२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

भारु नोट साट्नै कठिन

बझाङ — ‘तीन दिन भइसक्यो, कसैले भारु नोट साटिदिँदैन । रकम साटिए यो जाडोमा केटाकोटीलाई न्यानो लुगा किनिदिउँला भन्ने छ ।’ यी भनाइ बझाङ केरारस्युँ गाउँपालिका कोटीखेतकी सीता विष्टको हो । उनी तीन दिनदेखि एक घण्टा हिँडेर नियमित बागथला बजार पुग्ने गरेकी छन् ।

भारु नोट साट्नै कठिन

भन्छिन्, ‘श्रीमान्ले दसैंताका घरखर्चका लागि आफन्तमार्फत पठाएको १० हजार (५ सय र २ हजार दरका नोट) भारतीय रुपैयाँ साटिदिने कोही भेटिन्छ कि भनेर बागथला धाउने गरेकी हुँ ।’

सरकारले भारतीय २००, ५०० र २००० दरका नोट साट्न प्रतिबन्ध लगाएपछि उनीसहित बझाङका धेरैको दैनिकी प्रभावित भएको छ । घरका पुरुषहरूजति भारतमा रहेका र उनीहरूले पठाएको रकम साट्न नपाउँदा ग्रामीण महिलाहरू बढी तनावमा छन् । यही मौका छोपेर महिलालाई ठग्ने दलालहरू सक्रिय भएका छन् । कतिपयले बराबरी मूल्यमा समेत भारु रकम साटेर गर्जाे टारेको बताए ।

छोराले दसैंताका घरखर्चका लागि आफन्तसँग पठाएको २० हजार भारु साट्न नपाउँदा दैनिक घर व्यवहार चलाउन समस्या भएको जयपृथ्वी नगरपालिका कैलाशकी पाउसरादेवी सिंहको भनाइ छ । पैसा नसाटिने हो कि भन्ने चिन्ताले सताउन थालेको उनी बताउँछिन् । उनले भनिन्, ‘घरमा चामल सकिन लागेको छ । केटाकेटीको न्यानो लुगा किन्नु छ । जता गए पनि यो पैसा चल्दैनन् भन्छन् । मलाई चिन्ताले निद्रा लाग्नै छाडिसक्यो ।’

उनी मात्र नभई आफन्तले भारतबाट पठाएको ठूला दरका नोट नसाटिँदा जिल्लाका अधिकांश ग्रामीण महिलाहरू तनावमा छन् । धेरैलाई दैनिक घर व्यवहार चलाउन पनि समस्या छ । छोटो तथा लामो अवधिको रोजगारीका लागि बझाङका ४० हजारभन्दा बढी पुरुष भारतका विभिन्न सहरमा गएका छन् । पुरुष नहुँदा अधिकांश घरव्यवहार महिलाहरूले नै चलाइरहेका छन् ।

भारतबाट श्रीमान्ले पठाएको हजार दरका ८ हजार भारु चलेको दरमा कसैले नसाटिदिएपछि सदरमुकामका एक व्यापारीबाट ८ हजार नेपाली लिएर साटेको पाराकाट्नेकी देवकी विकले बताइन् । उनले भनिन्, ‘नोट साट्न धेरै ठाउँ धाएँ । कसैले अब यी नोट नै चल्दैन भनेका छन् भने कसैले ५/६ हजार दिन्छौं भन्छन् । एउटाले बराबरीमा साटिदिन्छु भन्यो । दिनदिनै सदरमुकाम धाउनुभन्दा बराबरीमै साट्नु ठीक ठानेर साटेँ ।’

यस्तै भारतबाट श्रीमानले पठाएको ३० हजार भारु साट्न सदरमुकाम आएकी गडरायकी धौली खडकाले पनि कयौं दिन धाउँदा पनि चल्तीको दरमा रकम नसाटिएपछि घर फर्किने गर्छिन् ।

सदरमुकाम चैनपुरका कतिपय व्यापारीहरूले बराबरी मूल्यमा वा सोभन्दा घटीमा भारु नोट साट्ने गरेको बताएका छन् । महिलाहरूलाई यो नोट अब काम नलाग्ने भइसक्यो । पछि त्यसै फाल्नुभन्दा बराबरी वा कम मूल्यमा साट्नका लागि त्रास देखाउने र फकाउने गरेको गडरायकै मंगल खडकाले बताए ।

कतिपय दलालहरू गाउँतिर गएर कम मूल्यमा भारु नोट साट्नका लागि सक्रिय रहेका स्थानीयबासीले बताएका छन् । गाउँगाउँबाट भारु नोट संकलन गरी उनीहरूले नजिकका भारतीय सहरहरू पलिया, बरेलीलगायतका ठाउँमा बैंकिङ च्यानल (आईएमई गरेर) नेपाल पठाउने गरेको र नेपालमा आएर नेपाली नोट बुझ्ने गरेका छन् ।

यता धनगढीस्थित नेपाल राष्ट्र बैंकको क्षेत्रीय कार्यालयका निर्देशक किरण पण्डितले राष्ट्र बैंकले ५०० भन्दा बढी दरका नोटहरू अघिल्लो वर्षदेखि नै प्रतिबन्ध गरिसकेको र यस वर्ष २०० दरका नोटमा मात्र प्रतिबन्ध लगाएको बताए । उनले राष्ट्र बैंकले प्रतिबन्ध लगाएका नोट बोक्नु अवैध हुने भएकाले यसमा भइरहेको दलालीको विषयमा आफूले केही भन्न नसक्ने बताए ।


प्रकाशित : पुस ४, २०७५ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?