कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

धनकुटामा सुन्तला उत्पादन वृद्धि 

धनकुटा — यस वर्ष जिल्लामा सुन्तला उत्पादन विगत वर्षको तुलनामा नौ प्रतिशतले वृद्धि भएको छ । कृषकसँगै प्रत्यक्ष किनबेचका आधारमा यस वर्ष करिब ३० करोड रुपैयाँभन्दा बढी मूल्यको सुन्तलाको कारोबार भएको छ ।

धनकुटामा सुन्तला उत्पादन वृद्धि 

कुल ५ सय ५५ हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन भएको छ । विभिन्न रोगको प्रकोप र जलवायु परिवर्तनको प्रत्यक्ष असर खेप्दै आएका सुन्तला कृषकलाई यस वर्षको उत्पादनले उत्साही बनाएको छ । जिल्लाका ५ हजार १ सय ८४ टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।


गत वर्ष ४ हजार ८ सय ९० टन उत्पादन भएको थियो । केन्द्रले कृषकबाट गरिएको सर्वेक्षणका आधारमा बोटमा थोक मूल्य प्रतिकेजी ५० देखि ६० रुपैयाँ कायम रहेको ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत सूर्यप्रसाद सापकोटाले जनाए । बजारको खुद्रा मूल्य भने बढी छ ।


स्वादिष्ट र स्तरीय पहिचान बनाएको यहाँको सुन्तलामा पछिल्लो समय विभिन्न रोग र कृषक स्वयंको बगान व्यवस्थानमा कमजोरीका कारण सुन्तला खेती खस्कँदै गएको प्राविधिकको भनाइ छ ।


करिब एक हजार बढी स्तरीय सुन्तला बगैंचामध्ये धनकुटा नगरपालिका क्षेत्र लगायत सहिदभूमि गाउँपालिकाका खोकु, छिन्ताङ, आँखीसल्ला र साँगुरीगढी गाउँपालिकाका महाभारत, मौनाबुधुकलगायत स्थानमा व्यावसायिक सुन्तला खेती हुने गरेको छ ।


यस्तै महालक्ष्मी नगरपालिकाका मूर्तिढुंगा, जितपुर, चानुवा, मारेककटहरेलगायत स्थानमा नगदे बालीका रूपमा सुन्तला खेती गरिँदै आएको छ । कुल ७ सय ८५ हेक्टर उत्पादनशील क्षेत्र रहे पनि ५ सय ५५ हेक्टरमा सुन्तला खेती हुने गरेको जनाइएको छ ।


जिल्लाका सुन्तला खेतीमा संलग्न कृषकले वार्षिक रूपमा १२ लाख रुपैयाँसम्म आम्दानी लिँदै आएका छन् । मौनाबुधुकका कृषक हर्क चेम्जोङले सुन्तला बगानबाट यस वर्ष १२ लाख आम्दानी गरेको बताए । उनले करिब ४० रोपनी क्षेत्रफलमा लगाएको सुन्तला खेतीबाट सोचअनुसारको आम्दानी हात पारेकामा खुसी व्यक्त गरे ।


‘आशा गरेभन्दा बढी नै आम्दानी भयो,’ उनले भने, ‘विभिन्न रोग प्रकोपको डर रहे पनि स्याहार गर्दा उत्पादन सन्तोषजनक भएको हो ।’


धनकुटा ३ निगालेका कृषक बाबुराम मिश्रले पनि सुन्तलाबाट सोचे अनुसारको मूल्य पाएको बताए । उनले तीन लाखको सुन्तला बिक्री गरेका छन् । यहाँ उत्पादित सुन्तला पूर्वका मुख्य सहर तथा राजधानीसम्म पुग्ने गर्छ । सुन्तला व्यापारी झमक घिमिरेले यस वर्ष १५ लाखको सुन्तला खरिद गरी धरान, विराटनगरलगायतका स्थानमा बिक्री गरेको बताए ।


रोग तथा समस्या

सुन्तला खेतीमा पछिल्लो समय जलवायु परिवर्तनको प्रत्यक्ष असर देखिएको छ । कृषिविज्ञ तथा प्राविधिकहरूका अनुसार सूक्ष्म खाद्य तत्त्वको कमीलगायत सिटरस क्यांकर, बिजु बिरुवा फुड र रुड रग तथा कत्ले किरा (स्केल) ले बोट सुक्ने समस्या चुलिएको छ ।


ग्रिनिङ लिप माइनर, पतेरो, फ्लुट फ्लाईजस्ता रोगको प्रत्यक्ष असरका कारण आशा गरेअनुसार उत्पादन हुन नसकेको बाली संरक्षण अधिकृत सापकोटाको भनाइ छ ।


उत्पादित सुन्तलाको १५ प्रतिशत आन्तरिक बजार र ८५ प्रतिशत निर्यात हुने गरेको छ । उचित खाद्य व्यवस्थापन, सिँचाइ, मल अभाव तथा रोग किराको नियन्त्रणमा कृषकले समेत उचित चासो नदिएको बताए ।

प्रकाशित : पुस १३, २०७५ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?