कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

माछापालनमा आकर्षण : जोखिम कम, आम्दानी बढी

मुलुकको उत्पादनले नपुगेर १० हजार ७ सय ५६ टन वार्षिक माछा आयात हुने गरेको छ
विमल खतिवडा

काठमाडौँ — चितवनका अगुवा किसान अम्बिकाप्रसाद अधिकारीले ०६५ सालमा माछापालन थाल्दा जिल्लामा २ सयभन्दा बढी किसान थिएनन् । 

अहिले माछा पालन व्यवसाय गर्नेको संख्या बढेर १ हजार नाघिसकेको छ । त्यसमा पनि युवा आकर्षण बढ्दो छ । धान, गहुँ, तोरी हुने फाँटमा अहिले माछा पोखरी छन् ।


वैदेशिक रोजगारीमा गएर फर्किनेहरूको आकर्षण पनि यसैमा छ । कम मेहेनतमा बढी आम्दानी गर्न सकिने भएकाले माछापालनमा आकर्षण बढेको नेपाल मत्स्य ब्यवसायी संघका केन्द्रीय अध्यक्षसमेत रहेका अधिकारी बताउँछन् ।


‘अन्य व्यवसायभन्दा यसमा कम जोखिम छ,’ उनले भने, ‘त्यसैले कम लगानीमा बढी आम्दानी गर्न सकिने भएकाले अधिकांशको रोजाइ माछापालन बन्ने गरेको छ ।’ उनको चितवनमा १० बिघामा १२ र नवलपुरमा डेढ बिघामा ३ वटा पोखरी रहेका छन् ।


‘अहिले जिउँदो माछाको माग बढ्दो छ,’ उनले भने, ‘त्यही भएर यहाँबाट सबैभन्दा धेरै जिउँदो माछा काठमाडौं जाने गरेको छ ।’ उनले ०५१ सालबाट केरा खेती थाले । पछि माछापालनतिर लागे । ‘केरा खेती अहिले पनि छ तर यसमा अली बढी जोमिख छ,’ उनले भने, ‘तर माछामा कम जोखिम छ, यसको बजार पनि राम्रो छ ।’ उनी मात्र होइन । देशभर पोखरी बनाएर माछा पाल्ने लहर चलेको छ ।


संघमा आबद्ध किसानको संख्या ११ हजारभन्दा बढी छ । पहाडी क्षेत्रमा भन्दा तराईमा माछालाई राम्रो आम्दानीको स्रोत बनाउने किसानको संख्या बढी छ । संघीय संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिअन्तर्गत गठित पशुपन्छी विकास कार्यदलका लागि तयार पारिएको पशुपन्छी तथा मत्स्य विकाससम्बन्धी विवरणअनुसार वार्षिक माछा उत्पादन ८६ हजार ५ सय ४४ टन हुने गरेको छ ।


आर्थिक वर्ष ०७४/०७५ को तथ्यांकअनुसार प्राकृतिक जलाशय व्यवस्थापनबाट २१ हजार र मत्स्यपालन व्यवस्थापनबाट ६५ हजार ५ सय ४४ टन माछा उत्पादन भएको छ । ११ हजार ८ सय ९५ हेक्टर पोखरीमा माछा पालिएको छ ।


पोखरीमा पालिएको माछाको उत्पादकत्व प्रतिहेक्टर ४ दशमलव ९१ रहेको छ । घोल बनाएरसमेत माछा पाल्ने गरिएको छ । तथ्यांकअनुसार ३ हजार ५ सय ५० हेक्टर घोलमा माछा पाल्ने गरिएको छ । सबैभन्दा कम भने ट्राउट माछापालनको क्षेत्र रहेको छ । देशभर ३ दशमलव २ हेक्टरमा मात्र पालिएको छ ।


माछपालनमा आर्कषण बढे पनि यसको आयात भने रोकिएको छैन । मुलुकको उत्पादनले नपुगेर १० हजार ७ सय ५६ टन वार्षिक माछा आयात हुने गरेको छ ।


मत्स्य बीज उत्पादन तथा वितरणअन्तर्गत सरकारी निकायबाट वार्षिक ८ करोड ९९ लाख ५१ हजार र निजी क्षेत्रबाट २२ करोड ६ लाख २५ हजार गोटा भएको छ । माछा पाल्ने देशभर ५२ हजार ७ सय २६ जना किसान छन् ।


१ लाख ३८ हजार ४ सय ३९ जनाले प्रत्यक्ष रूपमा रोजगारी पाएका छन् । प्राकृतिक जलाशयमा माछा मारी जीविकोपार्जन गर्नेको संख्या ४ लाख ४८ हजार ७ सय ३३ रहेको छ ।


कृषि क्षेत्रमा ४ दशमलव १८ र कुल गार्हस्थ उत्पादनमा १ दशमलव १३ प्रतिशत माछाको योगदान रहेको छ । अहिलेसम्म नेपालमा २ सय ३२ स्थानीय जातका माछा पहिचान भएका छन् । तराई क्षेत्रमा ७ जातका कार्प माछाका साथै टिलापिया, पंगासिसलगायत जातका माछाहरूको व्यावसायिक उत्पादन हुने गरेको छ । पहाडी क्षेत्रमा ट्राउट, असला, सहर जातका माछापालन बढ्दो छ ।


केन्द्रीय मस्त्य प्रवद्र्धन तथा संरक्षण केन्द्रका मत्स्य विकास अधिकृत वैकुण्ठ अधिकारीका अनुसार माछा मासुको उपलब्धतामा यसको योगदान २० प्रतिशत छ । संघीय, प्रदेश र स्थानीय तहको समन्वयमा पोखरी निर्माण अनुदान, नर्सरी पोखरी निर्माण, हयाचरी निर्माणका लागि अनुदान उपलब्ध गराइएको छ ।


मस्त्य विकास निर्देशनालयअन्तर्गका ९ वटा मस्त्य विकास केन्द्र छन् । ‘माछा पालनमा अहिले सोचेभन्दा राम्रो आकर्षण छ,’ अधिकारीले भने, ‘विदेशबाट फर्किएकाहरूको लगानी गर्ने क्षेत्र पनि यही बनेको छ, परम्परागत खेतीबालीभन्दा माछाबाट ६ गुणा बढी आम्दानी गर्न सकिने हुँदा यसमा किसानको बढी चासो छ ।’


मत्स्य बीज उत्पादन, वितरण, आयात निर्यातलाई नियमन गर्न मत्स्य बीज ऐन नहुँदा कमसल गुणस्तरका मत्स्य बीजको प्रयोगले माछाको उत्पादन वृद्धि नभएको गुनासो किसानको छ ।

त्यस्तै किसानको समस्यामा भारतबाट आयात भइरहेको कच्चा पदार्थभन्दा तयारी दानाको भन्सार महसुल सस्तो हुँदा नेपालका उद्योगबाट उत्पादित दाना महँगो भई प्रतिस्पर्धा हुन नसक्नु रहेको छ ।

प्रकाशित : पुस १२, २०७५ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?