किसान भन्छन्–आशा गरेजस्तो सुन्तला फलेन

मनोज बडू

दार्चुला — नगदे बालीका रूपमा उत्पादन हुने सुन्तला यो वर्ष किसानको अपेक्षाअनुसार फलेनन् । सुन्तलाको फल लाग्ने समयमा पानी नपर्दा र केही बोटहरूमा रोगको संक्रमण फैलिँदा आश गरे अनुसारको उत्पादन नभएको किसानहरू बताउँछन् । 

किसान भन्छन्–आशा गरेजस्तो सुन्तला फलेन

बसेडी, बह्मदेव, पिपलचौरी, छापरी, उकु, शंकरपुर, रानीशिखर, शेरीलगायत ठाउँमा सुन्तला उत्पादन भए पनि सबैभन्दा धेरै र स्वादिलो महाकाली नगरपालिका ६ निसिलको हुन्छ । यहाँको सुन्तला जिल्ला सदरमुकाम खलंगा, बलुवाकोट, धापलगायत सीमावर्ती भारतको धारचुला, जौलजिवीमा बढी माग हुने निसिलका स्थानीय नरेशबहादुर पालले बताए ।


‘उपभोक्ताले निसिलको सुन्तला स्वादिलो र रसिलो मान्ने हुँदा माग अत्यधिक हुन्छ,’ उनले भने, ‘यहाँको सुन्तलामा मिठो स्वाद हुने हुँदा अन्य ठाउँको तुलनामा मूल्य पनि बढी पाउँछ ।’ गत वर्ष ७० हजार बराबरको सुन्तला बिक्री गरेको नरेशले यो वर्ष अहिलेसम्म ३५ हजार रुपैयाँको मात्र बिक्री गर्न सकेका छन् ।


दार्चुला सुन्तलाको व्यावसायिक खेती सुरु गरेको २२ पुगेको छ । अहिलेसम्म यस वर्ष जतिको नोक्सानी कहिल्यै नबेहोरेको सुन्तला कृषक हर्के पालले बताए । ‘२०/२२ सुन्तलाको बोटबाट यसअघिका वर्षमा ८० हजारको हाराहारीमा आम्दानी गरिन्थ्यो,’ उनले भने, ‘रूखमा सुन्तला सकिनै लाग्दा ४० हजार रुपैयाँको मात्र बिक्री भएको छ । राम्रो फल नलागेको हुनाले अब बाँकी सुन्तला बिक्रीबाट १० हजारसम्म आम्दानी हुन सक्छ ।’


सुरुमा फल राम्रै लागे पनि पाक्ने बेलामा उत्पादन सोचेअनुरूप हुन नसक्दा उनी निराश भएका हुन् । निसिलको सुन्तला भन्ने बित्तिकै उपभोक्ताहरू हुरुक्कै हुने भए पनि उत्पादन घटदा किसानले नोक्सानी सहनुपरेको छ ।


‘यहाँको नगदे बाली नै सुन्तला हो,’ पालले भने, ‘सिजनभरिमा करिब ५० लाख रुपैयाँ हाराहारीको सुन्तलाको कारोबार हुने गरेको छ ।’ यहाँको सुन्तला परम्परागत रूपमै धेरै वर्षदेखि खेती हुँदै आएको छ । निसिलमा सुन्तला खेती व्यावसायिक बने पनि आधुनिक बन्न नसकेको उनीहरूको भनाइ छ ।


पूर्ण रूपमा व्यावसायिक नबन्दा बेला–बेलामा सुन्तलाको बोट सुक्ने, किरा लाग्ने जस्ता समस्या पनि किसानले झेल्दै आएका छन् । सिँचाइ सुविधा, प्राविधिक र किसानलाई उपयुक्त सीपको ज्ञान उपलब्ध हुन नसक्दा बेला–बेलामा आफूहरूले समस्या झेल्दै आएका अर्का सुन्तला कृषक नरेशले बताए ।


यहाँ नगदे बालीका रूपमा रहेको सुन्तला धमाधम बिक्री भइरहेको भए पनि उत्पादन घटेको किसानहरू बताउँछन् । ‘अहिले सिजन धमाधम चलेको छ,’ पालले भने, ‘सुन्तला बिक्रीका लागि व्यापारीहरूले यहाँको सुन्तला खोजिरहेका छन् । यो खासै उत्पादन नहुँदा व्यापारीहरूले मागेजति उपलब्ध गराउन सकिएको छैन ।’


निसिलको पूरै गाउँमा सुन्तला उत्पादन सुरुदेखि राम्रो हुने भए पनि सरकारीस्तरबाट किसानहरूलाई प्राविधिक सहयोग नमिल्दा बेला–बेलामा नोक्सानी बेहोरिरहेको किसानहरूको भनाइ छ । यहाँका किसानहरू वार्षिक रूपमा ५० हजारदेखि अढाई लाखसम्मको सुन्तला बिक्री गर्दै आएका छन् ।


‘प्राविधिक ज्ञानको अभाव, सिँचाइको सुविधा हुन नसक्नु लगायतका कारणले सुन्तलाको बोट सुक्ने समस्या पनि छ,’ हर्के पालले भने, ‘धेरै प्रयास गर्दासम्म सरकारबाट अहिलेसम्म कुनै किसिमको सहयोग पाउन सकेका छैनौं ।’


यहाँको सुन्तला किसानले अहिलेसम्म आफ्नै मिहिनेतमा सुन्तला खेती गर्दै आएका छन् । किसानले सुन्तला खेतीमा प्रगति गर्न थालेपछि त्यसलाई आधुनिक बनाउने उद्देश्यले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत निसिललाई सुन्तला पकेट क्षेत्र बनाइएको छ ।

प्रकाशित : पुस १५, २०७५ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?