२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

प्रदेश १ हुँदै निकासी बढी

जुटका तयारी वस्तु, कृषिजन्य सामग्री, औद्योगिक उत्पादन, जडीबुटी, हस्तकलाका सामान र तयारी पोसाक उल्लेख्य निर्यात
विनोद भण्डारी

विराटनगर — मुलुकको निकासी व्यापारमा सबैभन्दा बढी हिस्सा प्रदेश १ स्थित भन्सार नाकाहरूले ओगट्ने गरेका छन् ।

सुरुवाती अवस्थामा जुटका तयारी वस्तु र कृषिजन्य सामग्री निकासी हुँदै आएको यो प्रदेशबाट पछिल्लो समयमा केही औद्योगिक उत्पादनसहित जडीबुटी, हस्तकलाका सामान र तयारी पोसाकजस्ता वस्तु निकासी उल्लेख्य हुने गरको छ ।


गत वर्ष यो प्रदेशबाट करिब ३० अर्ब ५४ करोड ३९ लाख बराबरको निकासी व्यापार भएको तथ्यांक छ । यसमा कृषिजन्य उत्पादन, चिया, अदुवा, अम्लिसो, जडीबुटी, तयारी पोसाक, मासुजन्य पदार्थ र केही औद्योगिक उत्पादनको भरथेग छ ।


यो अघिल्लो वर्षको भन्दा ४ अर्ब २४ करोड ६८ लाख ७३ हजारले बढी हो । अघिल्लो वर्ष २६ अर्ब २९ करोड ७० लाख ५४ हजार र त्यसअघि २६ अर्ब ७६ करोड ५७ लाख ८७ हजार मूल्य बराबरका वस्तु तथा सेवा निकासी भएको थियो । यो प्रदेशको निकासीमा हरेक वर्ष उतारचढाव हुँदै आएको छ ।


मुलुकको कुल निकासीको ४० प्रतिशत हिस्सा प्रदेश १ को नाममा रहँदै आएको सम्बद्ध पक्षको दाबी छ । निकासीमध्ये भारततर्फको हिस्सा ८६ दशमलव ४८ र तेस्रो मुलुकको अंश १३ दशमलव ५२ प्रतिशत रहेको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांक छ । यो प्रदेशबाट सोझै तेस्रो मुलुक निकासी प्रबन्ध नभएका कारण तेस्रो मुलुक निकासी न्यून भएको हो । कोलकाता बन्दरगाह हुँदै तेस्रो मुलुक निकासी गर्नुपर्ने बाध्यता छ ।


निकासीको यो तथ्यांक अन्य ६ प्रदेशको तुलनामा बढी हो । प्रदेश २ ले गत वर्ष १८ अर्ब ९९ करोड ५४ लाख ३७ हजार रुपैयाँको निर्यात गरेको तथ्यांक छ । प्रदेश ३ ले २३ अर्ब ९६ करोड ६२ लाख रुपैयाँको सामान निर्यात गर्दा प्रदेश ५ बाट ६ अर्ब २१ करोड ६६ लाख ७७ हजार र सुदूरपश्चिम प्रदेशले ७ अर्ब ७६ करोड ६ लाख ८ हजार रुपैयाँको सामान निर्यात गरेको तथ्यांक छ ।


‘औद्योगिक उत्पादनको निकासी सामान्य छ,’ व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका प्रमुख कृष्ण रेग्मीले भने, ‘कृषिलाई प्राथमिता दिने हो भने निर्यात अझ बढ्न सक्छ ।’ यो प्रदेशबाट निर्यात हुने प्रमुख वस्तुमा धागो तथा तयारी पोसाक, मुसुरो, बन्दाकोबी, चिया, अलैंची, अदुवा, अम्लिसो, जुटका तयारी सामान, जडबुटी, कुचो, नेपाली हस्तकलाका सामान, तेजपत्ता, नुडल्स, तयारी भैंसीको मासु, तामाजन्य सामग्री, रुद्राक्ष, छुर्पीलगायत छन् ।


चालु वर्षको ४ महिनामा यो प्रदेशबाट ११ अर्ब ३५ करोड ९० लाख ४५ हजार मूल्य बराबरका कृषिजन्य पदार्थको निकासी हुँदा कृषिजन्य उत्पादनको प्रमुख भूमिका रहेको निकासी प्रवद्र्धन केन्द्रको तथ्यांक छ ।


चालु आर्थिक वर्षको चार महिनामा यहाँबाट १ अर्ब ६६ करोडका जुटका तयारी वस्तु, ५१ करोड २५ लाख मूल्यको रातो आलस, ५ करोड ६७ लाखको बन्दाकोभी, १ अर्ब ४९ करोडको चिया, ९७ करोड २६ लाखको अलैंची, ११ करोड ८६ लाखको कत्था, ११ करोड ४८ लाखको अम्लिसो, ११ करोड ७४ लाखको अदुवा, २ अर्ब ३३ करोड ४९ लाखको धागो तथा तयारी पोसाक, करिब १ अर्बको रेडिमेट कपडा, १ अर्ब ९४ करोड ६० लाखको फलाम र स्टिलका सामान निकासी भएको छ ।


गत वर्ष यहाँबाट सबैभन्दा बढी मूल्यमा धागो तथा तयारी पोसाक, अलैंची, जुटका तयारी सामान र चिया निकासी भएको तथ्यांक छ । प्रवद्र्धन केन्द्रको तथ्यांकअनुसार गत वर्ष यहाँबाट ६ अर्ब १६ करोड ६७ लाखको धागो तथा तयारी पोसाक, ४ अर्ब ६० करोड २२ लाख मूल्य बराबरको अलंैची, ४ अर्ब ९७ करोड ७२ लाख ९ हजार मूल्य बराबरका जुटका तयारी सामान र ३ अर्ब २ करोड ८१ लाखको चिया निकासी भएको छ ।


त्यसैगरी ४ अर्ब ८६ करोड ७१ लाख ४७ हजार मूल्यको आइरन स्टिल, ९४ करोड २५ लाख १३ हजारको तामाजन्य उत्पादन, ४ करोड ६३ लाख १५ हजार बराबरको अदुवा, १५ करोड ८ लाखको भैंसीको मासु, २ करोड ५८ लाख मूल्यको बन्दाकोभी, ३ करोड ७८ लाखको जडीबुटी, ५ करोड २१ लाखको अम्लिसो, ४२ करोड २३ लाखको कत्था, ४ करोड ७ लाखको तेजपत्ता, ५३ करोड १९ लाख ७५ हजारको नुडल्स, १२ करोड ९ लाखको पशु आहार, २१ करोड ७२ लखको आलस र ६ करोड ७६ लाख ४३ हजार मूल्य वरावरको नेपाली हस्तकलाका सामान निकासी भएको छ ।


आयात चौगुणाले वृद्धि भएर व्यापार घाटा उच्च विन्दुमा पुग्दा निकासी ज्युँकात्युँ रहनु मुलुकको अर्थतन्त्रको भयवह स्थिति भएको उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य अविनाश बोहोराको भनाइ छ । ‘प्रदेश १ ले मुलुकको कुल निकासीको झन्डै ४० प्रतिशत योगदान गर्दै आएको छ,’ उनले भने, ‘दशकदेखि निकासीको अवस्था स्थिर छ, जाने वस्तु गइरहेका छन् ।’


निकासीका लागि सम्भाव्यता भएका नयाँ वस्तुको खोजी गर्न गर्न नसक्दा निकासी स्थिर भएको बोहोराको बुझाइ छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांक केलाउने हो भने यो प्रदेशले गत आर्थिक वर्ष ९० दशमलव २७ प्रतिशत आयात गर्दा ९ दशमलव ७३ प्रतिशत मात्र निर्यात व्यापार गरेको देखिन्छ ।


यो प्रदेशले गत आर्थिक वर्षमा ३ खर्ब १३ अर्ब ९७ करोड ८३ लाख ४३ हजार मूल्य बराबरको व्यापार गर्दा निकासी व्यापार ३० अर्ब ५४ करोड ३९ लाख २७ हजार मात्र छ । यसले प्रदेशको गत वर्ष व्यापार घाटा २ खर्ब ५२ अर्ब ८९ करोड ४ लाख ८९ हजार देखिन्छ ।


गत आर्थिक वर्ष यो प्रदेशमा २ खर्ब ८३ अर्ब ४३ करोड ४४ लाख १६ हजार मूल्य बराबरका व्यापारिक सामान आयात भएको प्रवद्र्धन केन्द्रको तथ्यांक छ । त्यसमा भारतको ५३ दशमलव ८७ र समुद्रपारबाट ४६ दशमलव १३ प्रतिशत हिस्सा छ । भारतबाट १ खर्ब ५२ अर्ब ६८ करोड ६८ लाख ६० हजार र तेस्रो मुलुकबाट १ खर्ब ३० अर्ब ७४ करोड ७५ लाख ५६ हजार मूल्यको वस्तु आयात भएको थियो ।

प्रकाशित : पुस ९, २०७५ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?