कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

टिमुरमा मिसावट, किसानलाई मर्का

विप्लव महर्जन

सल्यान — टिमुरमा समेत उद्योगी तथा व्यापारीले मिसावट गर्न थालेका छन् । मिसावट गर्दै सस्तोमा बेच्न थालेपछि टिमुरको व्यावसायिक खेती गर्ने किसान मर्कामा परेका छन् ।

टिमुरमा मिसावट, किसानलाई मर्का

उनीहरूले उत्पादन गरेको टिमुरले बजार पाउन छाडेको छ । बन्गाडकुपिन्डे नगरपालिका ९ स्थित जयतपानी, सेवा, स्वारा र ज्यामिरेमा व्यावसायिक रूपमा टिमुर खेती हुने गरेको छ ।


गत वर्ष १ लाख २० हजार रुपैयाँ प्रतिक्विन्टल बिक्री भएको टिमुरको भाउ यस वर्ष ७२ हजारभन्दा माथि नगएको किसानको गुनासो छ । भाउ नपाउँदा कतिपय किसान र संकलनकर्ताले बिक्री नगरी गोदाममै थन्काएका छन् । खाद्यबाली लगाउन छाडी टिमुर खेतीमा लागेका कुपिन्डेका किसान अहिले अन्योलमा परेका छन् ।


उद्योगी, व्यापारीले तेल निकालेको टिमुर मिसावट गरी बाहिर सस्तोमा बिक्री गर्दा आफूहरू मारमा परेको बन्गाडकुपिन्डे ९ सेराका किसान पूर्णबहादुर बुढाले बताए । ‘आफ्नो कृषिजन्य सामग्री बिक्री गराउन व्यापारी तथा उद्योगीले गरेको छलका कारण हामी मर्कामा पर्‍यौं,’ उनले भने, ‘टिमुरले भाउ नपाउँदा हामीहरूलाई लगानी नउठ्ने चिन्ता छ ।’ उनले अहिलेको भाउमा टिमुर बिक्री गर्दा करिब ५० प्रतिशत घाटा हुने बताए । उनले घर आसपासका जग्गामा सात सय बोट टिमुर लगाएका छन् । यस वर्ष साढे चार क्विन्टल टिमुर उत्पादन भएको उनले बताए ।


ताजा र ग्रेडिङ गरेको टिमुर काठमाडाैं, बुटवल, नारायणघाटलगायत सहरमा लैजाँदा पनि बेच्न नसकेको उनीहरूको गुनासो छ । व्यापारीले जस्तोसुकै टिमुर भए पनि प्रतिकिलो ५ सय ४० भन्दा माथि रकम दिन नमानेको किसानहरू बताउँछन् ।


उनीहरू भन्छन्, ‘मसला बनाएर बिक्री गर्ने व्यापारीले तेल निकालिसकेको टिमुर बिक्री गर्न खोज्दा ताजा टिमुरले भाउ नपाएको हो ।’ ग्रेडिङ गरेको ३० क्विन्टलभन्दा बढी टिमुर फ्रान्स पठाउन नसकेपछि अहिले उत्पादित टिमुर त्यत्तिकै थन्किएको किसानहरूको भनाइ छ ।


खाद्यबाली लगाउन छाडी सबै जग्गामा पाँच सय बोट टिमुर लगाएका कुपिन्डेकै मैदु बुढाथोकीले तीन क्विन्टल टिमुर घरमै थन्किएको बताए । व्यापारीले गरेको मिसावटका कारण केही वर्षपछि टिमुर बिक्री नहुने समस्या आएको उनको गुनासो छ ।


टिमुरबाट गत वर्ष मात्रै तीन लाख रुपैयाँ आम्दानी गरेका उनले यो वर्ष मुस्किलले दुई लाख रुपैयाँ कमाइ भएको जनाए । तेल निकालेको र ननिकालेको एउटैमा मिसावट गरी बिक्री गर्नु कसैको हितमा नभएको अर्का किसान रामबहादुर बुढाथोकीको भनाइ छ । टिमुर खेतीबाटै जीविकोपार्जन गरिरहेका किसान यसबाट मर्कामा परेको उनले बताए । उनले चार सय टिमुरका बोट लगाएका छन् ।


बाहिरका व्यापारीसँग सम्पर्क गर्दा ६ सय रुपैयाँ प्रतिकिलो टिमुर किन्न नमानेपछि आफूले खरिद गरेको टिमुर गोदाममा थन्क्याएको खरिदकर्ता दीपेन्द्र बस्नेतले बताए । ७ सय २० रुपैयाँ प्रतिकिलो खरिद गरेका उनले बिक्री नभएपछि किसानलाई अझै रकम उपलब्ध गराउन नसकेको गुनासो गरे । ‘मूल्य नपाएकै कारण टिमुर गोदाममा थन्किएको छ,’ उनले भने, ‘मैले पनि घाटा खाएर बेच्न सकिरहेको छैन ।’


हर्बल उद्योग सञ्चालन गरेर टिमुरको तेल बाहिर निकासी गर्दै आएका शारदा नगरपालिका १ श्रीनगरका व्यापारी हरि न्यौपानेले ७२ हजार रुपैयाँ प्रतिक्विन्टल बिक्री हुनु ठीकै भाउ भएको बताए ।


टिमुर खरिद गरेर त्यसबाट तेल निकाल्ने र तेल निकालेको टिमुरको छोक्रा (मार्का) लाई प्रशोधन गरी आधा मूल्यमा बिक्री गर्दै आइरहेको उनको भनाइ छ । उनको उद्योगमा निकालिएको तेल भारतलगायत अन्य देशमा जाने गरेको छ ।

प्रकाशित : पुस १६, २०७५ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?