कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

नेक्स्ट ग्रोथ कन्क्लेभ : ‘उद्यमी बन्नु एक्लो यात्रा’

सजना बराल

काठमाडौँ — खाएर फाल्न प्लास्टिक वा टपरीका प्लेट प्रयोग हुँदै आएका छन् । गोल्डेन गेट कलेजका छात्र स्वाभिमान आचार्य, कोविद बानियाँ र विधान पोखरेलले पनि टपरीका कचौरामा म:म खाए, त्यही बेला टपरीको विकल्प सोच्न मन लाग्यो । बुझदै जाँदा सुपारीको पातबाट भाँडाकुँडा बनाउन मिल्ने पत्तो लगाए ।

नेक्स्ट ग्रोथ कन्क्लेभ : ‘उद्यमी बन्नु एक्लो यात्रा’

अहिले उनीहरू झापामा संकलित सुपारीका पातलाई प्लेट, कचौरा, किस्ती र चम्चाको आकार दिइरहेका छन् । ती भाँडा शनिबार सोल्टी क्राउन प्लाजामा आयोजित ‘नेक्स्ट ग्रोथ कन्क्लेभ’ मा देख्न सकिन्थ्यो । ‘हामीकहाँ पूर्वमा मात्रै ५० लाख सुपारीका बोट रहेछन्,’ स्वाभिमानले भने, ‘एउटा बोटले वर्षमा १० वटा पात खसाल्दो रहेछ । त्यसबाट ३० वटा प्लेट बनाउन सकिन्छ ।’


‘अरेका लिफ प्लेट्स’ ले उत्पादन गरेका डिस्पोजेबल भाँडा प्रधानमन्त्री निवासदेखि अमेरिकी दूतावास र विभिन्न रेस्टुरेन्टले प्रयोग गर्दै आएका छन् । आफूहरूले सरकारबाट ‘सर्टिफिकेसन’ नपाएकामा स्वाभिमानले दु:खी मन गरे । ‘खाद्य तथा गुण नियन्त्रण र नापतौल तथा गुणस्तर विभागमा गयौं,’ उनले भने, ‘जाँचबुझ गर्ने यन्त्र नै छैन भन्नुभयो ।’ नयाँ उद्यमलाई प्रोत्साहन गर्न सरकारले साथ दिनुपर्ने उनको भनाइ थियो ।


शनिबार एक दिन नेक्स्ट भेन्चर कर्पले आयोजना गरेको सम्मेलनमा स्वाभिमानजस्ता थुप्रै युवाले

आफ्ना उद्यम र उत्पादन प्रदर्शनी गरे । उद्यमीका अनेक रचनात्मक गतिविधि देखेर प्रभावित भएको भारतीय व्यवसायी राजिभ चित्रभानुले बताए ।


‘यहाँ अनेक विधामा व्यवसाय सञ्चालन गर्न सकिने रहेछ,’ राजिभले भने, ‘मोबाइल र इन्टरनेट प्रयोगकर्ताको संख्या लोभलाग्दो पाएँ । इ–स्पोस्र्ट, इ–कमर्स, लजिस्टिक, इन्टरटेन्मेन्टलगायत विभिन्न क्षेत्रमा लगानी गर्न सकिने देखियो ।’ राजिभ भारतको प्रख्यात जेएम फाइनान्सियल सर्भिसेसका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् ।


समारोहमा राजिभसँगै भारतकै डा. अनुराग बात्रा, सन्दीप देसमुख, स्कन्द त्यागी र राहुल नर्भेकर वक्ता थिए । भियतानका बबी लिउ, मलेसियाकी क्रिस्टि एनजी, बंगलादेशका मिल्की महमुद र भुटानका टासी वाङीले पनि वक्ताका रूपमा आफ्ना अनुभव, भनाइ र सल्लाह–सुझाव साझा गरे ।


नेपाली वक्तामा विनोद चौधरी, विश्वास ढकाल, दिलीप अग्रवाल, अनुप काफ्ले, उपल मजुम्दार र शिक्षित भट्ट सहभागी थिए ।


जुनसुकै देशको भए पनि उद्यमीका समस्या र चुनौती समान हुने भारतका नर्भेकरले बताए । उनका अनुसार उद्यमी बन्नु भनेको एक्लो यात्रा तय गर्नु हो । ‘व्यवसाय सप्रेका बेला साथीभाइको जत्था ठूलो हुन्छ,’ उनले भने, ‘घाटामा छँदा कोही साथमा हुँदैन । चर्चा र स्याबासी पाएको बेला रौसिनु हुँदैन ।’


भियतानमा बबी लिउले चाहिँ आन्टरप्रेनियरसिप भनेको के हो, व्यापारमा कसरी फडको मार्ने भन्नेबारे आफ्ना विचार प्रकट गरे । द इन्डिया नेटवर्कका संस्थापक प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् ।


सम्मेलनको ‘स्टार्टअप भ्याली’ विधामा २३ स्टल देखिन्थे, जहाँ युवा व्यवसायीहरू आफ्नो कामकाजबारे अवलोकनकर्तालाई जानकारी दिइरहेका थिए । ‘हामीचाहिँ कम्पनी र सेलेब्रिटीबीच मध्यस्थकर्ताको काम गर्छौं,’ अपट्रेन्ड्ली संस्थाकी लसता महर्जनले भनिन्, ‘सेलेब्रिटीको सामाजिक सञ्जालमार्फत तपाईको ब्रान्डबारे जानकारी दिएर विज्ञापन गराइदिन्छौं ।’


सामाजिक सञ्जालमा धेरै फलोअर्स भएका प्रियंका कार्की, ऋचा शर्मा, अनीलकेशरी शाहजस्ता सेलेब्रिटी आफूसँग संलग्न रहेको लसताले जानकारी दिइन् । तिनका फेसबुक वा इन्स्टाग्राम पेजमार्फत ब्रान्ड वा सेवाबारे जानकारी दिँदा धेरै मान्छेसम्म पुग्ने भएकाले यो ‘आइडिया’ प्रभावकारी भइरहेको उनको भनाइ थियो ।


इसेवा, इसेवा पसल, सिरानटेकजस्ता अनलाइन सेवा सञ्चालन गर्दै आएको एफवान सफ्ट इन्टरनेसनलका अध्यक्ष विश्वास ढकालले व्यवसाय सुरु गर्दा स्थानीय आवश्यता पहिचान गर्नुपर्ने धारणा राखे ।


‘विदेशी आइडिया पछयाउनुभन्दा हाम्रो आवश्यकता के हो र त्यसलाई कसरी सम्बोधन गर्न सकिन्छ भन्नेबारे सोच्नुपर्छ,’ उनले भने, ‘हामीले सोचेको समाधानको तरिकाले काम नगर्न पनि सक्छ । त्यो तरिकालाई हाम्रो अनुकूल बनाउन जानियो भने व्यवसाय चल्छ ।’


नेपालको व्यवसाय प्रवद्र्धन होस् भनेर आफूहरूले सम्मेलन आयोजना गरेको नेक्स्ट भेन्चरका प्रबन्ध निर्देशक कविराज जोशीले बताए । ‘वक्ताका अनुभवबाट सिक्न खोजेका हौं,’ उनले भने, ‘युवा उद्यमीलाई प्लेटफर्म दिन चाहेका हौं ।’

प्रकाशित : पुस ८, २०७५ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?