृद्धिको प्रतिस्पर्धामा कमी आउँछ होला ।’

करिब तीन वर्षयता बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम (तरलता) अभाव हुँदै आएको छ । बजारमा ऋणको माग बढेको तुलनामा निक्षेप संकलन हुन नसकेपछि बैंक तथा वित्तीय संस्थाले लगानीयोग्य रकम अभावको समस्या भोग्दै आएका छन् ।

निक्षेप नबढे पनि बैंकले आक्रामक रूपमा कर्जा विस्तार गरिरहेका छन् । गएको वर्ष सबै महिनामा बैंकहरूको निक्षेप संकलनभन्दा ऋण विस्तार दर धेरै रहयो । चालु आर्थिक वर्षको हालसम्मको अवस्था पनि त्यस्तै छ । यसकारण बैंकहरूको कर्जा निक्षेप तथा पुँजी (सीसीडी) अनुपातमा दबाब पुग्यो ।

अपेक्षाअनुसार निक्षेप बढ्न सकेन । यसकारण बैंक तथा वित्तीय संस्था ब्याजदर वृद्धिको प्रतिस्पर्धामा उत्रिए । ब्याजदर वृद्धिको प्रतिस्पर्धाले नयाँ निक्षेप संंकलन गरेन । बरु बैंकहरूबीच निक्षेप खोसाखोसको अवस्था ल्यायो । यो प्रवृत्तिले विकृति बढ्न थालेपछि बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघले ब्याजदर नबढाउने सहमति गर्‍यो ।

गत असारयता मात्र संघले तीन पटक यस्तो सम्झौता गरिसकेको छ । सुरुका यस्ता सहमति पूर्ण रूपमा कार्यान्वयन हुन सकेका थिएनन् । त्यसपछि कार्यान्वयनमा समस्या भएको भन्दै संघले सहमति तोडेको पनि थियो । संघको त्यो कदम अर्थ मन्त्रालय र राष्ट्र बैंकलाई चित्त बुझेर र अप्रत्यक्ष रूपमा बैंकलाई ब्याजदर नबढाउने सहमति गर्न दबाब दिए । त्यसपछि सहमति तोडिएको एक साताभित्रै (असोज अन्तिम साता) संघले फेरि अर्को सहमति गरेको थियो ।


प्रकाशित : पुस ४, २०७५ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?