२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

क्रिसमस–बजार बढ्दै

सजना बराल

काठमाडौँ — एलिना पाण्डे हिन्दु धर्मावलम्बी हुन् । तर, सोमबार दिउँसो उनी सान्टा–क्यापमा मोलमोलाई गर्दै थिइन् । आफ्नो पाँचवर्षे छोराले क्रिसमसलाई लिएर रहर गरेपछि उनले क्याप उपहार दिने मन बनाइछन् ।

क्रिसमस–बजार बढ्दै

‘कार्टुन हेरेर क्रिसमसबारे थाहा पाएछ,’ उनले भनिन्, ‘यो चाडमा गिफ्ट पाइन्छ भन्ने सुनेदेखि क्यापमा रहर गरेकाले आज किनिदिएँ ।’ नेक्सस इन्टरनेसल एकेडेमीमा पढ्ने छोरालाई मंगलबार बिहान त्यही क्याप सरप्राइज गिफ्ट दिने एलिनाले बताइन् ।


एलिनालाई नै उदाहरण मान्दा, क्रिमसम पर्वका कारण राजधानीमा हप्ता दिनयता गिफ्ट सप, फूल पसल र केकरीहरूमा चहलपहल बढेको देखियो । तिनले स्टोरमा नयाँ–नयाँ सामग्री पनि थपे । ग्रिटिङ कार्ड, सान्टा क्लजका मूर्ति, क्रिसमस ट्री, सान्टा–ड्ेरस, खेलौना, बेलुन, सान्टा सो–पिस र अन्य सजावट सामग्री धेरै बिक्री भएको पसलेहरूले बताए । ‘मेरी क्रिसमस’ लेखिएका केकको अर्डर बढ्नुका साथै रातो रङका पहिरनसमेत क्रिमसम आकर्षण बने ।


‘दिनको १० हजारदेखि २० हजारसम्मको व्यापार हुन्छ,’ न्युरोडस्थित हलमार्क गिफ्ट सपका विशाल खेतानले भने, ‘क्रिसमसले गर्दा २० प्रतिशतजति व्यापार बढेको छ ।’ गिफ्ट सपहरू धेरै खुलेकाले आफूकहाँ पहिलेजस्तो भीडभाड हुन छोडेकामा उनी निराश सुनिए ।


‘चोकचोकमै गिफ्ट पसल छन्,’ उनले भने, ‘मान्छेको क्रयक्षमता बढेको छैन । यस्तोमा हुनुपर्ने जति व्यापार बढिरहेको छैन ।’


चाडका अवसरमा विशेषत: होटल, रेस्टुरेन्ट र पसलहरूले आफ्नो परिसर सिँगारेका छन् । तिनले चाड आउनु हप्तादिन अघिदेखि नै क्रिसमस ट्री, सान्टा क्लज र झिलिमिली ताराले माहोल सजाए । ‘क्रिसमसका बेला विशेषत: इभमा पार्टी गर्ने चलन छ,’ पुल्चोकस्थित एबीसी आर्ट क्याफेका सञ्चालक सरोज महतोले भने, ‘मैले १५ हजार रुपैयाँ खर्चेर क्याफे सजाएँ ।’ उनले फूल र बत्तीले परिसर सिँगारेका थिए ।


काठमाडौंका स्कुलहरूले समेत शृंगारका लागि क्रिसमस ट्री किन्ने गरेको लाजिम्पाटस्थित आर्चिज गिफ्ट सपका दीपेश भट्टराईले जानकारी दिए । ‘क्रिसमस मनाउने ट्ेरन्ड बढदो छ,’ उनले भने, ‘स्कुलहरूले समेत सेलेब्रेट गर्न थालेका छन् । विद्यार्थीलाई गिफ्ट साटासाट गर्न लगाउँछन् ।’


उनीको पसलमा क्रिसमस बल, रिथ (पुष्पहार), सान्टा क्लजको दाह्रीलगायत सामग्री उपलब्ध थिए । सान्टाको टोपी, मोजा, पञ्जा, दाह्री, जुत्ता सबैको माग रहेको दीपेशको भनाइ थियो । उनले क्रिसमसको माहोल झल्काउन पसलअगाडि सान्टा क्लसको ठूलो मूर्ति उभ्याएका थिए ।

प्रकाशित : पुस १०, २०७५ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?