कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

यार्चा बेचेको ६ महिनामा पनि पाएनन् रकम

बझाङ — ‘गाउँका पसलहरूमा सामान छैन भन्छन् । बाहिरबाट किनेर ल्याऊँ भने हातमा नगद छैन । भोकमरी हुने अवस्था भइसक्यो । छ महिना भइसक्यो किराको पैसा दिएका छैनन् ।’ 

यार्चा बेचेको ६ महिनामा पनि पाएनन् रकम

यो भनाइ साइपाल गाउँपालिकाका संकलक सिद्धु बोहोराको हो । यार्चागुम्बु उधारोमा बेचेको छ महिना भइसक्दा पनि रकम नपाउँदा उनी जस्तै धेरै स्थानीयबासी समस्यामा परेका छन् । रकम नपाउँदा यार्चाकै आम्दानीबाट गुजरा चलाउँदै आएका उनीहरूको दैनिक जीवनयापनमा समस्या देखिन थालेको छ ।


गाउँमा नगद अभाव भएको छ । खाद्यान्नलगायत दैनिक उपभोग्य सामग्रीहरूको जोहो गर्न समेत समस्या हुन थालेको संकलकहरूले बताएका छन् । ‘गाउँका पसलहरूमा सामान छैन भन्छन् । बाहिरबाट किनेर ल्याऊँ भने हातमा नगद छैन,’ साइपाल गाउँपालिकाका संकलक सिद्धु बोहोराले भने, ‘यहाँ भोकमरी हुने अवस्था भइसक्यो । किराको पैसा दिएका छैनन् ।’


बझाङ जिल्लाको हिमाली भेगमा पर्ने दुर्गम सुर्मा र साइपाल गाउँपालिकाका बासिन्दाहरू पूर्ण रूपमा यार्चागुम्बुको कमाइमा निर्भर छन् । वर्षमा एक बाली मात्र खेती हुने यहाँका बासिन्दाहरू यार्चाको रकम समयमा नआएका कारण स्वास्थ्य उपचारदेखि विवाह व्रतबन्धजस्ता काम गर्न समेत समस्या भइरहेको बताउँछन् ।


यस्तै मष्टा, तल्कोट, दुर्गाथली र छबिस पाथिभेरा गाउँपालिका तथा बुंगल जयपृथ्वी नगरपालिकाको माथिल्लो भेग (साविकका २३ गाविस) मा बस्ने संकलकहरू पनि यार्चाको रकम नपाएका कारण समस्या भएको बताउँछन् ।


सुर्मा गाउँपालिकाका भीम बोहोराले भने, ‘रकम नपाएका कारण यहाँका मान्छेले चामलसमेत किन्न पाएका छैनन् । बाहिर जिल्ला रिफर गरेका बिरामीलाई उपचार गराउन समस्या भएको छ । कसैकसैका विवाहसमेत रोकिने अवस्था छ ।’ गाउँमा नगदको निकै संकट परेको बताउँदै उनले सापटीसमेत पाउन छोडेको बताए ।


यार्चाको रकम समयमा नआएका कारण जिल्लाको हिमाली क्षेत्रको व्यापार व्यवसाय पनि चौपट हुन थालेको छ । लामो समयसम्म रकम तिर्न नसक्दा थोक बिक्रेताहरूले उधारोमा सामान दिन छोडेको ग्रामीण क्षेत्रका व्यापारीहरूले बताएका छन् ।


‘थोक पसलबाट उधारो ल्यायो, गाउँमा पनि उधारोमै बिक्री गर्‍यो । नगद आउने छाँटकाँट नै छैन,’ साइपाल गाउँपालिकाको धलौनमा दैनिक उपभोग्य सामग्रीको पसल सञ्चालन गरिरहेका जंग धामीले भने, ‘तिर्नुपर्ने र उठाउनुपर्ने उधारो लाखौं भइसक्यो । अब त थोकवालाले सामान नै दिन छोडे । पसल बन्द गरेर आएको छु ।’


जंग धामी मात्र हैन, यहाँका सबै व्यापारीको हालत उस्तै छ । यार्चा संकलन गर्न जाने बेला (गत वर्ष चैत) देखि नै निरन्तर उधारोमा सामान बिक्री गरिरहेको बताउने अर्का व्यापारी गोरख बोहोराले भने, ‘यतिका समय उधारोमै कारोबार कसरी धान्नु ?’ उनले यार्चाको रकम समयमा नआएका कारण यहाँका बासिन्दाले ठूलो आर्थिक संकटको सामना गरिरहेको बताए ।


गत साउनको पहिलो सातातिर यहाँका व्यापारीहरूले प्रतिकिलो १७ लाख २० हजारका दरले संकलकहरूबाट उधारोमा यार्चा किनेका थिए । जिल्ला भरका करिब २० हजार संकलकहरूबाट यहाँका स्थानीय व्यापारीले तीन सय किलोभन्दा बढी यार्चा उधारोमा लिएको भए पनि हालसम्म संकलकको पैसा दिन सकेका छैनन् । जिल्लाभरका सबै संकलकबाट ५२ करोडभन्दा बढी मूल्यको यार्चा उधारोमा किनिएको व्यापारी शेरबहादुर बोहोराले बताए ।


बझाङका स्थानीय व्यापारीहरूले संकलकहरूबाट किनेको यार्चा काठमाडौं लगेर चिनियाँहरूलाई बिक्री गर्ने गर्छन् । जिल्लामा आफूहरूले तिरेको मूल्यमा चिनियाँ व्यापारीहरूले किन्न नमानेपछि हालसम्म पनि यार्चा बिक्री नभएको र संकलकहरूको रकम तिर्न नसकिएको व्यापारीहरूको भनाइ छ ।


‘हामीले जिल्लामै १७ लाख २० हजार तिर्ने सर्तमा किरा उठायौं,’ बझाङ उद्योग वाणिज्य संघका अध्यक्षसमेत रहेका यार्चा व्यापारी दानबहादुर सुर्मेलीले भने, ‘यहाँ आएर १४ लाखभन्दा बढी पाइएको छैन । घाटा खाएर बेच्ने कुरा भएन ।’


उनले यार्चा बिक्री नभएका कारण संकलकहरूलाई जीवनयापनमा समस्या भएको आफूहरूलाई थाहा भए पनि केही गर्न नसकिएको बताए । ‘सबै रकम नदिए पनि चामल त पठाइदिनुस् भनेर संकलकहरू सताइरहेका छन्,’ उनले भने, ‘हामीसँग पनि रकम छैन । चामलसम्म पनि दिने सक्ने अवस्था छैन ।’


माघ–फागुनसम्म भनेको मूल्य पाइन्छ कि भनेर पर्खिने बताउने उनले त्यतिन्जेजसम्म पनि मूल्य नपाए घाटा खाएरै भए पनि यार्चा बिक्री गर्ने र संकलकको रकम तिर्ने सोचमा व्यापारीहरू रहेको बताए ।

प्रकाशित : पुस १६, २०७५ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?