२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

माछाले रोजगारी

‘जति माछा उत्पादन भयो, त्यति खपत आफ्नै रेस्टुरेन्टमा हुन्छ, माछाले गर्दा नै सिंगो परिवार रोजगार बनेको छ’

नुवाकोट — बुवा पूर्णबहादुर तामाङले समयमै रेन्बो ट्राउट माछापालन नगरेका भए नुवाकोट विदुर नगरपालिका ९ त्रिशूलीका १९ वर्षीय लाक्पा तामाङ अहिले विदेश पलायन भइसक्थे । कारण परिवार ठूलो छ ।

माछाले रोजगारी

एउटाको कमाइले परिवार धान्न मुस्किल छ । त्यसमा पनि जेठो छोरो । बुवापछि घरको जिम्मेवारी सम्हाल्ने दायित्व उनकै काँधमा आइपर्‍यो ।


दुई वर्षअघि यो सोच बनाएका लाक्पा अहिले आश्चर्य चकित छन् । जग्गा बिक्री गरेर माछामा लगानी गरे पनि बिक्रीमा सास्ती खेपेका बुवाले जब मत्स्य अनुसन्धान केन्द्र त्रिशूलीको आडैमा ट्राउट माछाको परिकार बनाउने रेस्टुरेन्ट खोले तब एकाएक उनको व्यस्तता बढ्न थाल्यो । लाक्पाले शुक्रबार र शनिबार फुर्सद पाउन छाडे । टाढाटाढाबाट माछाको स्वाद लिन आउने पारखी बढदै गए । आगामी माधमा रेस्टुरेन्ट सञ्चालनमा आएको एक वर्ष पुग्छ । माछाको माग पनि बढदो छ ।


उनीसँगै परिवारमा १० जना छन् । जेठी आमा र बुवा रेस्टुरेन्टबाट ३० किमिको दूरीमा अवस्थित म्यागङ गाउँपालिका ४ स्थित किम्ताङमा माछा पाल्छन् । लाक्पाको नेतृत्वमा २ दीदी र कान्छी आमा मिलेर रेस्टुरेन्ट चलाएका छन् । बुवाले माछा ल्याइदिन्छन् । लाक्पाले स्वाद लिन आउनेहरूको मागअनुसार परिकार बनाएर चखाउँछन् ।


भैरव मावि हात्तीगौंडामा व्यवस्थापन संकायमा कक्षा १२ मा अध्ययनरत उनी बिहान कलेज जान्छन् । दिउँसो परिकार बनाउन व्यस्त हुन्छन् । सँगै कलेज पढ्ने धादिङका साथी बिरु गुरुङलाई पनि उनले रोजगारी दिएका छन् । गाउँको फर्मबाट ल्याएको माछा जम्मा गर्न रेस्टुरेन्ट छेउमा रेसवे (पोखरी) बनाइएको छ ।


‘पकाउने विधिबारे तालिम केही लिएको छैन,’ लाक्पाले भने, ‘युटयुबमा हेरेर पकाउने विधि सिकें, त्यहीअनुसार पकाउँछु ।’ होटल व्यवसायमा रुचि भएकैले उनी पकाउन तम्सिन्छन् । तयार भएका परिकार दिदीहरू सुशीला र पासाङले टेबुलसम्म पुर्‍याउँछन् । पाँच दिदीबहिनीमध्ये एउटीको बिहे भइसकेको छ ।


जेठी छोरी बेतीमाया विदेश छिन् भने माइली कुमारी अनमी छिन् । साइँली सुशीला र काइँली पासाङ कल्याण मेमोरियल क्याम्पसमा बीबीएस दोस्रो वर्षमा अध्ययनरत छन् । भाइ रेन्बो कक्षा ३ मा र कान्छी बहिनी प्रमिला कक्षा ९ मा भैरव माविमा अध्ययनरत छन् ।


धेरै माग ग्रेभी माछाको हुन्छ । उनले माछाको ४ वटा परिकार पोलेको, फ्राई, ग्रेभी र स्टिम बनाउँछन् । ‘शुक्रबार, शनिबार मात्र होइन, नयाँ वर्ष, चाडबाडको बेला पनि माछाको स्वाद लिनका लागि आउनेको कमी हुँदैन,’ उनले भने, ‘परिवारसहित आउने बढी हुन्छन् ।’ नुवाकोट घुम्न आउनेहरू प्राय: ट्राउट माछाको परिकार पाउने रेस्टुरेन्ट नपसी यात्राको बिट मार्दैनन् । रेस्टुरेन्टले गर्दा घरका सबै रोजगार बनेका छन् ।


जागिर खोज्न कतै जानुपरेको छैन । पहिला माछा बिक्रीका लागि बजार खोज्दै हिँड्नुपथ्र्यो । जब रेस्टुरेन्ट खुल्यो तब माछाको माग बढयो । आफ्नो पोखरीको माछाले नपुगेपछि रसुवाबाट ल्याउने गरिएको छ । मासिक करिब २ सय केजी माछा बिक्री हुने गरेको लाक्पा सुनाउँछन् । करिब २ लाख ५० हजारको माछा बिक्री हुन्छ । काँचो माछा किलोको १ हजार ३ सय र पकाएको १ हजार ६ सय बिक्री हुन्छ । नुवाकोटको कोसेलीका रूपमा काँचो माछा लग्ने गरिन्छ ।


उता ककनी गाउँपालिका ४ स्थित दोभानका मदन लामाले ट्राउट पालेको १६ वर्ष भयो । बजार खोज्दै हिँड्नुपर्ने झन्झट उनलाई छैन । सिंगो परिवारलाई काम भ्याई नभ्याई छ । माछा पोखरी नजिकै रेस्टुरेन्ट छ । माछाको स्वाद लिन पुग्नेहरूका लागि आवासीय सुविधाको समेत व्यवस्था छ । रेस्टुरेन्टमा जे काम हुन्छ, त्यो सबै परिवार मिलेर गर्छन् । उनले रेस्टुरेन्टमा सुरुमा २० जनालाई रोजगारी दिएका थिए ।


२ वर्षयता बाटोको स्तरोन्नति थालिएपछि व्यापारमा केही कमी आएको छ । अहिले परिवारले मात्र चलाएका छन् । ‘परिवारका सबै मिलेर होटल र रेस्टुरेन्ट चलाएका छौं,’ उनले भने, ‘परिवारका २० जना रोजगार बनेका छन्, यो सबै ट्राउट माछाले गर्दा सम्भव भएको हो ।’


उनकामा काठमाडौंबाट नजिकै पर्ने भएकाले बिदाको दिन बिहान आएर ट्राउटको स्वाद लिई साँझ फर्कने जमात बाक्लो छ । ‘बाटोले गर्दा केही समस्या भए पनि आम्दानी नराम्रो छैन,’ उनले भने, ‘आफ्नो पोखरीको माछाले पुग्दैन, उल्टै गाउँबाट ल्याउनुपर्छ ।’ उनले व्यवसाय सोचेभन्दा राम्रो भएकाले विदेश जाने सोच नरहेको सुनाए । जसले रेस्टुरेन्ट खोलेका छन्, उनीहरूले बजारमा लगेर माछा बिक्री गर्दैनन् । रेस्टुरेन्टमै सबै माछा खपत हुन्छ ।


उता बेलकोटगढी नगरपालिका १३ स्थित बेतिनीका तिलकबहादुर लामाको पनि रेस्टुरेन्टको आडैमा पोखरी छ । जहाँ ट्राउट माछा छन् । माछा खान आउनेहरूका लागि पोखरीबाट निकाल्दै उनीहरूको मागअनुसार स्वाद चखाउँछन् । माछा पाल्न थालेपछि परिवार रोजगार बनेको छ । १८ वटा पोखरी छन् । थप ५ वटा पोखरीमा माछा हाल्ने तयारमा छन् । उनी र श्रीमती आइतीमाया रोजगार छन् ।


छोराछोरी यसैको आम्दानीले पढाएका छन् । ‘रेस्टुरेन्ट चलाएको १० वर्ष भयो,’ उनले भने, ‘आम्दानीका लागि यसको विकल्प खोज्नुपरेको छैन ।’ पकाको र काँचो बिक्री गर्दा मूल्य फरकफरक छ । पोखरा, चितवन, काठमाडौं, धादिङबाट ट्राउटको स्वाद लिनकै लागि आउने जमात बढी हुन्छन् ।


सबैभन्दा बढी ट्राउट माछा नुवाकोटमा पालिएको छ । माछा पाल्नेहरूले धमाधम रेस्टुरेन्ट खोलेर खपत गर्न थालेका छन् । त्यसो त काठमाडौंबाट २७ किमि दूरीमा रहेको ककनीमा माछापालनसँगै रेस्टुरेन्ट खुल्न सुरु भएको वर्षौं भइसकेको छ ।


माछा अहिले परिवारका लागि राम्रो रोजगार बनेको छ । प्राय: जहाँ माछा पालिएको छ त्यहाँ रेस्टुरेन्ट खुलेको छ । नुवाकोटमा मात्र ४० ट्राउट फर्म छन् । मत्स्य अनुसन्धान केन्द्र त्रिशूलीका वैज्ञानिक महेन्द्रप्रसाद भण्डारीका अनुसार पहिला किसानलाई माछा बिक्री गर्न समस्या थियो । ‘अहिले यो समस्या छैन,’ उनले भने, ‘जति माछा उत्पादन भयो, त्यति खपत आफैंले खोलेको रेस्टुरेन्टमा हुन्छ, माछाले गर्दा नै सिंगो परिवार रोजगार बनेको छ ।’

प्रकाशित : पुस १६, २०७५ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?