२६ वस्तुमा निर्यात अनुदान

निर्यातजन्य वस्तुअनुसार ३ देखि ५ प्रतिशतसम्म अनुदान पाइने
उत्पादनदेखि निर्यातसमेत बढ्ने अपेक्षा गरेका छौं : मन्त्रालय
राजु चौधरी

काठमाडौँ — सरकारले स्वदेशी उत्पादन बढाउन २६ वस्तुमा निर्यात अनुदान दिने निर्णय गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार निर्यात अनुदान ३ देखि ५ प्रतिशत अनुदान दिइनेछ । 

यसअघि निर्यातजन्य वस्तुले दुई प्रतिशतसम्म अनुदान पाएका थिए । २०७५/७६ को बजेट भाषणमा औद्योगिक उत्पादनको निर्यातमा ५ प्रतिशतसम्म निर्यात अनुदान दिइने घोषणा गरिएको थियो । त्यसपश्चात् आपूर्ति मन्त्रालयले कार्यविधि बनाएर निर्णयार्थ मन्त्रिपरिषद्मा पेस गरेको थियो । मन्त्रिपरिषदबाट स्वीकृत भएपछि ५ प्रतिशतसम्म अनुदानको बाटो पनि खुलेको हो ।


‘निर्यात अनुदान मन्त्रिपरिषदबाट स्वीकृत भइसकेको छ,’ वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नवराज ढकालले भने, ‘अब कार्यान्वयनमा आयो ।’ निर्यात अनुदानले उत्पादनसँगै निर्यात पनि बढ्ने मन्त्रालयको दाबी छ । यीबाहेक रोजगारी पनि सृजना हुने जनाएको छ । ‘व्यापार घाटा बर्सेनि बढेको छ । स्वदेशी वस्तु उत्पादन र निर्यातले आयात स्वाभाविक रूपमा कम हुन्छ,’ प्रवक्ता ढकालले भने, ‘अनुदानबाट थप सृजना भई अर्थतन्त्रमा धेरै ठूलो योगदान हुन्छ ।’


मन्त्रालयका अनुसार १५ वस्तुमा ५ प्रतिशत अनुदान दिइने जनाएको छ । ती वस्तुहरू प्रशोधित चिया, प्रशोधित कफी, हस्तकला र काष्ठकलाका वस्तु, प्रशोधित छाला (क्रस्ट) र छालाजन्य उत्पादनहरू, हाते कागज तथा सोबाट उत्पादित सामान, प्रशोधित पत्थर तथा पत्थरजडित गरगहना हुन् ।


अल्लोबाट उत्पादित सामानहरू, मिनरल वाटर, बेसार, तरकारी, पुष्प, प्रशोधित मह, प्रशोधित अलैंची, प्रशोधित अदुवा (सुठो, स्लाइडिङ, तेल र पाउडरलगायत) र प्रशोधित जडीबुटी तथा सारयुक्त तेल छन् । ५ प्रतिशत नगद अनुदानका लागि यी वस्तुहरू शतप्रतिशत स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादन गर्नुपर्ने जनाएको छ ।


११ वस्तुमा ३ प्रतिशत अनुदान दिने निर्णय भएको छ । तीन प्रतिशत नगद अनुदान पाउने वस्तुमा स्वदेशमा उत्पादित कपडा, तयारी पोसाक, गलैंचा र ऊनीका सामान, च्यांग्रा पस्मिना तथा सोबाट उत्पादित सामान, स्वदेशी प्रशोधित जुट तथा जुटका उत्पादनहरू छन् ।


यस्तै सुनचाँदीका गरगहना, स्वदेशी अर्ध प्रशोधित छाला, औषधि, फेल्ट (ऊनीजन्य) का वस्तुहरू, पोलिस्टर यार्न/फाइबर भिस्कोर्स यार्न/कटन यार्न र तामाका सामान (हस्तकलाका सामान, पूजाआजाका सामान, सजावटका सामान तथा अन्य भाँडाकुँडा) रहेको मन्त्रालयले जनाएको छ । ‘उत्पादन बढाउन राज्यले अनेक सुविधा दिएको छ,’ प्रवक्ता ढकालले भने, ‘तीबाहेक ५ प्रतिशत अनुदान भनेको धेरै हो ।’


सरकारले नगद अनुदानका लागि चयन गरिएका अधिकांश वस्तुहरू तुलनात्मक लाभका वस्तुभित्र पर्छन् । अनुदान वितरण गर्न मन्त्रालयले ‘निर्यात अनुदान प्रदान गर्ने सम्बन्धी कार्यविधि २०७५’ समेत जारी गरेको छ ।


कार्यविधिअनुसार निर्यातकर्ताहरूले स्वदेशमै प्रप्त हुने वा उत्पादन हुने कृषि वन तथा खानीजन्य वस्तुको हकमा कम्तीमा एक चरणको प्रशोधन प्रक्रिया पूरा गरेको, उत्पादनमा मूल्य अभिवृद्धि कम्तीमा ५० प्रतिशत भएको हुनुपर्ने उल्लेख छ ।


निर्यातकर्ताले निर्यात गरेको वस्तुको भुक्तानी परिवत्र्य विदेशी मुद्रामा बैंकमा दाखिला भएको प्रमाण पेस गरेको तर भारतमा हुने निकासीको हकमा प्रतीतपत्र (लेटर अफ क्रेडिट) मार्फत आर्जित भारतीय मुद्रा बैंक दाखिला गरेको प्रमाण पेस गरेको हुनुपर्ने जनाएको छ ।


निर्यात भएको वस्तुको प्रमाणीकरणका लागि सरकारले आवश्यताअनुसार सम्बन्धित वस्तु उत्पादन हुने कारखाना वा उत्पादन स्थलको निरीक्षण गर्न वा त्यो वस्तुको उत्पादन प्रक्रियाबारे आवश्यक जाँचबुझ गर्न सक्नेछ । सरकारले उपलब्ध गराउने अनुदान प्राप्त गर्न चाहने निर्यातकताले सम्पूर्ण विवरण/कागजातसहित बैंकसमक्ष निवेदन दिनुपर्ने उल्लेख छ । निवेदन दिँदा जुन बैंकमार्फत वस्तु निकासी गर्ने प्रयोजनका लागि बैंकिङ कारोबार गरिएको हो, सोही बैंकमा कागजातसहितको निवेदन दिनुपर्ने जनाएको छ ।


कार्यविधिअनुसार निर्यातकर्ताको आयात/निर्यात अनुमतिपत्र (एक्जिम कोड) तथा स्थायी लेखा नम्बर वा मूल्य अभिवृद्धि कर दर्ताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, निर्यातकर्ताद्वारा जारी गरिएको निर्यातित वस्तुहरूको व्यापारिक बिलबीजक र भन्सार प्रज्ञापनपत्र चाहिन्छ ।


वस्तु तथा निर्यात गरे बापत निर्यातकर्ताले प्राप्त गरेको विदेशी मुद्रा बैंक दाखिला भएको प्रमाण पुग्ने कागजात वा बैंक स्टेटमेन्ट र निर्यातकर्ताले पछिल्लो आर्थिक वर्षको कर चुक्ता गरेको प्रमाणपत्रको प्रतिलिपि चाहिने कार्यविधिमा उल्लेख छ ।


५ प्रतिशत नगद पाउने वस्तुहरू

प्रशोधित चिया, प्रशोधित कफी, हस्तकला र काष्ठकलाका वस्तु, प्रशोधित छाला र छालाजन्य उत्पादन, हाते कागज र त्यसबाट बनेका सामग्री, प्रशोधित पत्थर तथा गरगहना, अल्लोका सामग्री, मिनरल वाटर, बेसार, तरकारी, पुष्प, प्रशोधित मह, प्रशोधित अलैची, प्रशोधित अदुवा, स्लाइडिङ, तेल र पाउडर, प्रशोधित जडीबुटी तथा सारयुक्त तेल


३ प्रतिशत नगद अनुदान पाउने वस्तु

स्वदेशी उत्पादित कपडा,तयारी पोशाक,गलैचा र ऊनीका सामान,च्याङग्रा पश्मिना तथा सोबाट उत्पादित सामान,स्वदेशी प्रशोधित जुट तथा जुटका उत्पादनहरू,सुनचादीका गरगहना,स्वदेशी अर्ध प्रशोधित छाला,औषधी, फेल्ट(उनीजन्य)का वस्तुहरू,पोलिस्टर यार्न/फाइबर भिस्कोर्स यार्न/कटन यार्न, तामाका सामान

प्रकाशित : पुस १३, २०७५ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?