कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

त्रिशूली थ्री एको विद्युत् असारमा

बलराम घिमिरे

रसुवा — माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनाले असारसम्ममा विद्युत् उत्पादन गर्ने गरी निर्माणमा तीव्रता दिएको छ । 

त्रिशूली थ्री एको विद्युत् असारमा

रसुवामा बाँध र नुवाकोटमा विद्युत्गृह रहेको आयोजनाको क्षमता ६० मेगावाट छ । नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको यो आयोजना रन अफ रिभर प्रणालीमा आधारित छ । अहिले विद्युत्गृह, बाँधस्थल, बालुवा थिग्राउने र पानी बग्ने क्यानल निर्माणको काम धमाधम भइरहेको छ ।


आयोजनाले अहिलेसम्म करिब ९० प्रतिशत काम सम्पन्न गरिसकेको जनाएको छ । आयोजनाका अनुसार सिभिलतर्फ ९५ प्रतिशत, इलेक्ट्रो मेकानिकलतर्फ ३५ र हाइड्रो मेकानिकलतर्फ ६५ प्रतिशत काम सम्पन्न भइसकेको छ ।


आगामी असारसम्ममा विद्युत् उत्पादन गर्ने गरी काम भइरहेको आयोजनाका प्रमुख फणिन्द्रराज जोशीले बताए । ‘सबैको साथ र सहयोग भए चालु आर्थिक वर्षको अन्तिममा विद्युत् उत्पादन गर्न सकिन्छ,’ उनले भने, ‘मुख्य सुरुङ मार्गमा कंक्रिट लाइनिङ गर्ने काम पनि धमाधम भइरहेको छ ।’ ४ हजार १ सय मिटर लामो मुख्य सुरुङ मार्गमा कंक्रिट लाइनिङ गर्ने काम अन्तिम चरणमा पुगेको छ ।


आयोजनाको मुख्य सुरुङ मार्ग ०७४ भदौमै ब्रेकथ्रु भएको हो । आयोजनाको निर्माण कम्पनी चाइना गेजुवा ग्रुप अफ कम्पनी (सीजीजीसी) ले काम गरिरहेको छ । सन् २०११ मा आयोजना निर्माण सुरु भएको हो । २०७२ वैशाख १२ को भूकम्पका कारण आयोजनामा क्षति पुगेको थियो । करिब २२ महिना आयोजना बन्द भएको थियो ।


भारतले गरेको नाकाबन्दी र बिनाशकारी भूकम्पका कारण आयोजनाको निर्माण तालिका प्रभावित भए पनि आयोजनाको लागत भने नबढ्ने जोशीले बताए । (ईपीसी) मोडेलमा आयोजनाको निर्माणकार्य भइरहेको छ । चिनियाँ एक्जिम बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेको उक्त आयोजनाको कुल लागत १२५ मिलियन अमेरिकी डलर (१३ अर्ब ९९ करोड १२ लाख ५० हजार रुपैयाँ) रहेको छ ।


निर्माणतालिका प्रभावित भएपछि नेपाल विद्युत् प्राधिकरणले आयोजनाको म्याद ०७६ को वैशाख १७ सम्मका लागि थपेको छ । असार अन्तिमसम्ममा दुईवटा टर्बाइनबाट ३०–३० गरी ६० मेगावाट विद्युत् उत्पादन हुने आयोजानले जनाएको छ । उत्पादित विद्युत् थ्री बी हबदेखि मातातीर्थ सबस्टेसनसम्म करिब ४४ किलोमिटर लामो २२० केभी प्रसारण लाइनमार्फत लगिनेछ ।


प्रसारण लाइनका लागि १ सय ४० वटा टावर निर्माण गर्नुपर्नेमा अहिलेसम्म १ सय ३९ वटा निर्माण भइसके पनि मुअब्जाका कारण थ्री बी नजिकै रहेको टावर अहिलेसम्म निर्माण हुन सकेको छैन । विद्युत् उत्पादन समयमै भए पनि प्रसारण लाइन समयमै निर्माण हुन सकेन भने उत्पादन भएको विद्युत् खेर जाने सम्भावना छ ।

प्रकाशित : पुस १६, २०७५ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?