चिनी उद्योग खुलाउन सांसदको माग

काठमाडौँ — सांसदहरुले उखुको मूल्य निर्धारण गरेर चिनी उद्योग खुलाउन माग सरकारसँग राखेका छन् । चिनी उद्योगले उखुको मूल्य घटाउन दबाब दिन कात्तिक अन्तिमदेखि खुल्ने उद्योग पुसको दोस्रो सातासम्म पनि बन्द गरेको भन्दै सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

चिनी उद्योग खुलाउन सांसदको माग

चिनी उद्योग सञ्चालन नहुँदा तीन लाख ७० हजार किसान प्रभावित भएको सांसद् हृदयेश त्रिपाठीले बताए ।


प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसद त्रिपाठीले उद्योग सञ्चालन नहुँदा कृषकको उखु बजारमा रहेको बताए । ‘हरेक वर्ष कात्तिक अन्तिम र मंसिरको पहिलो साता चिनी मिल सुरु भइसक्यो । अहिलेसम्म सञ्चालन भएको छैन,’उनले भने,‘सरकारले समर्थन हुने चिनीको मूल्य पनि तोकेको छैन । जसले गर्दा किसानका उखु खेतमै छन्, मिलमा गएन भने गहुँ छर्न सकिँदैन ।'


चिनी मिलवालाहरुले उखुको मूल्य घटाउन किसानमा मनोवैज्ञानिक दबाब दिन मिल नचलाएका उनको आरोप थियो । सरकारले कृषकलाई मान्य हुने उखुको मुल्य तोक्न र उद्योग सञ्चालनको निर्देशन दिन चाकेको उनको आरोप छ ।


अर्का सांसद अमरेशकुमार सिंहले पनि सरकार र चिनी मिल सञ्चालकको मिलोमतोमा किसानको उखु बाली खेतमै रहेको आरोप लगाए ।


सांसद् त्रिपाठीले विदेश भ्रमणमा जानेले साथमा लैजान पाउने डलर घटाएकोमा पनि आक्रोश पोखे । यसअघि २५ सय डलर लैजान पाउनेमा १५ मा झार्न लागेकोमा उनले बताए । विदेश अध्ययन गर्न जाने विद्यार्थीको पढाई शुल्क डलर लैजान पनि विगतको भन्दा घटनाउन लागेको उनले बताए । ‘हामी २ अर्ब रक्सी आयात गर्छौं । डलर गइरहेको छ । परिश्रमी नेपालीले पठाएका रेमिट्यान्सबाट पठाएको डलर रक्सी किन्न खरिद गरिरहेको छौं,’उनले भने,‘विद्याआर्जन गर्न जाने विद्यार्थीहरुको सुविधा कटौती गर्ने, विदेश भ्रमणमा जाने नेपालको सुविधा कटौती गर्न लागिँदैछ । मौद्रिक नीति कता लान खोजिएको हो ?’ विदेश जाने यात्रु र विद्यार्थीको सुविधा कटौती प्रपन्च रोक्न उनले माग राखे ।

प्रकाशित : पुस १३, २०७५ १८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?