चिनी मिल चलेन

पवन यादव

सिमरा — उखुको मूल्य निर्धाण हुन नसक्दा बाराको कलैयास्थित रिलायन्स सुगर एन्ड केमिकल इन्डस्ट्रिज सञ्चालनमा आउन सकेको छैन । 

चिनी मिल चलेन

उद्योगका सञ्चालक राजकुमार अग्रवालले धार्मिक विधिअनुसार मिलको डोंगा पूजा गरे पनि उखु पेल्ने काम सुरु हुन सकेन । उखु उत्पादक किसान संघले ५ सय ४३ रुपैयाँ उखुको मूल्य निर्धारण गरिनुपर्ने माग अघि सारेको छ । किसान संघको मागअनुसार उखु मूल्य दिन नसक्ने चिनी मिल सञ्चालकले अडान लिएका छन् ।


कृषि तथा पशुपन्छी विकास मन्त्रालयले १५ दिनअघि उखुको न्यूनतम मूल्य ५ सय १८ रुपैयाँ निर्धारण गरेको उखु उत्पादक किसान संघ बाराका अध्यक्ष वीरेन्द्र कुसवाहाले जानकारी दिए । ‘मन्त्रालयले तोकेकै न्यूनतम मूल्यलाई आधार मानेर चिनी मिल सञ्चालन गराउने पक्षमा हामी छौं,’ उनले भने, ‘मन्त्रालयले निर्धारण गरेको न्यूनतम मूल्यलाई उद्योगले मानेको छैन ।’ उखु बाली पाकेर बिग्रन थालेको अवस्थामा उद्योगले मनोमानी गर्न थालेको आरोप उनले लगाए ।


मन्त्रालयले निर्धारण गरेको मूल्यमा २५ रुपैयाँ भाडा समावेश गर्न छुटेको उनले स्पष्ट पारे । भाडा जोडिँदा उखुको मूल्य ५ सय ४३ पुग्ने उनले जानकारी दिए । मन्त्रालयलले निर्धारण गरेको न्यूनतमा मूल्यलाई मानेर तत्कालै चिनी मिल सञ्चालन गरिनुपर्नेमा उनको जोड छ ।

उखु उत्पादक किसान संघ पर्साका अध्यक्ष असर्फी साहले उखुको मूल्य चाँडोभन्दा चाडो निर्धारण गरेर चिनी मिल सञ्चालनमा ल्याउन माग गरे ।


‘अहिले पूरै उखु सुक्न थाल्यो,’ उनले भने, ‘उखु सञ्चालकको किचलोका कारण उखु किसान समस्यामा परेका छन् ।’ समयमै उखु काटेर खेत खाली नगरिँदा अर्को बाली लगाउन नसकिने उनले जिकिर गरे ।


समयमा चिनी मिल सञ्चालन नहुँदा एकातिर खेतमै उखु सुक्न थालेको छ । अर्कोतिर समयमै खेत खाली गर्न नसक्दा अर्को बाली लगाउन नपाउने चिन्ताले किसानलाई सताउन थालेको उनले बताए । सरकारी निर्णयलाई चिनी मिल सञ्चालकले नमान्दा किसान दोहोरो घाटामा परेको उनले भनाइ छ ।


सरकारले उखुको मूल्य एकतर्फी लाद्न खोजेको गुनासो रिलायन्सका सञ्चालक राजकुमार अग्रवालले बताए । ‘सरकारले तोकेको मूल्यको आधारमा उखु खरिद गर्न सक्ने अवस्थामा उद्योग छैन,’ उनले भने, ‘उखुको रेटमा एकरूपता कायम गरिनुपर्‍यो ।’ एउटै देशमा उखुको दुई थरीको रेट छ । कर्णालीपारिका किसान र चिनी मिलले उखुको मूल्य प्रतिक्विन्टल ३ सय ८५ रुपैयाँ निर्धारण गरी सञ्चालनमा ल्याएको अग्रवालले जानकारी दिए ।


उनका अनुसार कम मूल्यमा खरिद गरिएको उखुबाट उत्पादन भएको चिनीको रेट सस्तो पर्न जान्छ । हामीले किसानको मागअनुसार उखुको मूल्य तोकेर भुक्तानी गर्दा उत्पादन भएको चिनीको मूल्य महँगो पर्न जान्छ । बजार प्रतिस्पर्धाको छ । सबैले सस्तोमा चिनी खरिद गर्न खोज्छन् । महँगो रेट पर्ने हाम्रो चिनी बिक्री नै हुँदैन । चिनी बिक्री नभएपछि किसानलाई समयमा भुक्तानी दिन समस्या हुने उनले जिकिर गरे । ‘समयमा भुक्तानी नदिँदा सरकारले जेल हाल्ने भन्छ,’ उनले भने, ‘भुक्तानी नदिएर जेल जानुभन्दा उद्योग नै नचलाउनु बेस हो ।’


९ हजार टन चिनी गोदाममै

रिलायन्सले उत्पादन गरेको चिनीमध्ये ९ हजार टन गोदाममै थन्किएको छ ।


सरकारले सस्तो रेटमा पश्चिम क्षेत्र र विदेशी चिनी भित्र्याएपछि आफूहरूले उत्पादन गरेको चिनी अर्को सिजन सुरु हुन लाग्दासम्म बिक्री हुन नसकेको सञ्चालक राजकुमार अग्रवालले बताए । ‘गत वर्षको रेटमा उखु खरिद गर्दा उद्योग ३० करोडको घाटामा छ,’ उनले भने, ‘घाटैघाटा खाएर उद्योग सञ्चालन गर्न सकिँदैन ।’ उखुको मूल्य निर्धारणसँगै अहिले नै चिनीको मूल्यसमेत निर्धारण गरिनुपर्ने उनले माग गरे ।


सरकारले उखुको मूल्य निर्धारण गर्न मात्र चासो देखाउँछ । चिनीको मूल्य निर्धारण गर्न पनि चासो देखाउनुपर्‍यो नि,’ उनले भने । बारा र पर्सामा नयाँ र पुराना गरी साढे १४ हजार बिघा क्षेत्रफलमा उखु खेती गरिएको चिनी मिलले जनाएको छ ।

प्रकाशित : पुस १२, २०७५ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?