१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

निजगढ विमानस्थल निर्माणले गति लिँदै

पवन यादव

सिमरा — निजगढ अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रलाई सुरक्षित बनाउन बाउन्डरी फिनिसिङका लागि बाहिरी तथा भित्री तारबार निर्माण कार्य तीव्र पारिएको छ । 

निजगढ विमानस्थल निर्माणले गति लिँदै

विमानस्थलको पूर्वतयारीका लागि बाहिरी तथा भित्री तारबार, नदी नियन्त्रण गर्न तटबन्ध निर्माण, विमानस्थल क्षेत्रभित्र परेका घरजग्गाको मुआब्जा वितरणलगायत काम तीव्र गतिमा भइरहेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यालय सिमराले जनाएको हो ।


पहिलो चरणको निर्माण काममा अहिलेसम्म ९ करोड रुपैयाँ खर्च भएको आयोजना प्रमुख ओम शर्माले बताए । धावन मार्ग निर्माणका लागि चार किल्लाभित्रका रूख कटान गर्ने र बाटाका दुवै साइडमा गरी ६३ किलोमिटर अस्थायी तारबार घेराउ कार्य अघि बढाइएको उनले जनाए । तारबार घेराउमा ७० प्रतिशत प्रगति भएको उनले बताए ।


तारबार गर्नुपर्ने सबै क्षेत्रमा पिलर गाड्ने कार्य पूरा भएको उनले दाबी गरे । ‘विमानस्थल आयोजनाको कार्य तीन चरणमा भइरहेको छ,’ शर्माले भने, ‘पहिलो चरणमा नदी नियन्त्रण र तारबार निर्माण कार्य जारी छ ।’ अहिलेसम्म ८ सय ३ मिटर तारबार लगाउने काम ठेकेदारले पूरा गरिसकेका छन् । ती ठेकेदारले १४ किलोमिटरमा तारबार निर्माण गर्ने जिम्मेवारी पाएको उनले जनाए ।


शर्माका अनुसार ८ खर्बको अनुमानित लागतमा विमानस्थल निर्माण हुनेछ । विमानस्थलका लागि ८ हजार ४५ हेक्टर जमिन आयोजनाले अधिग्रहण गर्नुपर्नेछ । ती जग्गामध्ये ३ हजार ६ सयदेखि

४ हजार हेक्टर जग्गामा धावन मार्ग निर्माण हुनेछ । सुरुमा २ वटा धावनमार्ग निर्माण हुनेछन् । त्यसपछि थप एउटा धावन मार्ग निर्माण गरिने आयोजना प्रमुख शर्माले बताए ।


बाउन्ड्री फिनिसिङसँगै पसाहा नदीमा १० किलोमिटर दक्षिणी सिमानसम्म नदी नियन्त्रणको काम हुनेछ । त्यसमध्ये ८ सय मिटर पसाहामा नदी नियन्त्रणको काम भइरहेको छ । यसै वर्ष थप ५ सय मिटर तटबन्ध निर्माणको काम सुरु गरिनेछ ।


विमानस्थल क्षेत्रभित्र परेको काटगाउँ र ककडी गाउँको ५८ बिघा जग्गा अधिग्रहणका लागि मुआब्जा वितरण कार्य अन्तिम चरणमा पुगेको छ । तीमध्ये काटगाउँको ४८ बिघा र ककडीको १० बिघा जग्गाको मुआब्जा वितरण भइरहेको छ । यसरी ६० प्रतिशत बढीलाई मुआब्जा वितरण गरी सकिएको छ ।


काटगाउँ बस्तीमा रहेका १ सय ३३ घर विमानस्थल क्षेत्रभित्र परेको आयोजना प्रमुख शर्माले जनाए । ‘१ सय २५ घरपरिवारले मुआब्जा बुझिसकेका छन्,’ उनले भने, ‘बाँकी रहेकाहरू मुआब्जा बुझ्ने क्रममा छन् ।’ ककडीको खाली खेत मात्र विमानस्थल क्षेत्रभित्र परेको उनले जनाए ।


आयोजनाभित्र पर्ने १ सय १० बिघा जग्गामध्ये ६० बिघा जग्गा नागरिक उड्डयन प्राधिकरणका नाउँमा दर्ता भइसकेको उनले जनाए । ईआईए रिपोर्टअनुसार विमानस्थल निर्माणका लागि २४ लाख रूख कटान गर्न प्रस्ताव गरिए पनि न्यूनतम रूख कटान गरी विमानस्थल निर्माणको काम अघि बढाइने उनले बताए ।


टाँगिया बस्तीलाई केन्द्र मानेर विमानस्थलको निर्माण कार्य सुरु गरिने उनले जनाए । ‘टाँगिया बस्तीमा धेरै रूख पर्दैनन्,’ उनले भने, ‘पहिला नै त्यहाँको रूख काटिएपछि जग्गा खाली छ ।’ टाँगिया बस्तीलाई जितपुर सिमरा उपमहानगरपालिकाको पिलुवा नजिक पसाहा किनारमा वा कोल्हवी नगरपालिकाभित्र सार्न विकल्प देखिएको उनले बताए ।


झन्डै एक हजार बिघामा फैलिएको टाँगिया बस्तीलाई स्थानान्तण गर्न कलैया, निजगढ र जितपुर सिमरामा रहेको ऐलानी तथा निजी जग्गामा बसोबासको व्यवस्था मिलाउने कार्यसमेत अघि बढाइएको उनले बताए । शर्माका अनुसार पेरिमिटर सडक तथा फिनिसिङ निर्माणका लागि ठूला साना गरी ४ हजार २ सय ३२ रूख बिरुवा कटान गर्नुपर्नेछ ।


आयोजनाको विस्तृत परियोजना प्रतिवेदन डीपीआर तथा मास्टर प्लान तयार गर्नका लागि अन्तर्राष्ट्रियस्तरका ६ वटा परामर्शदाताको आशयपत्र स्वीकृत भई प्रस्ताव प्राप्तिका लागि मूल्यांकनको चरणमा रहेको आयोजना कार्यालयले जनाएको छ । आर्थिक वर्ष ०७३/७४ देखि आयोजना कार्यालयले पूर्वतयारीको काम सुरु गरेको हो ।

प्रकाशित : पुस १३, २०७५ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?