२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

चीनबाट कृषिजन्य वस्तुको आयात बढयो

पहिलो चौमासिकमा १ अर्ब १ करोड ८९ लाख ७ हजार रुपैयाँको स्याउ र ६ करोड १० लाख ५४ हजार मूल्य बराबरको नास्पाती आयात
बलराम घिमिरे

रसुवा — रसुवागढी नाकाबाट चालु वर्षको पहिलो चौमासिकमा १ अर्ब २५ करोड ३८ लाख ५५ हजार मूल्य बराबरको कृषिजन्य वस्तु आयात भएका छन् ।

उक्त अवधिमा ३ करोड ७ लाख २५ हजार मूल्य बराबरको कृषिजन्य वस्तु मात्र निर्यात भएका छन् ।


नाकाबाट आयात भएका कृषिजन्य वस्तुहरूमा स्याउ, नास्पाती, बकुल्ला, भोटे चिया,

चम्पा पिठो, खुर्सानीको धूलो, बदाम, च्याउ, गुन्द्रक, सुकेको आरुबखडा, बोडी, कफी, तरकारीका बीउ, ओखर, दालचिनी, सुकेको बयर, लसुन, किसमिस, अदुवा, जिरा, जिम्बु, चामल, टिमुरलगायतका छन् ।


निर्यात भएका वस्तुहरूमा भने बेसार, खुर्सानी, मैदा, चिया, च्याउ, कफी, मसला, दाल, मेथी, भटमास, तिल, चिउरा, कोदो, सस्र्युं, नरिवल, लप्सीको क्यान्डीलगायतका रहेको रसुवा भन्सार कार्यालयका सूचना अधिकारी भूपेन्द्र कार्कीले बताए । ‘रसुवागढी नाकाबाट सबैभन्दा धेरै स्याउ आयात भएको छ,’ उनले भने ।


यो वर्षको पहिलो चौमासिकमा १ अर्ब १ करोड ८९ लाख ७ हजार मूल्य बराबरको १६ हजार १ सय ९३ टन स्याउ र ६ करोड १० लाख ५४ हजार मूल्य बराबरको ९ सय ८० टन नास्पाती आयात भएको छ । चीनबाट आयात हुने स्याउ नेपालमै खपत हुने गरेको व्यापारीहरू बताउँछन् ।


त्यस्तै ४ करोड ९३ लाख १३ हजार मूल्य बराबरको ओखर र २ करोड ९६ लाख ६१ हजार मूल्य बराबरको लसुन आयात भएको छ । आर्थिक वर्ष ०७४/७५ मा ३ अर्ब ५८ करोड ८८ लाख ८१ हजार मूल्य बराबराको कृषिजन्य सामान आयात भएको छ । सोही अवधिमा १७ करोड ४४ लाख ९८ हजार मूल्य बराबराको कृषिजन्य सामान निर्यात भएको भन्सार कार्यालयको तथ्यांकमा उल्लेख छ ।


चीनतर्फ निर्यात गर्न क्वारेन्टाइनको समस्या छ । निर्यात गर्दा नेपाली उत्पादनलाई चीनले मान्यता नदिने समस्या रहेको व्यापारीहरू बताउँछन् । नेपाल र चीन सीमावर्ती जिल्लाका अधिकारीहरूबीच हुने बैठकमा चीनतर्फ कृषिजन्य वस्तु निकासी गर्न छलफल हुने गरेको छ ।


विगतका बैठकमा पनि कृषि तथा पशुजन्य पैदावारलाई नेपालबाट जारी गरिने ‘फाइटो स्यानिटरी’ प्रमाणपत्रका आधारमा चीनतर्फ सहज रूपमा निकासी अनुमति दिन चिनियाँ पक्षलाई नेपाल पक्षले अनुरोध गरेको थियो ।


उक्त बैठकमा नेपालबाट निकासी गर्न सकिने वस्तुको सूचीसहित चीनको कुन स्थानमा उक्त वस्तु निकासी गर्न चाहेको हो सो खुलाई चीनको कृषि मन्त्रालयमा पत्राचार गर्न चिनियाँ पक्षले नेपाली पक्षलाई अनुरोध गरेको थियो । चिनियाँ पक्षले गरेको अनुरोध अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन ।

प्रकाशित : पुस १२, २०७५ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?